कात्तिक २४, २०८०
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
आफू मरेपछि शरीरका अङ्गहरू दान गर्नका लागि मानिसहरूले जीवित रहँदै इच्छापत्र लेखेका हुन्छन् । मेरा एकजना मित्रको बाबाले आफू मरेपश्चात् अरू कसैले प्रयोग गर्न सकून् भनेर आँखा दान गरेका थिए । उनको इच्छाअनुरूप त्यस आँखाले अहिले संसार नियालिरहेको छ, भलै ती बाबा यो संसार छाडेर धेरै टाढा गइसकेका छन् ।
अङ्गदान कहिलेदेखि प्रारम्भ भयो नेपालमा, त्यो पत्ता लगाउन पंक्तिकारले सकेन । तर मानव स्वास्थ्यविज्ञानमा अङ्गदान ठूलो चमत्कार गरेर हाजिर भयो । जस्तो कि पछिल्लो समयमा आँखा, मृगौला, कलेजो जस्ता शरीरका महत्त्वपूर्ण अङ्गहरू एक शरीरबाट अर्को शरीरमा प्रत्यारोपण हुँदै आएका छन् । यसले मृत्युको मुखैनजिक पुगेका मानिसहरूको आयुलाई केही लम्ब्याएको छ ।
छोरालाई मिर्गौला दान गरेर छोराको जीवन बचाउने धेरै आमाहरू यस लोकमा छन् । नातिनीलाई कलेजो दिएर नातिनीको जीवन बचाउने बाजेहरू कैयौं छन् यस जगतमा । श्रीमतीलाई आँखा दान गरेर मायाको भाष्यलाई थप मजबूत पार्ने श्रीमानहरू पनि यही धर्तीको टुक्रामा छन् । अहिले त यस्तो पनि भइरहेको छ कि ट्रान्सजेन्डरको नाममा छोरीहरू छोरा भएका छन्, छोराहरू चाहिँ छोरी भएका छन् । यी सबै अंगप्रत्यारोपण विज्ञानका देन हुन् ।
मैले कुनै नयाँ कुरा गरेको भने हैन । स्तम्भ तयार पार्नका लागी विषय नपाएर आजको यो शृङ्खलालाई अङ्गदान तथा प्रत्यारोपण केन्द्रित बनाउन पनि खोजेको हैन । मलाई हृदयदेखि नै छोएको हुनाले कलमहरू दौडाउन खोजेको हुँ । मलाई के लाग्छ भने जीवित मानिसले सबैभन्दा धेरै माया कसैलाई गर्छ भने त्यो आफ्नै शरीरलाई गर्छ । त्यसका निम्ति ऊ हेल्थ कन्सस हुन्छ । अर्गानिक खान्छु भन्छ । बिहान उठेर २ घन्टा हिँड्छु भन्छ ।
तर आजको स्टोरीमा एकजना यस्ता पात्र भेटिएका छन् जो जीवित त छन् तर आफ्नो भन्दा अरूको शरीरको मायामा जीवित छन् । तर अचम्म मान्नुपर्ने केही छैन । यो त्यस्तो कुनै अचम्मको कुरा हैन, जो गिनिज बूकमा दर्ज हुन लायक होस् । प्रसङ्ग सामान्य हो, प्रसङ्ग असामान्य पनि हो । अरूलाई नयाँ जीवन दिनका निम्ति आफ्नो जीवन हत्केलामा राख्नेको उच्च सम्मानका रूपमा ती पात्रको चर्चा हुन आवश्यक छ ।
संसार स्वार्थी छ भनिन्छ । एउटै कोखबाट जन्मिएका दाजुभाइहरू मिल्न नसकेर कुटाकुट गर्छन् । जग्गाको बारेमा मलखातमा बात मार्दै गर्दा बन्चरोले हानाहान गरेको सुन्न पाइन्छ । आफ्नै आमालाई चिर्पटले हानेर मारेको पनि सुन्न पाइन्छ । अहो ! केके मात्र सुन्न पाइन्न र यो स्वार्थी संसारमा ? आफ्नै सन्तानको घाँटी थिचेर हत्या गरेकोसम्म सुन्न पाइन्छ । यसकारण संसार स्वार्थी नै छ ।
तर एउटा उदारहणीय सुनाइ छ । मार्मिक सुनाइ । दयामायाको संसारमा सबैले पाठ सिक्नुपर्ने सुनाइ । म्याग्दी जिल्लाका एकजना मनुष्य चन्द्रकुमार केसीले नौ महिनाकी बालिकालाई बचाउनका लागि आफ्नो कलेजोको केही भाग काटेर दान गरेका छन् । सोच्नुभएको होला, आफ्नै नातापातालाई दान गर्यो होला, के ठूलो काम गर्यो त ? तर त्यस्तो हैन । मृत्युको मुखमा परेकी अपरिचित परिवारकी बालिकालाई बचाउन उनले आफ्नो कलेजो दिए ।
मलाई सानो छँदा आमाले सोध्नुहुन्थ्यो, मेरो माया केमा लाग्छ, बाबु ? म भन्थें, मुटुमा लाग्छ, कलेजोमा लाग्छ । कलेजोका त थुप्रै गीत पनि बनेका छन् । जस्तो कि कलेजी चिरा पारेर देखाउछु मेरो मायालाई, कलेजीमा दाग लाग्यो, पिरतीमा चोट पर्यो । यस्तै यस्तै । त्यही कलेजो खराबीका कारण जीवनमरणको दोसाँधमा रहेकी सम्भवतः ढिलो भएको भए डाक्टरको भाषामा जे पनि हुन सक्ने अवस्थामा पुगेकी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानकी नौमहिने बालिका सियाना रन्तीजाको जीवन बचाउन तिनै चन्द्रकुमार केसीले आफ्नो कलेजो दान गरे ।
सियाना रन्तीजालाई कलेजो दान गर्नेहरू धेरै निस्किएनन् । निस्किए पनि मिल्नपर्यो । अर्थात्, मेडिकल्ली म्याच हुन पर्यो । सियानाको अवस्था सुन्नासाथ केसीले कलेजो दिन तयार भए । भारतको सर गंगालाल अस्पतालमा कलेजो दिन गए । सियानासँग उनको कलेजो त मिल्यो तर कलेजोमा बोसोको मात्रा अलिक बढी भयो । डाक्टरको सल्लाहअनुसार उनी शरीरको वजन घटाउन नेपाल आए । कम्तीमा दश किलो वजन घटाएपछि मात्रै उनको अप्रेसन गरेर कलेजोका केही भागहरू झिकेर सियानाको कलेजोमा प्रत्यारोपण गर्न सकिन्थ्यो ।
चन्द्रकुमार केसी आफ्नो वजन घटाउनका लागि नेपाल फर्के । सो समयमा मैले टेलिफोन गरेर उनीसँग केहीबेर कुरा गरेको थिएँ । उनले भनेका थिए, ‘अप्रेसन सफल भयो भने म ४ बजे होशमा आउँछु होला, होशमा आइनँ भने पनि ठीकै छ, सियाना बाँचे पुग्छ ।’ उनीसँग टेलिफोनमा बोल्नुभन्दा केही दिनअघि उनी कलेजो दान गर्नका निम्ति खुशी भएर तयार भएको हल्ला सुनेको थिएँ । मलाई यस्तो किसिमको मानवता जो कसैले गरेको सुनेपनि निकै गर्व लाग्छ । छाती चौडा हुन्छ ।
अप्रेसन गर्दा पक्कै पनि बेहोश बनाइन्छ । खुट्टामा काँडा बिझ्दा कति दुख्छ । समान्य भ्याक्सिन लगाउँदा पनि दुख्छ । तर कुनै रोग नलागेको, कुनै स्वास्थ्य समस्या नभएको चन्द्रकुमार केसी आफ्नो पेट चिर्न तयार थिए । तर उनको मुहारमा कुनै डर वा पछुतोको भाव थिएन । बरू आफू मर्न परोस्, तर नौमहिने बालिका सियाना बाँचून् । उनको अपेक्षा यही थियो । तर यस अपेक्षामा जीवनको सुन्दरता, जीवनको महानता लुकेको थियो ।
चन्द्रकुमार केसी म्याग्दी जिल्लाका जुझारु मानिस हुन् । समाजसेवी पनि हुन् । अर्थात सर्वसाधारणभन्दा फरक पहिचान उनले बटुलेका छन् । मलाई लाग्छ, म्याग्देलीहरूले उनीसँग गर्व गर्नसक्ने धेरै विषय छन् । ओमकुमारी शान्ति कोष म्याग्दीको मानवसेवामा समर्पित एकदमै सफल कोष हो । यो कोषलाई स्थापनादेखि अहिलेसम्मको स्थितिमा ल्याउन उनले महत्त्वपूर्ण भूमिका खेलेका छन् । जिल्लाको अस्पताल सुधारका लागि अस्पतालको अध्यक्ष भएर पनि लामो समय काम गरे । र स्वास्थ्यको क्षेत्रमा ठूलो परिवर्तनका छनकहरू देखाए । तिनै मनुष्य चन्द्रकुमार केसीको यतिबेला म्याग्दीमा हाईहाई छ ।
सियानालाई बचाउनका निम्ति उनको कलेजोबाट करीब ३० प्रतिशत अंश निकालियो । र सियानाको कलेजोमा सफल प्रत्यारोपण गरियो । दुवैजना आईसीयूमा बसे । नेपाल तथा भारत सरकारको कानूनी प्रक्रिया पूरा गरी केसीको कलेजो प्रत्यारोपण गरियो । त्यसका निम्ति थुप्रै कानूनी जटिलताहरू थिए । ती पनि उनको अग्रसरतामा समाधान भए । सियान मात्र हैन, पैसाको अभावमा रहेका कैयौं बिरामीहरूलाई अभियान चलाएर कोषमार्फत सहयोग गर्दै आइरहेका छन् उनले । र उनलाई उनको साथीभाइको साथ छ ।
कलेजो दान गरेर उनको मानवता त झल्कियो तर नझल्किएका पक्ष धेरै थिए । त्यो कुरा आजको स्टोरीमा हल्का समेट्दा प्रभावकारी होला । आर्थिक वा सामाजिक विभिन्न कारणले शिक्षाबाट वञ्चित भएका महिलाहरूलाई उज्यालो ज्योति दिनका निम्ति उनकै पहलमा म्याग्दीको बेनीमा उज्यालो वैकल्पिक स्कूल सञ्चालनमा आयो । यति मात्र हैन, उनी बेनीको माउन्ट एभरेस्ट आवासीय माविका अध्यक्ष समेत हुन् । यसका अलावा उनी लायन्स क्लब अफ नेपालमा समेत आबद्ध रहेर विभिन्न सामाजिक कार्यहरूमा क्रियाशील छन् ।
यति लेख्दै गर्दा उनको प्रोफाइल तयार गरे जस्तो भान हुनसक्छ । एकथान चाकडीको झल्को पनि महसूस हुनसक्छ । मलाई केही पाउनु पनि छैन, गुमाउनु पनि छैन । तर सियानालाई उनले जसरी कलेजो दान गरे र सियानाको जीवन बचाउनका लागि उनले आफ्नै जीवनलाई जोखिममा राखे त्यस्को जति प्रशंसा गर्दा पनि कम हुन्छ । उच्च सम्मानको पनि सम्मान हुन्छ । चिन्ता त यो हो कि मेरा शब्दहरूले उनको सम्मानमा कुनै कमजोरी नगरोस् ।
अब उनले जीवनभरि औषधि खानुपर्नेछ । कलेजो काटेर दियो, सकियो यस्तो हैन । उनले जीवनभरि कलेजोको आसपासमा दुखाइ सहनुपर्नेछ । र अस्वाभाविक लाग्ने पेटका घाउ र खाटाहरूलाई पुर्नका लागि केही हदसम्म संघर्ष गर्नुपर्नेछ । यसको मतलब उनलाई अब पीडा हुनेछ भन्न खोजेको हैन तर उनले पीडा पक्कै सहनुपर्नेछ । र यस्तो किसिमको पीडा सहजै सहन सकिन्न । यस्तो किसिमको पीडा सहन सगरमाथाभन्दा अग्लो छाती चाहिन्छ । नाइल नदीभन्दा लामो विचार चाहिन्छ ।
सियानाको जीवनरक्षाको लागि प्रवासमा रहेका म्याग्देलीहरूको पहलमा रु. ३० लाख आर्थिक संकलन गरेका थिए । तर कतिपय स्वास्थ्य समस्या यस्ता पनि हुन्छन् जो पैसाले मात्र समाधान गर्न सकिन्न । अझ यसो भनौं, पैसाले जीवन खरिद गर्न सकिन्न । हो, थप बर्बाद हुनबाट रोक्न भने सकिएला ।
कलेजो प्रत्यारोपणअघि सियानाको उपचारमा रु. १२ लाख खर्च भइसकेको थियो । भारतमा कति खर्च भयो त्यसको जानकारी भएन तर पक्कै पनि सस्तोमा प्रत्यारोपणको काम भएन । तर चन्द्रकुमार केसीको पहलमा उनी लगायतको परोपकारी संस्थाले समाधान निकाल्यो ।
कतिपय रोगको उपचार पैसाले मात्र सम्भव हुन्न । पैसाले स्वास्थ्यलाई थप बर्बाद हुनबाट जोगाउन भने सक्छ । र हेल्दी लाइफका लागि सहयोग गर्न सक्छ । चर्चित न्यूरो चिकित्सक उपेन्द्र देवकोटा पैसाको अभावमा ज्यान गुमाएका हैनन्, उपचार नपाएका कारण ज्यान गुमाएका हैनन् । यसकारण सियानालाई पैसा भन्दा पनि कलेजो कसले दान गर्छ, त्यो महत्त्वपूर्ण थियो । र त्यसभन्दा महत्त्वपूर्ण थियो, उपचारका लागि पैसा संकलन गरिरहेका चन्द्रकुमारले अन्ततः कलेजो पनि दान गरे ।
जन्म भएको चार महिनामै जटिल खालको स्वास्थ्य समस्या देखिएपछि सियानालाई मणिपाल, टिचिङ हुँदै दिल्लीसम्म पुर्याएर रोगको पहिचान गरिएको थियो । सियानाको आमा–बुवाको कलेजो नमिलेका कारण उपचार अनिश्चित बनेकै बेला उनले कानूनी प्रक्रिया पूरा गरी आफ्नो कलेजो दान गरे । उनले कलेजो दान गरेपछि नौमहिने बालिका सियानाले नयाँ जीवन पाएकी छन् । सियानाले अब सुन्दर संसार नियाल्ने अवसर पाएकी छन् । कहिलेकाहीँ जीवनका अवसरहरू भगवानको रूप भन्दा पनि ठूला हुन्छन् ।
जसरी चन्द्रकुमार केसीले सियानाको उपचारका लागि र म्याग्देलीको स्वास्थ्य क्षेत्रको विकासका निम्ति अहं योगदान दिँदै आएका छन्, त्यो सबैले अनुसरण गर्न सकिने किसिमको छ । उनका बारेमा चर्को स्वरमा दुनियाँलाई सुनाउनुपर्ने, लेख्नुपर्ने धेरै किस्साहरू छन्, जुन चल्तीका आत्मकथाहरू भन्दा थप प्रेरक हुन सक्छन् । जसरी सियानालाई बचाउन उनले आफ्नै कलेजो काटेर दान गरे र एकजना नयाँ पालुवाको जीवनलाई फक्रिने अवसर दिए यसका निम्ति उनको जति प्रशंसा गरे पनि कमै हुन्छ ।
मलाई निकै मन पर्ने गायक रबिन शर्माको एउटा कर्णप्रिय गीत छ । चलचित्र वासुदेवका लागि उनले यो गीत गाएका थिए । गीतकार महाकवि लक्ष्मी प्रसाद देवकोटा हुन् । कुन मन्दिरमा जान्छौ यात्री... । यस गीतमा भगवानलाई पूजापाठ गर्नका लागि के सामग्री लगेर जान्छौ जस्ता मार्मिक शब्दहरू छन् । यतिबेला सियानाको मुटुभित्र कुनै भगवानको चाल धड्किरहेको छ । खैर, चन्द्रकुमार केसी यतिबेला बेडरेस्टमा छन् । सियाना पनि आफ्नो सुन्दर नयाँ जीवनको आभामा मुस्कुराइरहेकी छन् । उनीहरू दुवैको स्वास्थ्यलाभको कामना गर्न चाहन्छु ।
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...