सुरक्षित यात्राका लागि ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा

माघ २७, २०७५

काठमाडौं – सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याइएको छ । 

प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधन चलाउने चालक परिवर्तन भए नभएको जानकारी दिने उद्देश्यले आइतवारदेखि एप्स सञ्चालनमा ल्याइएको हो ।


ADVERTISEMENT

कार्यक्रममा निर्देशनालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले यातायात व्यवस्था ऐन २०४९ मा उल्लेख भएअनुसार लामो दूरीका सवारी साधनमा २ वटा चालक राख्नुपर्ने कानूनी व्यवस्थालाई सुनिश्चित गर्न उक्त एप्स सञ्चालनमा ल्याएको जानकारी दिए ।

लामो दूरीका सवारी चालक, बस नम्बर तथा प्रस्थान समय इन्टरनेटको सर्भरमा राखेपछि विभिन्न प्वाइन्टहरुमा जाँचका क्रममा उही चालक भेटिएमा कारवाही गरिने व्यवस्था गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तले एप्स सञ्चालनसँगै यात्रुवाहक सवारीसाधनमा २ वटा चालक राखिने हुँदा दुर्घटनामा कमी आउने बताए ।

एप्स ओराकल कम्पनीको जाभा प्रोगामिङ ल्याङ्गवेजको एन्ड्रोइड भर्सनमा विकास गरिएको हो । उक्त एप्स पहिलो चरणमा काठमाडौंको नागढुंगामा, प्रदेश–२ को सर्लाहीको कर्मैया र प्रदेश–५ को बाँकेको कोहलपुरमा एप्स सञ्चालनमा ल्याइएको छ । आगामी दिनमा लामो दूरीका सबै क्षेत्रमा एप्स सञ्चालन गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

माघ २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस