‘मृत्यु मार्ग’ सिद्धबाबामा अब सुरुङ मार्ग ! सम्भाव्यता अध्ययन शुरू

माघ २८, २०७५

बुटवल – मृत्यु मार्गको रूपमा चिनिने बुटवल–पाल्पा सडक खण्डको शिद्धबाबा क्षेत्रमा सुरूङ मार्ग बनाउनका लागि भौगर्विक सर्भे शुरू भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरूङ मार्ग बनाउन पूर्व ‘जियोलोजिकल’ सर्भे थालेको हो । चट्टानको परीक्षण गर्न प्लानेट नेपालले गरिरहेको छ । 


ADVERTISEMENT

सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने तल्लो शिद्धबाबादेखि दोभानसम्म झण्डै ३ किलोमिटर सडक अति जोमिखपूर्ण छ । शिद्धबाबा क्षेत्रमा सरकारले सुरूङ मार्ग बनाउने बताउँदै आएको थियो । सोही कामको पहिलो चरण त्यहाँको चट्टान र भौगोलिक अवस्थाको काम थालिएको हो । सडकमा हिउँद वा वर्ष जुनसुकै समय चट्टान खसेर प्रत्येक वर्ष यात्रुको मृत्यु हुने गरेको छ । 

प्लानेट टेस्ट प्रालिका जियोटेक्निकल इन्जिनियर दिवाकर ढकाल ६ ठाउँमा ड्रील गरेर चट्टान निकालिएको त्यसको अवस्था परीक्षण गरिएको बताए । ‘शुक्रवारदेखि अध्ययन शुरू गरिएको हो । चट्टानमा प्याल पारेर १ सय १५ मिटर भित्रसम्मको अवस्थाको परीक्षण गरिरहेका छौं । भाइब्रेसन दिएर चट्टानको क्षमता परीक्षण गर्ने काम पनि गरिरहेका छौं,’ ढकालले भने । 

अध्ययनका लागि १५ जना टोलीले काम गरिरहेको छ । त्यहाँको नमूना स्वीजरल्याण्ड लागिने र त्यहाँ अध्ययन भएपछि मात्र सुरूङ मार्गका लागि त्यहाँको भौगोलिक अवस्था उपयुक्त छ वा छैन जानकारी हुनेछ । हालसम्मको करीब ८५ प्रतिशत अध्ययनबाट उक्त क्षेत्रको जमिनमा डेढ मिटर गहिराइसम्म माटो तथा त्यसभन्दा तल स्याण्ड स्ट्रोन र मड स्ट्रोनको मिश्रण भेटिएको इन्जिनियर ढकालले बताए ।

अहिले भइरहेको काम पनि स्विस सरकार विकास सहयोगमार्फत् सुरुङ मार्ग निर्माणको काम भएको हो । सडकको व्यवस्थापनको लागि प्रदेश सरकारले पनि यस वर्ष १० करोड रूपैयाँ विनियोजन गरेको छ । संघीय सरकारले सिद्धबाबाको सडक व्यवस्थित गर्नका लागि ५० लाख बजेट विनियोजन गरेको छ । चट्टान परीक्षणपछि गुरूयोजना निर्माणको काम हुनेछ ।

प्रारम्भिक नतिजामा चट्टान कडा खालको भेटिएकाले सुरुङ मार्ग सम्भव हुने बताइएको छ । यसअघि भएको प्रारम्भिक अध्ययनमा सुरुङसहित रकनेट, रकसेट, हाफ टनेलसहित ६ वटा बिकल्प दिइएको थियो । संघीय सरकारले सुरुङ मार्गलाई पहिलो प्राथमिकतामा राखेर गुरूयोजना थालेको हो । स्वीस सरकारले गुरुयोजना निर्माणमा सहयोग गरेको छ ।

प्लानेटका प्रबन्ध निर्देशक दिवाकर खड्काले सुरुङ मार्ग पाल्पाको सिद्धबाबा मन्दिरको उत्तरतर्फको चिडिया खोलाको छेउबाट शुरू हुनेछ । चिडिया खोलाको सुरुङ प्रवेशद्वारमा करीब २० मिटर सिधा प्वाल पारेर चट्टान निकालिएको छ । दोभान नजिकै रामापिथेकपार्कको उत्तरतर्फ ९० मिटरको ६० डिग्री कोणमा प्वाल पारिएको छ । चट्टानको चुचुरो र सडकबीच भागमा समेत प्वाल पारेर चट्टान निकालिएको छ ।

पाल्पाको सिद्धबाबा सडक खण्डमा पछिल्लो ५ वर्षमा भएको दुर्घटनामा करीब ६० जनाको मृत्यु भएको छ । जुनसुकै समयमा पनि चट्टान खस्ने समस्याले सिद्धबाबा सडक असुरक्षित छ । पाल्पाबाट निर्वाचित प्रदेशसभा सदस्य तुलबहादुर घर्तीले सुरुङमार्ग निर्माणको विकल्प नभएको बताए ।

‘यो सडक मृत्यु मार्ग बनेको छ । तर समयमा ध्यान पुग्न सकेन, अब ढिलाइ गर्नु हुँदैन,’ उनले भने । सिद्धबाबाको सडकको विकल्प सडक बनाउने योजना समेत आएका छन् । तर ठोस काम भइसकेको छैन ।

संघीय सरकारले २०७१ सालदेखि सुरुङ मार्ग अध्ययनका लागि बजेट विनियोजन गर्दै आएको थियो । तर काम बनेको थिएन । यसअघि अस्ट्रेलियन कम्पनीले परीक्षणका रुपमा सानो क्षेत्रमा रकनेट राखेको थियो । सो क्षेत्रमा चट्टान खस्न रोकिएपनि विस्तारको पहल भएन ।

संघीय सरकारले सुरुङ मार्ग बनाउन गुरूयोजना बनाउन शुरू गरिरहँदा प्रदेश सरकारले भने चट्टानलाई बेन्चकट काटेर हटाउने सोच बनाएको छ ।

माघ २८, २०७५ मा प्रकाशित

प्रकाश आचार्य

प्रकाश आचार्य लोकान्तरका लागि ५ नम्बर प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार