भारतीय लोकसभा चुनावलाई लक्षित गरी जनकपुरमा सीमा सुरक्षा बैठक

माघ २८, २०७५

जनकपुरधाम – भारतमा आसन्न लोकसभा चुनावलाई लक्षित गरेर नेपाल–भारत सीमा सुरक्षा बैठक सोमवार जनकपुरधाममा सम्पन्न भएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल र भारतको बिहार प्रदेश मधुबनी जिल्लाका डीएम कपिल अशोकको अगुवाइमा नेपाल र भारतका सुरक्षा तथा प्रशासनिक निकायका अधिकारीबीच बैठक भएको हो ।
बैठकमा आगामी अप्रिल र मे महिनामा हुने लोकसभा चुनावलाई केन्द्रित गरेर सीमामा सुरक्षा व्यवस्थाका विषयमा कुराकानी गरिएको छ ।


ADVERTISEMENT

‘सीमामा हुन सक्ने आपराधिक क्रियाकलापलाई रोकथाम गर्न, नक्कली रुपैयाँको हुन सक्ने ओसारपसार, मानव बेचबिखनजस्ता क्रियाकलापलाई निस्तेज गर्न हामी दुवै पक्ष सहमत भएका छौं,’ धनुषाका प्रमुख जिल्ला अधिकारी कणेलले भने, ‘सीमा क्षेत्रमा हुन सक्ने अवैध मदिराको कारोबार, अवैध लागूऔषधको कारोबारलाई पूर्णरुपमा निस्तेज गर्ने गरी सीमामा सुरक्षा व्यवस्था कडाई गर्ने सहमति गरिएको छ ।’ 

गत डिसेम्बरमा भारतको बिहारको मधुबनी जिल्लामा भएको संयुक्त सुरक्षा अधिकारीको बैठकबाट सीमा स्तम्भको मर्मत तथा सम्भार गर्ने भनेर गरिएको निर्णयलाई निरन्तरता दिने कुरामा समेत सहमति भएको कणेलले बताए । दुवै देशको सीमावर्ति क्षेत्रमा अवैध अतिक्रमण हुन नदिने सम्बन्धमा समेत छलफल भएको थियो ।

लोकसभा चुनावमा दुवैतर्फ रहेको खुला सीमा बन्द गर्ने सँगसँगै त्यसअघि हुने आपराधिक क्रियाकलाप र नक्कली नोटको कारोबार समेत रोक्नेतर्फ दुवैतिर सावधानी अपनाउन बैठक गरिएको मधुबनी जिल्लाका डीएम अशोकले बताए ।

‘यसअघि पनि हाम्रो देश भारतको बिहार राज्यस्थित जयनगरमा उखु किसानको समस्यालाई नेपाल सरकारले नेतृत्वदायी भूमिका निर्वाह गरेर समस्या समाधान गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छौं,’ डीएम अशोकले थपे, ‘नेपाल हाम्रो परिवारजस्तै हो, नेपालको समृद्धिका साथै सीमावर्ति क्षेत्रका दुवै नागरिकको समेत समृद्धि तथा विकास होस् भन्ने भारत सरकारको चाहना रहेको छ ।’

भारतबाट अवैध रुपमा साना हतियार तथा लागूऔषध आयात हुने गरेकाले नेपालको सीमावर्ति क्षेत्र असुरक्षित भइरहेको प्रश्नमा डीएम अशोकले भने, ‘नेपाल सरकारले किटान गरेर समस्या बताए त्यसको समाधान गर्न भारत सरकार तयार छ ।’ 

भारतको सीमा सुरक्षा बल (एसएसबी) ले नेपालीसँग दुव्र्यवहार गर्ने गरेको जिज्ञासामा उनले भने, ‘यदि हाम्रो एसएसबीबाट नेपालका सीमावर्ति नागरिकलाई कुनै पनि किसिमको अमानवीय व्यवहार भइरहेको छ भने त्यस्तो अबदेखि नगर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

आपराधिक समूहले नेपालमा अपराध गरेर खुला सीमाको दुरुपयोग गर्दै भारतमा लुक्ने गरेको विषयमा नेपालको खुटौना र भारतको लौकहाका सुरक्षाकर्मीबीच छलफल भएको उनले बताए । ‘छिट्टै अपराधीको पहिचान गरेर ती अपराधीलाई पक्राउ गरेर नेपाल सरकारलाई सुपुर्दगी गर्नेछौं,’ डीएम अशोकले भने, ‘विगतमा पनि कतिपय अपराधीलाई हामीले नेपाल सरकारलाई र नेपाल सरकारले भारत सरकारलाई सुपुर्दगी गर्दै आएका छौं ।’

फागुन महिनामा हुने मिथिला माध्यमिकी परिक्रमाका दौरान नेपालको भूमिमा नेपालका र भारतको भूमिमा भारतका सुरक्षाकर्मीले सुरक्षा प्रदान गर्ने सहमति समेत भएको प्रजिअ कणेलले बताए । बैठकमा धनुषा, महोत्तरी, सिरहा र सप्तरी गरी २ नम्बर प्रदेशका ४ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक तथा सशस्त्र प्रहरी बलका उपरीक्षकको उपस्थिति थियो । भारत बिहारको मधुबनी जिल्लाका प्रहरी उपरीक्षक दिपक बर्मासहित एसएसबीका प्रमुखको उपस्थिति थियो ।

माघ २८, २०७५ मा प्रकाशित

अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि प्रदेश नम्बर दुई प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस