भ्रष्टाचार नै विकास र समृद्धिको बाधक : प्रदेश प्रमुख खनाल

माघ २८, २०७५

सुर्खेत – कर्णालीका प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रदेश प्रमुख खनालले राज्य पुनर्संरचनासँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भ्रष्टाचार निवारणमा चुनौती थपिएको बताएका छन् ।

२८ औं अख्तियार दिवसका अवसरमा सोमवार  वीरेन्द्रनगरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारले विकास र समृद्धिमा बाधा पुर्याएको बताए ।


ADVERTISEMENT

‘भ्रष्टाचार नै विकास र समृद्धिको बाधक मात्र बनेको छैन, यसले विश्वमै मुलुकको इज्जत र प्रतिष्ठा दाउमा राखेको छ,’ उनले भने, ‘राजनीतिक नेतृत्व र कर्मचारीको संयुक्त प्रयासबाट मात्र भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ ।’

उनले राज्यका स्रोतसाधन, अधिकार विकेन्द्रीत एवं तहगत विनियोजन गरिएको अवस्थामा भ्रष्टाचार नियन्त्रण झन् कठिन बनेको बताए । ‘भ्रष्टाचारको दायरा फराकिलो बन्दै गएको छ,’ उनले भने, ‘राज्यको तल्लो तहसम्म स्रोतसाधनको दुरुपयोग, ढिलासुस्ती, कमिसनतन्त्रलाई रोक्न स्थानीय जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीको इच्छाशक्ति जरुरी छ ।’

उनले आर्थिक तथा भौतिक सम्पत्तिको हिनामिना गर्नु र रातारात धनी बन्न रकम लिनु मात्रै भ्रष्टाचार नभएको बताए । अनुशासनहिनता, समयमा कार्यालय नआउनु, तोकिएको जिम्मेवारी पूरा नगर्नु, मनोमानी रुपमा काम गर्नु र अनियमितता देखिनु पनि भ्रष्टाचार भएको उनको भनाई थियो ।

प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद थपलियाले कर्णाली प्रदेशलाई भ्रष्टाचाररहित प्रदेश बनाउन जनप्रतिनिधि र कर्मचारी इमान्दार बन्नुको विकल्प नरहेको बताए । ‘कर्णालीलाई समृद्ध बनाउने हो भने सबै जना इमान्दार बन्नुपर्छ,’ उनले भने, ‘अनि मात्र कर्णालीलाई समृद्ध बनाउन सकिन्छ ।’ विद्यालय तहदेखि नै सदाचारी शिक्षाको खाँचो रहेको सचिव थपलियाको भनाई छ ।

कार्यक्रममा भ्रष्टाचार निवारणसम्बन्धी चेतनामूलक नाटक ‘खाल्डो’ प्रर्दशन गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देल, वीरेन्द्रनगर नगर प्रमुख देवकुमार सुवेदी, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापा लगायतले भ्रष्टाचार न्यूनीकरण गर्नुपर्नेमा जोड दिएका थिए ।

माघ २८, २०७५ मा प्रकाशित

शेरबहादुर थापा

थापा लोकान्तरकालागि कर्णाली प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस