मानसिक अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव

माघ २८, २०७५

ललितपुर – बिरामीको चाप बढ्दो भएपनि लगनखेलस्थित मानसिक अस्पतालमा ‘कन्सल्टेन्ट साइक्याट्रिस्ट’ (मानसिक रोग विशेषज्ञ) अपुग भएको छ । 

एकातिर बिरामीको चापअनुसार दरबन्दी अपर्याप्त भएको र त्यसमा पनि दरबन्दीभन्दा ३ जना कम कार्यरत हुँदा यहाँ जनशक्तिको अभाव भएको हो ।


ADVERTISEMENT

मानसिक स्वास्थ्यको केन्द्रीय अस्पताल भएपनि ८ जना मात्रै मानसिक रोग विशेषज्ञको दरबन्दी रहेको अस्पतालका प्रवक्ता (प्रमुख कन्सल्टेन्ट साइक्याट्रिस्ट) अनन्त अधिकारीले बताए ।

अस्पतालमा व्यवस्थापनको जिम्मेवारी पाउनुभएका निर्देशक (मानसिक रोग विशेषज्ञ) १, प्रमुख कन्सल्टेन्ट साइक्याट्रिस्ट २ र वरिष्ठ कन्सल्टेन्ट साइक्याट्रिस्ट ६ जनाको दरबन्दी छ । अस्पतालमा बहिरंग र अन्तरंग विभाग दुवैतिर आउने बिरामी बढिरहेपनि त्यसको अनुपातमा मानसिक रोग विशेषज्ञको दरबन्दी नबढेको उनले बताए । उनले भने, ‘बहिरंग विभागमा १ जना विशेषज्ञले ५० जनासम्म बिरामी हेर्नुपर्ने अवस्था छ ।’

मानसिक स्वास्थ्यप्रति नागरिकमा सचेतना बढ्दै जाँदा अस्पतालमा आउने बिरामीको सङ्ख्या बढिरहेको अस्पतालले बताएको छ । अस्पतालमा देशभरका धेरै स्वास्थ्य संस्थाबाट समेत बिरामी सिफारिस ( भएर आउने गरेको अधिकारीले बताए । अर्काेतिर ११ जना आवासीय चिकित्सक कार्यरत रहेको अस्पतालले बताएको छ । 

उनीहरूलाई सिकाउनुपर्ने समेत जिम्मेवारी पनि रहेको कार्यरत एक मानसिक रोग विशेषज्ञले बताए । उनले भने, ‘एकातिर आवासीय चिकित्सकले हामीलाई केही सहयोग हुन्छ भने अर्काेतिर हामीले उहाँहरूलाई सिकाउने जिम्मेवारी पनि हुन्छ ।’ अस्पतालमा ३० शय्या सधैं भरिने गरेको छ । अस्पतालको बहिरंग विभागमा दैनिक १ सय ५० देखि २ सयसम्म बिरामी नियमित जाँचका लागि आउने गरेका छन् ।

माघ २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस