स्मृतिमा स्वामी रामानन्द गिरिजी महाराज

फागुन ४, २०७५

स्वामी रामानन्द गिरिजी महाराज एक असाधारण, अपरम्परावादी, नितान्त मौलिक एवं भिन्न संन्यासी हुनुहुन्थ्यो । उहाँ धादिङमा जन्मनु भयो, तनहुँ देवघाटलाई कर्मस्थल बनाउनु भयो । धादिङ र तनहुँ जोडिएकै जिल्ला हुन् । उहाँ कहिल्यै हराउनु भएन ; सधैँ देखिइरहनु भयो । उहाँले अध्यात्मलाई रहस्य बन्न दिनुभएन, हत्केलाको अमलाजस्तै स्पष्ट देखिने र चिन्न सकिने बनाउन चाहनु भयो । त्यसैका लागि प्रयासरत रहनु भयो, उहाँ विद्यालयीय शिक्षा र स्वाध्याय दुबैमा बेजोड हुनुहुन्थ्यो । उहाँले वेदान्तमा आचार्य र राजर्षि जनकका विषयमा विद्यावारिधि (पीएच्.डी.) गर्नुभयो ।

धादिङ जिल्ला, नेपालका रामप्रसाद सुवेदीले २०४८ सालमा वाराणसी दक्षिणामूर्तिका निरञ्जन पीठाधीश महामण्डलेश्वर स्वामी महेशानन्दजी महाराजबाट संन्यास ग्रहण गर्नुभयो र रामानन्द गिरि हुनुभयो । उहाँ देश, समाज र सरकार सबैबाट समानरूपमा सम्मानित सन्त हुनुभयो । उहाँले वेदान्त ज्ञान विस्तारका लागि लेख्ने, प्रवचन गर्ने र देश-विदेशको भ्रमण गर्ने काम गर्नुभयो । 


ADVERTISEMENT

आफ्ना महान् गुरू महेशानन्दजीमा असीम आस्थास्वरूप उहाँले गुरूकै नाममा वि.सं. २०५० सालमा महेश संन्यास आश्रम, महेश संस्कृत गुरूकुलम् स्थापना गरी पठन-पाठनको काम शुरू गर्नुभयो । यस आश्रमको सफलता पछाडि कठोर अनुशासन, उदाहरणीय इमान्दारी, मागेका साधन-स्रोतको पैसा-पैसाको सदुपयोग र अनेकानेक व्यक्तिको विशिष्ट ज्ञान,सीप र पवित्र एवं नि:स्वार्थ सेवाको संयोजन रहेको छ । 

संयोग संयोग नै हो , यसको पूर्वानुमान वा योजना गरिँदैन । स्वत: हुन्छ, अरू कुराले अर्थ र प्रयोजन दिन्छन् । यो वर्ष अर्थात् वि.सं.२०७५ साल आश्रम तथा गुरुकुल स्थापनाको २५औं वर्ष हो । यस २५ वर्षमा स्वामी रामानन्द महाराजले यस आश्रमलाई देवघाटको फौलादी चट्टानमा ठड्याउनु भएको छ जुन चट्टानको निर्माण कृष्ण गण्डकी र त्रिशुली अनि तिनका अनेक सहायक नदीले गरेका छन् । यस सन्दर्भमा गुरुकुलले उच्चकोटिको संस्कृत शिक्षा विद्यार्थीहरूलाई दिइआएको र आश्रमले सन्त, महात्मा र संन्यासीलाई गाँस-बासको व्यवस्था गरी सेवा पु~याइरहेको कुरा उल्लेखनीय छ । गुरुकुलले कक्षा ६ देखि आचार्यसम्म आवासीय सुविधा सहित नि:शुल्क औपचारिक शिक्षा प्रदान गर्दैआएको छ । एक सफल एवं आदर्श गुरुकुलमा हुने सबै कुरा यस आश्रममा उपलब्ध छन् । 

स्वामी रामानन्द गिरिजी महाराजले लेख्नुभएका नौ पुस्तक प्रकाशित छन् । उहाँ दर्जनभन्दा बढी मान-सम्मानबाट विभूषित हुनुभएको थियो । 

अहिले महेश सन्यास आश्रम तथा गुरुकुलमा ६ कक्षादेखि आचार्यसम्मका विद्यार्थी, तिनलाई पढाउने गुरुहरू, आश्रमको व्यवस्थापन, प्रशासन एवं सञ्चालनमा संलग्न व्यक्तिहरू समेत करीव २५० जनाको खाना-दाना, चिया र खाजाको व्यवस्था हुँदै आएको छ । उपर्युक्त कामका लागि अहिले आश्रमले मासिक रु.पाँच लाखभन्दा बढी रकम खर्च गर्ने गरेको प्राचार्य श्री गुरुप्रसाद सुवेदी बताउनु हुन्छ । भक्तहरूबाट प्राप्त दान, मुष्टिदान र यज्ञादिबाट प्राप्त एवं बचत हुने रकम नै आश्रमको आम्दानीका मुख्य स्रोत हुन् ।

महेश गुरुकुलम्‌ले २०५६ सालमा संस्कृत विश्वविद्यालयबाट सम्बन्धन पायो र त्यस बेलादेखि आजसम्म यहाँका छात्रले विश्वविद्यालयको जाँचमा उत्कृष्ट नतीजा हासिल गर्दैआएका छन् । 

स्वामीजीले गुरुकुल परम्परा अनुसार नै कास्कीमा अम्बरेश्वर संन्यास आश्रम र गौरीशंकर ब्रह्मविद्यापीठ स्थापना गर्नुभयो । साथै काभ्रेको जनागाल र झापा लगायतका स्थानमा विद्यापीठको स्थापना र सुसञ्चालनमा उहाँ दत्तचित्त रहनुभयो ।

स्वामीजी जहाँ जहाँ असल श्रोता र भक्त हुन्थे त्यहाँ त्यहाँ पुगेर प्रवचन गर्नुहुन्थ्यो । यस सन्दर्भमा म उहाँको  शंकराचार्य मठ, पशुपति र सत्सङ्ग परिवार जाउलाखेलमा हुने कार्यक्रम सम्झन्छु । जाउलाखेलमा हुने अपराह्नको कार्यक्रममा म र मेरी श्रीमती नियमित सुन्न जान्थ्यौं । सभाकक्ष (हल) टन्न भरिएको हुन्थ्यो । उहाँका भक्त र श्रोता टाढा-टाढाबाट प्रवचन सुन्न आउँथे । खचाखच भरिएको हलमा कसैले केही छिसिक्क ग-यो भने स्वामीजीले त्यसको सातो लिनुहुन्थ्यो । उहाँको प्रवचनमा भाग लिने मानिस मूर्तिवत् भएर सुन्थे । त्यहाँ हल्लिने, हात-खुट्टा हल्लाउने र खोक्ने छुट हुँदैनथ्यो । उहाँले त्यस्तो कडा अनुशासनमा आफ्ना भक्त र श्रोतालाई राख्ने गर्नुहुन्थ्यो । स्वामीजीले वेदान्तका जिज्ञासुलाई ‘टिनीमिनी टिनीमिनी’ ‘घण्ट टण्ट’ गर्नु जरुरी छैन भन्ने कुरा बरोबर भनिरहनु हुन्थ्यो । वेदान्त श्रवण गर्ने, मनन गर्ने र जीवनमा उतार्ने अनि व्यवहारमा सधैँ अनुभूत गरिनुपर्ने कुरामा जोड दिने गर्नुहुन्थ्यो ।

म र श्रीमती शान्ता गौतम २०५३ सालदेखि देवघाट जान थालेका हौं । ५३ सालको माघे सक्रान्तिका दिन संगममा जाँदा हामी महेश आश्रममा नै बस्यौं । हाम्रो बासको व्यवस्था श्री  माधव पौडेल र उहाँकी धर्मपत्नी श्रीमती मीना पौडेलको सौजन्यबाट भएको थियो ।  स्वामी रामानन्द गिरिजी महाराज, पौडेल दम्पत्ती, शान्ता गौतम र म प्रकाश संन्यास आश्रम सिनामङ्गल (कालिमाटीडोल) देखि नै परिचित थियौं ।  माघे सक्रान्तिको दिन त्रिशुली र कालीगण्डकीको सङ्गम देवघाटमा हामीले स्नान ग-यौं । त्यसपछि हामी कलैया जाने तयारीमा थियौं । स्वामीजीले त्यस बखत भन्नुभयो:--‘दामोदरजी, तपाईं  यहाँ हुनुहुन्छ केही दिन । यहाँ हाम्रा छात्रलाई आफ्ना अनुभव सुनाइदिनुहोस् ।‘  मैले पनि आफूले जानेका स्थानीय विकास र प्रशासनका सामान्य कुरा प्राथमिक तहका विद्यार्थीलाई बुझाउन थालें । स्वामीजी सधैँ आफ्नो स्थानमा बसी कुरा सुन्ने गर्नुहुन्थ्यो ; कहिल्यै कुनै प्रश्न गर्नु भएन ।

२०५३ साल देखि हामी नियमित देवघाट जान थाल्यौं ।  २०६६ सालमा हामीले एक महिना बस्दा ज्यादाभन्दा ज्यादा कार्यक्रममा सहभागी हुने अवसर पायौं; समय बितायौं । बिहानदेखि हाम्रो खाना-दाना आश्रममै हुन्थ्यो; दिउँसोको खाजा हामी कोठामा लिन्थ्यौं तर चिया आश्रमबाट आउँथ्यो । देवघाटका गलेश्वर आश्रम, हरिहर आश्रम महेश आश्रमका बीच सधैँ हामीले सौहार्द्र सम्बन्ध रहेको पायौं । कुनै एक आश्रममा विशेष कार्यक्रमको आयोजना गरिएको छ भने अरू आश्रमका सम्पूर्ण  व्यक्ति आमन्त्रित गरिएका हुन्थे; आश्रममा चुल्हो बल्दैनथ्यो । स्वामी रामानन्द महाराजसँगै आश्रमका सबै सदस्य निम्तो गर्ने आश्रममा तोकिएको समयमै पुग्थे र प्रसाद ग्रहण गरेर मात्र आ-आफ्ना आश्रममा फर्किन्थे ।
     
फागुन २०६७ मा पनि हामी देवघाट गएका थियौं । आश्रममा प्रवेश गरेपछि हामी क्रमिक रूपमा त्यहाँका सबै कार्यक्रममा सहभागी भयौं । नियमित कार्यक्रमका अतिरिक्त चितवन र नवलपरासीका विभिन्न स्थानमा धार्मिक कार्यक्रम हुन्थे, स्वामीजीलाई आमन्त्रित गरेको ठाउँमा अनुकूलता हेरी उहाँले हामीलाई पनि जाऊँ भन्नुहुन्थ्यो ; जान्थ्यौं । यस क्षेत्रमा हुने कार्यक्रमहरूमा हामी स्वामीजीका साथै सबै ठाउँमा पुग्थ्यौं ।

अब म संक्षेपमा देवघाटकाको भौगोलिक विभाजनबारे चर्चा गर्छु । देवघाटलाई त्रिशुलीले चितवनखण्ड र तनहुँखण्डमा विभाजन गरेको छ । यी दुई खण्ड उत्तरी र दक्षिणी गोलार्ध्दजस्ता छन् । दुई गोलार्ध्द मिलेपछि पूर्ण पृथ्वी बनेजस्तै चितवनखण्ड र तनहुँखण्ड मिलेपछि देवघाट बन्दछ । दुई गोलार्ध्दमा दुईथरी वातावरण र विशेषता भएजस्तै चितवनखण्डको आफ्नै विशेषता छ । यहाँ संकीर्तन, भजन, पूजापाठ, हनुमानचालिसाको पाठ भइरहन्छ भने तनहुँखण्डमा गीता, उपनिषद् र वेदान्तको चर्चा हुन्छ । त्यहाँ परम्परागत आश्रमीय वातावरण पाइन्छ । तीनवटै आश्रममा विद्यार्थीहरू अध्ययन गर्छन् । 

रामानन्द गिरिजी महाराज चितवनतर्फको कार्यक्रममा पनि बडो स्नेहपूर्वक भाग लिनुहुन्थ्यो । आमन्त्रण गरेपछि त्यहाँको कार्यक्रममा उपस्थित भै प्रवचन गर्नुहुन्थ्यो; आयोजक तथा सहभागीहरूको उत्साहमा थप उत्साह प्रदान गर्नुहुन्थ्यो । यो त्यहाँ चलिरहने प्रकृया थियो ।

स्वामी रामानन्दजी महाराज बेजोड याचक हुनुहुन्थ्यो । उहाँ माग्ने काम गर्न त्यति लजाउनु हुन्थेन । उहाँको यस व्यवहारले मलाई सन्त कबिरको दोहा याद आउँछ :--

मर जाउँ मागु नहीं अपने हितके कारणै,
परहितके कारणै मोहे न आवै लाज ।।

महामना मदनमोहन मालवीयको स्तरमा पुग्नु भएन रामाननद् गिरिजी महाराज माग्ने कुरामा । मालवीयजीको त माग्ने स्तर कस्तो थियो भने कुनै दाताले मसँग दिने कुरा केही छैन, केवल केही इँट छन् यिनै इँट दान गर्न सक्छु भनेमा मालवीयजी तिनै इँट दानमा स्वीकार गर्नुहुन्थ्यो । महेश संन्यास आश्रमका प्रारम्भिक दिनमा अर्याल बन्धुहरू श्री कृष्णप्रसाद अर्याल र उहाँका दाइको विशेष योगदान पनि सम्झिनुपर्ने हुन्छ । उहाँहरू दुबै नन्दीरात्री पाठशालामा पढाउनु हुन्थ्यो । दाइ अर्यालजीले प्राथमिक तहका विद्यार्थीहरूको पढाइको स्तर र जग निर्माणमा योगदान गर्नुभएको कुरा स्मरणीय छ । 

रामानन्द गिरिजी महाराजको अनुरोधमा संस्कृत पठन-पाठनका क्षेत्रमा सरकारी सेवाबाट निवृत्त धेरै विशिष्ट विद्वान्‌हरूले महेश गुरुकुलम्‌लाई विशेष योगदान गर्नुभएको कुरा उल्लेख्य छ । पठन-पाठनका सन्दर्भमा मैले स्वयं त्यहाँ मध्यमा अन्तिम वर्षका विद्यार्थीलाई  नियमित कक्षा लिन शुरू गरें । म नेपाल परिचय पढाउँथें जुन ५० अङ्कको हुन्छ । नेपाल परिचय विषयमा विद्यार्थीले ७० प्रतिशतभन्दा बढी अङ्क ल्याउँदैनथे । मैले देख्दा यो विषयमा देवघाटका विद्यार्थीले सजिलै ९० प्रतिशत अङ्क प्राप्त गर्नुपर्ने हो । मैले पढाउने कक्षामा गलेश्वर आश्रम, हरिहर आश्रम र महेश संन्यास आश्रम तथा गुरुकुलमका विद्यार्थी समेत पढ्थे । उनीहरूको सिक्ने,जान्ने इच्छा देखेर म अचम्भित हुन्थें । म उनीहरूले ‘नेपाल परिचय’ अध्ययन गर्दा सकेसम्म जीवनोपयोगी व्यावहारिक र उपयोगी ज्ञान प्राप्त गरुन् भन्ने चाहन्थें जसमा उनीहरूको पनि चाख र रुचि रहन्थ्यो । 

हामी सबैले हाम्रा महान् गणितज्ञलाई चिनेकै छौं ! त्यो गणितज्ञ जसले स्थलवासी सात अर्ब मानिसको मात्र हैन चराचर सम्पूर्णको प्रत्येक निमेषको हिसाब राखेको छ, जसमा उसले भूलचूक गर्दैन, पक्षपात हुँदैन र निर्धारित समयमा घण्टी ठोक्छ । स्वामी रामानन्दजीका लागि त्यो घण्टी २४ असार २०७४ का दिन शंकराचार्य मठ, पशुपति, काठमाडौंमा ठोकियो : उहाँ ब्रह्मलीन हुनुभयो । उहाँको जलसमाधि गुरुपूर्णिमाका दिन देवघाटमा गरियो । 

म र पत्नी शान्ता ७ साउन २०७४ का दिन १२ बजेतिर देवघाट पुग्यौं । हामीलाई मञ्जुश्री फाइन्यान्स लि.का नारायणघाट शाखा प्रबन्धक श्री अभय मुडभरीले झोलुङ्गेपुलको चितवनतर्फको ढोकामा ओरालिदिनुभयो जहाँबाट हामी हिंड्दै आश्रममा पुग्यौं । केही समयको आरामपछि आश्रमको कार्यालय गएँ जहाँ श्री रमणानन्दजी, प्राचार्य श्री गुरुप्रसाद सुवेदी र प्राध्यापक श्री फणिन्द्र हुनुहुन्थ्यो । उहाँहरू २०५३ सालदेखि नै आश्रमसित सम्बन्धित हुनुहुन्छ र म पनि उहाँहरूलाई त्यसै बखतदेखि चिन्दछु । 

गृहस्थहरूमा १३ दिनमा क्रिया-कर्म टुङ्ग्याउने चलन छ ; संन्यासीहरूको १६औं दिनमा नयाँ उत्तराधिकारीको घोषणा गरिन्छ, र मठको गद्दीमा आसिन गराइन्छ । तदनुसार उपस्थित सन्त महन्तले विधिपूर्वक गद्दी-आरोहणको घोषणा गर्नुभयो । ८ साउन २०७४ आइतवारका दिन स्वामी रमणानन्द गिरिजी महाराजलाई महेश संन्यास आश्रम र गुरुकुलम्‌को पीठाधीश घोषणा गरियो । त्यसपछि उहाँले उपस्थित सम्पूर्ण सन्त महन्तको विधिपूर्वक पूजा गरी  ठूलो भण्डाराको आयोजना गर्नुभयो र सबै सन्त महन्त संन्यासी तथा अन्य आमन्त्रित विद्वान्‌हरूलाई यथायोग्य दान-दक्षिणा सहित विदा गरेपछि कार्यक्रम समापन गरिएको थियो ।

५/१५ महालक्ष्मीमार्ग
लगनखेल, ललितपुर

फागुन ४, २०७५ मा प्रकाशित

दामोदरप्रसाद गौतम

गौतम नेपाल सरकारका पूर्व मुख्य सचिव तथा अमेरिकाका लागि नेपाली पूर्व राजदूत हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार