न्याय मर्‍यो ! विद्रोह गर्ने कि अन्याय सहने ?

फागुन ८, २०७५

‘न्याय नपाए गोर्खा जानू’ भन्ने उखान त्यो बेलाको राज्य र राजधानीसँग जोडिएको छ । राजा वा राजधानीमा गएपछि त्यहाँ सबैका अभिभावक हुन्छन् र उनले न्याय दिन्छन् भन्ने मान्यताबाट सायद यो उखान आएको होला । तर अहिले न त गोर्खा नेपाल राज्यको राजधानी रह्यो, न त परम्परागत रूपमा राजा र राजालाई पिता मान्ने मान्यता नै  । यो नरहँदा न्याय मरेको हो त ? पक्कै होइन होला ।

किनकि संसारका धेरैजसो देशहरू राजा नभएकै छन् । तर जहाँ–जहाँ न्याय मरेको छ, त्यहाँ–त्यहाँ या त सधै विद्रोह र लडाई छ, या त ती देश तीब्र रूपमा भ्रष्टाचार र बेथितिमा जेलिँदै अधोगतितिर लागिरहेका छन् ।


ADVERTISEMENT

न्याय भनेको कुरा कसैले घोषणा गरिदिने, कानूनका किताबमा लेखिदिनेभन्दा हरेक सदस्य वा नागरिकले आफूमाथि संस्था वा राज्यले गरेको भेदभावरहित व्यवहारबाट अनुभूत गर्ने कुरा रहेछ । हरेक मानिसहरूलाई न्याय अन्याय, सत्य असत्यबारे जानकारी दिने बस्तु भनेको मानिसको आफ्नै मन हो रे ! अरुसामु मुखले हामीले जेसुकै बोले पनि, स्वार्थवश जतिसुकै फूर्तिफार्ति गरेपनि एकान्तमा आ–आफ्नो मनले हामीलाई सत्य बताइरहेको हुन्छ रे ! त्यसैले न्याय अन्यायको अनुभूत गर्ने पनि मानिसको त्यहीँ मन हो ।

न्याय मर्‍यो भने के हुन्छ त ?

वर्तमान समयमा द्वन्द्व विशेषज्ञहरू जताततै भेटिन्छन् । न्याय अन्यायसँग जोडेर सिर्जित हुने द्वन्द्वहरूको विश्लेषण शास्त्रीय सिद्धान्तको आधारमा तिनीहरूले नै गर्लान् । एउटा समाज विज्ञानको विद्यार्थी भएको नाताले लेखमार्फत् मैले देखेका र भोगेका जीवनमा आधारित रहेर न्याय र अन्यायको जालोमा जेलिएको मानव जीवनमा देखिएका परिणामलाई जोड्ने र केलाउने कोसिस गरेको छु । लेखाइको उद्देश्य हामीले हाम्रो वर्तमान अवस्थालाई केलाउँदै सकारात्मक रूपान्तरणको बाटो पहिल्याउनु हो ।

समाजले विद्रोह गर्ने आँट गरेन र अन्यायलाई सहने बाटो रोज्यो भने बाहिरबाट शान्त देखिने त्यो समाज बिस्तारै सुस्त हुँदै सबै कुरा चुपचाप सहँदै भाग्यलाई दोष दिएर यथास्थितिमा बाँच्न अभ्यस्त हुँदै जाने रहेछ ।

सतही रूपमा हेर्दा न्याय मर्‍यो भने मुख्यतया २ वटा प्रवृत्ति देखिने रहेछ, या त अन्यायमा परेकाले विद्रोह गर्ने रहेछ, नत्र अन्यायलाई सहन थाल्दो रहेछ । उसले विद्रोह थाल्यो भने प्रथम चरणमा अवज्ञाको कुराहरू बढी आउन थाल्ने रहेछन् र बिस्तारै सत्ता वा शक्तिवालाको जुनसुकै कुराहरू पनि उसले नकारात्मक रूपमा हेर्ने प्रवृत्ति झागिँदै जाने रहेछ । त्यसको दोस्रो चरणमा सत्ताको कामहरूको प्रतिरोध गर्दै सशस्त्र विद्रोहमा समाज जाने रहेछ । यो चरण हामीले विभिन्न कालखण्डमा नेपालमै तथा संसारभर विभिन्न देशमा देख्दै भोग्दै आइरहेका छौं ।

समाजले विद्रोह गर्ने आँट गरेन र अन्यायलाई सहने बाटो रोज्यो भने बाहिरबाट शान्त देखिने त्यो समाज बिस्तारै सुस्त हुँदै सबै कुरा चुपचाप सहँदै भाग्यलाई दोष दिएर यथास्थितिमा बाँच्न अभ्यस्त हुँदै जानेरहेछ । दिमागी रूपमै अपाङ्ग भएको यस्तो समाज मैले अर्काको उपनिवेशमा लामो समय शासित भएर बिताएका अफ्रिकी देशमा धेरै देखे । यसरी मानसिक रूपले यथास्थितिलाई स्वीकारेको समाज रूपान्तरण हुन ज्यादै कठिन हुन्छ ।

न्यायसँग जोडिएको आशा

समाज वा व्यक्तिले राज्य र संगठनबाट भेदभावरहित न्यायको अनुभूति गर्‍यो भने उसले आफ्नो पालो पर्खन थाल्छ । उसमा आशाको सञ्चार हुन थाल्छ, आशाले स्फूर्ति जगाउँछ अनि उ निरन्तर सुखद भविष्यको लागि प्रयास गर्छ र त्यसको परिणाम समाजले सकारात्मक विकासको फड्को मार्छ ।

भारत, चीन, भियतनामका जनतामा यो सकारात्मक प्रवृत्ति पछिल्ला दशकमा प्रशस्त देखिन्छ । जब–जब नेपालमा पनि केही राम्रा शुरूवात हुन खोजेका छन्, देशवासीले आफ्ना निजी प्राथमिकतालाई थाती राख्दै राज्यलाई साथ दिएका छन् । तर हाम्रोमा आशलाग्दा प्रयास एकदमै क्षणिक हुने गरेका छन्, एक पटक झिलिक्क गर्ने अनि निभिहाल्ने ।

अधिकांश कुराहरू ‘जसको शक्ति उसको भक्ति’मा रूपान्तरित हुने गरेका छन् । परिणामतः विद्रोही नेपाली मनलाई उपयोग गर्दै विभिन्न कालखण्डमा धेरै सशस्त्र विद्रोह भएका छन् । विद्रोहको परिणामलाई दोहन गर्दै केही मान्छे पीडितबाट शासक भएका छन् र ‘आफ्नो हात जगन्नाथ’ भन्दै पुरानै प्रवृत्तिलाई निरन्तरता दिएका छन् । सर्वसाधारण नागरिकहरू जस्ताको त्यस्तै छन् र फेरि अर्को विद्रोहमा सामेल हुन अभिसप्त छन् ।

रूपान्तरित समाज

अध्ययनको क्रममा नेदरल्याण्ड बस्दाको २ वटा प्रसंगले मानिसको आफ्नो समाजप्रतिको विश्वास झल्काउँछ । मेरो एउटा प्रोफेसरको ग्रिल नभएको शिशाको घर देखेर ‘तिम्रो घरमा दिउँसो कोही हुँदैन, शिशा सजिलै फुटाएर चोरी हुँदैन ?’ भन्ने मेरो जिज्ञासामा उनले फिस्स हाँस्दै ‘चोर कहाँ हुन्छ र मैले आजसम्म चोर देखेकै छैन’ भनेका थिए । 

आफ्नो पर्स र मोबाइल हराएकी एक चेक साथीसँग पुलिस स्टेसन जाँदा एक जना महिला प्रहरी निरीक्षकले भन्दै थिइन्, ‘हामी कोसिस गर्छौ, तिम्रो समान खोज्न तर एउटा कुरामा म विश्वस्त छु, तिम्रो सामान कुनै ढचले चै चोरेन, कोही विदेशीले नै चोर्‍यो होला ।’

त्यहाँ आफ्नो समाज र आफ्ना देशवासीप्रतिको त्यो विश्वास त्यसै आएको छैन । हरेक नागरिक अनुशासित छन्, न्याय र कानूनको पालना गर्छन् र राज्यले पनि न्यायमा भेदभाव गर्दैन । राज्यलाई विकसित बनाइयो भने आफू पनि सँगसँगै विकसित भइन्छ भन्ने सोचाइ राख्छन्, नागरिकहरू र रातदिन मेहनत गर्छन् ।

भारतको यात्रा गर्ने क्रममा मैले त्यहाँको रेल र हवाई यात्रा विगत धेरै वर्षदेखि प्रयोग गर्दै आइरहेको छु । भारतीय एयरपोर्ट र रेल सेवा निरन्तर सुधारोन्मुख छन् । पहिला–पहिला यात्रीहरूबाट विभिन्न बहानामा पैसा असुलेर आफ्नो गोजी भर्ने रेलका टिटीहरू आजभोलि सकेसम्म यात्रीहरूलाई सेवा पुर्‍याउने र उठाएको पैसाको टिकट दिने गर्छन् । 

परिणाम संसारकै ठूलो संगठनमध्ये एक भारतीय रेल्वे नाफामा गएको छ र त्यहाँ अन्य हजारौं रोजगारीहरू सिर्जना भएका छन् । दिल्ली र अन्य ठाउँका एयरपोर्टमा केही वर्ष अगाडिसम्म यात्रीहरूले व्यहोर्नुपर्ने सास्ती धेरै कम भएका छन् । सरकारी तथा गैरसरकारी कर्मचारीको तलबमान विगतको तुलनामा कयौं गुण बृद्धि भएको छ र जीवन सहज भएको छ । 

समाज र मानिसहरू भविष्य र आशाको कुरा गर्छन्, विदेशिएकाहरू ठूलो संख्यामा स्वदेश फिर्ने क्रम तीब्र छ । मानिसहरू स्वाभिमानी र देशप्रति अझ बढी समर्पित हँुदैछन् । त्यही कुरा चीन, भियतनाम, सिंगापुर, कम्बोडियामा देख्न पाइन्छ ।

हाम्रो नियति

नेपालीहरू स्वभावैले विद्रोही छन्, आफूमाथि भएको भेदभाव र अन्याय सहेर अफ्रिकीजस्तो मानसिकरूपले बन्धक बन्न सक्दैनन् । सायद कसैको उपनिवेश वा गुलामीमा बस्नु नपरेकाले हाम्रो स्वभाव त्यस्तो भएको होला । हामीमा जताततै भेदभाव छ र न्याय छैन ।

काठमाडौंले बाँकी देशलाई आफ्नो हुकुम क्षेत्र ठान्छ र त्यही अनुसारको विभेदकारी व्यवहार गर्छ । त्यसैको परिणाम स्वरूप विद्रोह र संघीयताको माग भएको हो । नाममा त संघीयता आयो । तर व्यवहारमा काठमाडौं आफ्नो जमिन्दारी छोड्न चाहँदैन । त्यसैको सकस कार्मचारी समायोजन प्रक्रिया र संघीयताले व्यहोरिरहेको छ । नेपालमा भएका हरेक संघर्ष र विद्रोह शासक र शोषितबीच रहेको अन्यायको परिणामले निम्त्याएका लडाईहरू हुन् ।

विकासले समाजलाई आशलाग्दो भविष्यतिर डोर्‍याउँछ । नागरिकहरू स्वाभिमानी, नैतिकवान, सकारात्मक बन्दै जान्छन्, अनि समाज  र देश  रूपान्तरित हुन्छन् ।

सर्वसाधारण नागरिकले न्यायको अनुभूति नगरेसम्म यस्ता लडाईको निरन्तरता रहिरहनेछ । नामहरू फेरिएलान्, नेताहरू फेरिएलान् तर लडाईमा होमिने मानिस तिनै अन्यायमा पिल्सिएकाहरू हुनेछन् । फेरि पनि अर्को समूहले उपयोग गर्ने तिनीहरूलाई नै हो । यहीँ लडाईको दुष्चक्रमा फसिरहन सायद हामीहरू अभिसप्त छौं । नत्र प्रकृतिले सिँगारेको संसारको सुन्दरतम् देशको दशा यस्तो हुने थिएन ।
अगाडिको बाटो

हाम्रो संस्कारमा परिवर्तन नै सुधारतर्फको पहिलो पाइला हो । संस्थाहरू (घर, समाज, देश) र संगठनले (परिवारिक, सामाजिक, गैरसरकारी, सरकारी) आफ्ना सदस्यलाई समान व्यवहार र न्याय गर्न सकेनन् भने जतिसुकै पुरानो, जतिसुकै बलियो भएपनि ढिलोचाँडो मात्र हो, बिखण्डित हुन्छन् वा कमजोर हुन्छन् । 

सदस्यमा अन्यायका कारणले उब्जिएको असन्तुष्टिको सानो प्वाँल कालान्तरमा ती संस्थाहरू निल्ने ‘ब्ल्याक होल’ हुन सक्छ । तर आफ्नो व्यवहार र कामले नागरिकमा न्यायको अनुभूति दिलाउन सकियो भने त्यसबाट सिर्जना हुने भविष्यको आशाले मानिसमा सकारात्मक रूपले आफ्नो पालो पर्खिने, आफू पनि आफ्नो कामबाट प्राप्त हुने प्रतिफलको साझेदार हुने विश्वासमा सकेको योगदान गर्नतिर लाग्छन् हरेक नागरिकहरू  । 

यो कार्यबाट संस्थाहरू र देशमा कर्मशील उर्जाको तीब्र प्रवाह हुन थाल्छन् र आन्तरिक कलह र लडाईहरूको ठाउँमा सिर्जना र विकासले गति लिन थाल्छ । विकासले समाजलाई आशलाग्दो भविष्यतिर डोर्‍याउँछ । नागरिकहरू स्वाभिमानी, नैतिकवान, सकारात्मक बन्दै जान्छन्, अनि समाज  र देश  रूपान्तरित हुन्छन् ।

फागुन ८, २०७५ मा प्रकाशित

डा. राजेन्द्र उप्रेती

उप्रेती विराटनगरमा रहेर समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस