सरकारी जागिर छाडेर संगीतमा रमाएका राजकुमार

फागुन २५, २०७५

काठमाडौं– गाउँको एक विद्यालयमा सरकारी शिक्षक थिए उनी । छोराको घरपायकको जागिर, खान लगाउन गाह्रो थिएन, बाबुआमा पनि सन्तुष्ट थिए । 

तर उनी अर्थात् राजकुमार बगरमा संगीतको नशा थियो । त्यसैले त दुई वर्षमै शिक्षण पेशाबाट बाहिरिए । 


ADVERTISEMENT

अन्तत: २०५८ सालमा शिक्षकको सरकारी जागिरलाई चटक्कै छाडेर संगीतमा भविष्य खोज्दै तनहुँको थर्पुबाट काठमाडौं हानिए । 

घरपरिवार, साथीभाई धेरैले भने, ‘मान्छे यही सरकारी जागिर खान मरिहत्ते गर्छन्, तलाईं घरपायकको जागिर पनि छोड्नुपर्ने ?’

गाउँबाट काठमाडौं आउनुको श्रेय भने उनी अग्रज गायक नारायण रायमाझीलाई दिन्छन् । 

‘काठमाडौं कसरी जाने, कहाँ बस्ने ? गएर के गर्ने ? कुनै माध्यम बनेको थिएन,’ राजकुमार १७ वर्ष अगाडिको कुरा स्मरण गर्छन्, ‘तर नारायण रायमाझी दाईले काठमाडौं बोलाएर उहाँकै रिमा रेकर्डिङ स्टुडियोमा जागिर दिनुभयो । म उहाँलाई सधै सम्झन चाहन्छु ।’

राजकुमार स्याङजाको चित्रेभञ्ज्याङमा जन्मे । ४-५ वर्षको उमेरमै उनको परिवार त्यहाँबाट तनहुँ बसाई सर्‍यो । 

अहिले पो युट्युबको जमाना छ । त्यो बेला गीतसंगीत सुन्न÷हेर्न उनको गाउँमा टेलिभिजनको पहुँच थिएन् । विद्यार्थी उमेरमा गीतका क्यासेट किनेर सुन्ने अवस्था पनि थिएन । थियो त केवल रेडियो । रेडियो नेपालमा घन्किएको गीतले उनलाई आकर्षित गर्‍थ्यो । राजकुमारको गाउँमा सत्यनारायणको पूजा लाग्थ्यो । उनलाई त्यही पूजामा हुने सांगीतिक माहोलले पनि संगीततर्फ तान्यो । 

बाल्यकालदेखि नै संगीततर्फ रुचि भएपनि उनको प्रतिभा फक्रिने मौका भने पोखराबाट भयो । एसएलसीपश्चात उनले आइएड, बिएड पोखराको पिएन क्याम्पस पढे । ‘त्यहाँ संगीतमा वातावरण बन्दै गयो । संगीत सिक्ने, सांगीतिक कार्यक्रमहरूमा सहभागी हुने अवसर पाए,’ राजकुमार सुनाउँछन् । 

२०५५ सालमा रेडियो नेपालको वार्षिकोत्सवमा राजकुमारले लेखेको गीत ‘उडेर जुन छुन्छु भन्थेँ’ प्रथम भयो । उनको शब्द, बिबी अनुरागीको संगीतमा रामभक्त जोजिजूले गीत गाएका थिए । 

‘त्यसको अर्को वर्ष २०५६ सालमा यो गीत रेकर्ड भएर बजारमा आयो,’ राजकुमारले भने । गीतलाई स्रोताले रुचाए । तर त्यो बेला संगीतमा लाग्नका लागि त्यति सहज थिएन् । गीत चलेपनि गीतकार भएर चल्न गाह्रो छ भन्ने लागेर उनी बिएड सकेपछि गाउँमै शिक्षण पेशामा लागेका थिए । 

‘आमा ! रातो सारी चुरा पोते किन नला'को’ले चिनायो 

काठमाडौंमा आएर रिमा रेकर्डिङ स्कुडियोमा जोडिएको अर्को वर्ष उनले विवाह गरे । 
त्यसको एक वर्षपछि उनले लेखेको ‘भन्नु नभाको आमा रातो साडी चुरा पोते किन नलाको’ बोलको गीत रेकर्ड भयो । राजकुमार भन्छन्–‘त्यो गीतको चर्चासँगै लोकगीतमा मेरो व्यवसायिक लेखन शुरू भयो ।’ 

साउण्ड रेकर्डिष्टको कामसँगै गीतकारका रूपमा पनि आफूलाई अगाडि बढाए । २०६२ सालमा आफैंले त्रिवेणी रेकर्डिङ स्टुडियो खोले । त्यसपछि लोकगीतको व्यवासायिक बजार केही वर्ष राम्रो रह्यो । उनका गीतहरू 'ब्याक टू ब्याक' हिट हुन थाले । 

२०६७/६८ सालसम्म आफ्नो व्यावसायिक लेखन राम्रो भएको राजकुमार बताउँछन् । भन्छन्, ‘त्यतिबेलासम्म मैले ४ सय जति लोकगीत लेखेँ ।’ यता कुलो काट्दाखेरी, मिर्मिरेको घाम, मनको देउतैले, माफ गर भूल भए, माया नमार लगायतका गीतले आफूलाई चिनाउन मात्र नभई आर्थिक रूपमा पनि सबल बनाएको राजकुमार बताउँछन् । 

गीतकारसँगै संगीतकार

राजकुमार गीतकारमा करिअर बनाउँछु भन्दै काठमाडौं आएका थिए । तर समयले उनलाई गीत मात्रै लेख्न दिए । लेखेका गीतलाई लय हाल्न पनि सिकायो । २०६४ सालतिर उनले निकै मिहिनतले एउटा गीत लेखेँ । तर उनीसँग एल्बम निकाल्ने सामर्थ्य थिएन । आर्थिक जोहो गरेका थिएनन् ।  

‘एक चर्चित संगीतकारले सोलो एल्बम गर्ने भन्नुभयो । म हर्षित थिएँ,’ संघर्षका दिनहरू सम्झँदै राजकुमार भन्छन्, ‘तर पछि उहाँले कुनै रेस्पोन्स दिनुभएन । १५ दिनमा फोन गरेँ, १ महिनामा फोन गरेँ । गर्छु भन्दाभन्दै ४ वर्ष बित्यो ।’ 

यसरी संगीतकारले रेस्पोन्स नगरेपछि आफू संगीतकार पनि बन्न पुगेको राजकुमार बताउँछन् । २०६८ सालमा ‘तिमीलाई आफ्नो भन्ने मेरो अधिकार गुमेपनि’ भन्ने आफ्नै गीतमा पहिलो पटक संगीत दिए ।  

अञ्जु पन्तको स्वर रहेको यो गीत स्रोता/दर्शकको मुखमा झुण्डियो । ‘परीक्षा त हो भनेर कम्पोज गरेको थिएँ । गीतले श्रोता दर्शकको मन जितेपछि अन्य गीत पनि कम्पोज गर्न थालेँ, ’  उनले संगीतकार बन्नुको राज खुलाए ।  

त्यसपछि उनले धेरै गीतमा संगीत दिएका छन् । गीतकारका रूपमा पहिल्यै स्थापित राजकुमार संगीतकारका रूपमा पनि क्रमश: स्थापित बन्दै गए । उनले संगीत दिएका दर्जनौं गीत लोकप्रिय छन् । 

गीत सुनेर/हेरेर आत्महत्या ! सञ्चारमाध्यममा ‘ब्यान्ड’ !

उनले धेरै गीत प्रेमभाकामा लेखेका छन् । २०६५ सालतिर उनले लेखेको गीत ‘मर्स्याङ्दीमा फूल बगाम् भो, सँगै बाँच्न पाइएन निर्माया एउटै डोरी पासो लगाम् भो’ बोलको गीत सार्वजनिक भयो । गीतमा खुमन अधिकारी र विष्णु माझीले स्वर दिएका छन् ।  

गीत सार्वजनिक भएसंगै हल्ला फैलियो गीत सुनेर केही व्यक्तिले आत्महत्या गरे रे ! 

लोकान्तरसँगको कुराकानीमा राजकुमार स्मरण गर्छन्, ‘मैले पनि सुने गीत सुनेर/हेरेर एक–दुई जनाले आत्महत्या गरे रे ! तर सत्य, तथ्य के हो थाहा भएन । कतिले यस्तो गीतले समाजमा गलत म्यासेज जान्छ भनेर रेडियोहरूमा बजाउन ‘ब्यान्ड’ गरेका थिए ।’ 

तर आफूले त्यो गीत प्रेम सफल हुन सकेन, अब हामी सँगै मरौँ कि क्या हो भन्ने सोचाइ उत्पन्न हुने परिस्थितिलाई उल्लेख गर्दै लेखेको बताउँछन् । ‘गीतको भावमा  सँगै मरेको थिएन, मरौँ कि क्या हो भन्ने सोचाइ उत्पन्न मात्र थियो । तर गीतको भिडियोमा बिछोडको क्षणमा रहेका प्रेमी–प्रेमिकाले सँगै आत्महत्या गरेको देखाइयो,’ सो गीतबारे उनी भन्छन्, 'गीतमा मरेको नभनिए पनि भिडियोमा मरेको देखाइयो । भिडियोकै असर पनि हो कि ?' 

हरेक सर्जकको चाहना मानिसलाई निराश बनाउने नरहेको बताउँदै उनी बजारमा चलेको ती हल्लाले गीत लेखेर केही गल्ती त गरिनँ ? भनेर आत्मग्लानी भने हुने गरेको बताउँछन् ।
उनी गीतको म्यासेज के हो भन्ने कुरा हरेक निर्देशकले बुझ्नु जरुरी रहेको बताउँछन् । 

उहिले र अहिले

राजकुमार संगीतमा जम्दै गर्दा संगीतको स्वर्ण समय अडियो क्यासेटको जमाना थियो । 

क्यासेट हुँदै बीचको समयमा सीआरबीटीलाई पनि उनले बुझे । ‘मिर्मिरेको घाम' गीत ल्याएको समयमा सिग्नेचर गर्न नभ्याएर स्ट्याम्प बनाएर छाप लगाएर क्यासेट दिन्थ्यौं । त्यतिबेला रोयल्टी पनि राम्रो आउँथ्यो,’ राजकुमार भन्छन् ‘मलाई त त्यतिबेलैको संगीत बजार राम्रो लाग्छ ।’ 

क्यासेट, सीआरबीटी धराशायी हुँदै अहिले युट्युबको जमाना छ ।  यता गायक–गायिकाको आम्दानीको स्रोत भने स्टेज भइदिएको छ । ‘युटयुबको जमाना र गायक–गायिकाको आम्दानीको स्रोत स्टेज हुँदा बढी भ्यूज पाउने र स्टेजमा दर्शकलाई उचाल्ने खालका गीत ल्याउने होड चलेको छ,’ राजकुमार अहिलेको संगीत बजारबारे भन्छन्, ‘त्यसैले पनि कालजयी हुनेखालका भन्दा व्यवसायिक खालका गीतहरू आएका छन् ।’ 

राम्रो म्यूजिक भिडियो बनाउनेले भ्यूज पनि राम्रो होस् भन्ने अपेक्षा गरेको हुन्छ । ‘तर डान्सिङ बिटका उत्ताउला गीतलाई दर्शकले बढी हेरेपछि त्यो तर्फ उन्मुख भएको हो कि ?   –राजकुमार आंकलन गर्छन् । गीतसंगीतमा पछिल्लो समय देखिएको विकृति हटाउन सेन्सरको आवश्यकता रहेको उनी औंल्याउँछन् । 

संगीतमै ‘आत्मसन्तुष्टि’

राजकुमार बगर झण्डै दुई दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा रमाइरहेका छन् । चम्किरहेका छन् । यो यात्रामा उनका एक हजार बढी गीत बजारमा आए । उनका दर्जनौं गीत जनजिब्रोमा कण्ठस्थ छन् । श्रोताको मनमगजमा बस्ने यस्ता स्वादिला शब्द र संगीत गर्दा उनले गीत गुणस्तरीय होस् भनेर पनि उत्तिकै ध्यान दिन्छन् ।  

सुरुआतको ‘उडेर जुन छुन्छु भन्थेँ’ होस् वा त्यसपछाडिका ‘यता कुलो काटदाखेरी’, ‘आमा ! रातो सारी चुरा पोते किन नलाको’,‘ मिर्मिरेको घाम’, ‘मनको देउतैले’, ‘माफ गर भूल भए’, ‘माया नमार’ होस्, चाहे ‘मर्स्याङ्दीमा फूल बगाम् भो’, ‘तिमीलाई आफ्नो भन्ने मेरो अधिकार गुमेपनि’, ‘किन शंका गर्छौ मेरो’, ‘सुने खबर जीवनसाथी’, ‘तिमी छौं र पो हाँसेको छु म’ नै किन नहोस् । उनका यस्ता दर्जनौं गीतहरू जिब्रोमै झुण्डिएका छन् । यी गीतमार्फत राजकुमार दर्शक स्रोतामाझ परिचित छन् । भलै उनको नाम सुन्दै नसुनेकाहरूले पनि उनले लेखेको र संगीत गरेका यस्ता गीत सुनेर परिचय गाँसेका छन् । 

आफू संगीतमा दुई दशक टिकिरहनुको पछाडि रूचि, साधना र धैर्यता भएको उनको ठम्म्याई छ । विगत र वर्तमान संगीतमा बिताएका राजकुमार भविष्य पनि संगीतमै समर्पित हुने बताउँछन् । संगीतमा लागेर जीवन धान्ने आधार बनाए पनि उनी आफूले यसबाट पैसाभन्दा धेरै सन्तुष्टि पाएको बताउँछन् । 

यद्यपि परिवारले अझपनि भन्ने गरेको कुरा सुनाउँछन्, ‘शिक्षकको जागिर गरिरहेको भए स्थायी भइसक्थ्यो । पेन्सन आउँथ्यो । तर संगीतमा लागेर भविष्यमा के गर्ने हो ?’

जवाफमा राजकुमार भन्छन्–‘शिक्षक भएको भए पेन्सन त आउँथ्यो । तर मलाई कहिल्यै सन्तुष्टि मिल्दैनथ्यो । संगीतमा लागेर सबैभन्दा ठूलो कुरा स्रोता–दर्शकको माया र आत्मसन्तुष्टि पाएको छु ।’
 

फागुन २५, २०७५ मा प्रकाशित

सुशील नेपाल

नेपाल कला, साहित्य र मनोरञ्जनमा कलम चलाउँछन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार