पोखरामा बन्दको सामान्य प्रभाव, विरोधमा उत्रिए युवा

फागुन ३०, २०७५

पोखरा- पर्यटकीय नगरी पोखरामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको आंशिक रूपमा प्रभाव परेको छ ।

पोखराका नगरक्षेत्रहरूका अन्य सामान्य दिनभन्दा कम‍ मात्रामा सवारी साधन चलेका छन् । व्यापारिक केन्द्र, विद्यालय उद्योग, कलकारखाना र व्यावसायिक फर्महरू भने बन्द भएका छन् ।  


ADVERTISEMENT

पोखराको सभागृह चोकमा बिहान बोतल बम भेटिएपछि नेपाली सेनाको डिस्पोजल टोलीले निक्रिय पारेको छ । त्यस्तै पोखरा महानगरापलिका अन्तर्गतको भण्डारढीकमा पनि शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । अघिपछि जस्तो पोखराका मुख्यचोक र बजारमा बन्दकर्ता भने देखिएका छैनन् । तर पनि व्यवसायीमा त्रासका कायमै छ ।

विप्लव समूहको बन्दलाई निस्तेज पार्न सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ । ‍पोखराका विभिन्न स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएका छन् । पुल, भवन, सरकारी कार्यालयलगायत सार्वजनिक संरचनाको छेउमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको कास्कीका प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।

बन्दको विरोधमा प्रदर्शन

युवाहरूले पोखरामा बन्दको विरोधमा प्रदर्शन गरेका छन् । विवेकशील साझा पाटीसँग आबद्ध युवाहरूले पृथ्वीचोकमा बन्दविरुद्ध प्रर्दशन गरेका हुन् । ‘बन्दले देश बन्दैन’, ’नेपाल खुला छ’, ‘बन्दको विकल्प खोजौँ’, लगायतका प्लेकार्डसहित राष्ट्रिय झण्डा लिएर प्रर्दशन गरेका हुन् । 

युवाहरूले देश विकासको बाधकमा रूपमा रहेको बन्द हड्ताल सधैंको लागि बन्द गर्न माग गरे । उनीहरूले राजनैतिक दलहरूलाई बन्द हड्तालको विकल्प खोज्न समेत आग्रह गरे ।
बन्द हड्तालले युवाहरूको भविष्यसँग जोडिएको विद्यालय, कलेज,उद्योग, व्यापारसमेत ठप्प भएको भन्दै बाध्य भएर बन्दविरुद्ध उत्रिएको बताए ।
 

फागुन ३०, २०७५ मा प्रकाशित

नरहरि पौड्याल

पौड्याल लोकान्तरका लागि गण्डकी प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार