सीकेसँगको सम्झौता राष्ट्रघाती, विप्लव समूहलाई प्रतिबन्धको निर्णय हतारमा

फागुन ३०, २०७५

बुटवल- स्वतन्त्र मधेश गठबन्धनका नेता सीके राउतसँग गरेको ११ बुँदे सम्झौता राष्ट्रघाती र विप्लव नेतृत्वको नेकपालाई लगाइएको प्रतिबन्ध हतारको निर्णय भएको यस क्षेत्रका जानकारहरूले टिप्पणी गरेका छन् । 

रिपोर्टर्स क्लब प्रदेश ५ को कार्यालय बुटवलमा बिहीवार आयोजित साक्षात्कारमा बोल्ने वक्ताहरूले सरकारले विप्लव नेतृत्वको नेकपालाई चिढ्याएर मुलुकमा त्रास र द्वन्द्व फैलाउने काम गरेको भन्दै सरकारलाई संयम र परिपक्व बन्न समेत सुझाए ।


ADVERTISEMENT

दुई तिहाइबाट बनेको वाम सरकारले गरेका हालैका दुवै निर्णय नेपालको राजनीतिमा राज्यको गम्भीर त्रुटीका परिदृष्यमा दर्ज भएको बताए । 

पूर्वसभासद विनोद पहाडीले अन्तर्राष्ट्रिय जगतले नेपाललाई राजनीतिक खेल मैदानका लागि प्रयोग गर्ने गरी काम भइरहेको बताए । भारतमा निर्वाचनको घोषणा हुँदा सीके राउतसँग नेपालमा सम्झौता भयो र नेकपालाई प्रतिबन्ध लगाइयो यो संयोग मात्र नभएको पहाडीको भनाइ छ ।

द्वन्द्व विष्लेषक तथा प्राध्यापक संघका केन्द्रीय महासचिव प्रा.डा.बुद्धबहादुर थापाले  सरकारले गरेका दुवै निर्णय अपरिपक्क र अदुरदर्शी भएको बताए । उनले नयाँ अन्तर्राष्ट्रिय इस्युका रुपमा सीके राउत उदाएकाले देशभरका जनता सजग हुजुपर्ने बताए । सरकारले हचुवाका भरमा निणय गर्नु हुँदैनथ्यो, सम्झौताले देश भित्रका कैयन समस्याहरू स्वतः ओझेलमा पारेको छ ।’ 

राजनीतिक विश्लेषक दिल शाहनीले विप्लवको नेकपालाई सरकारले पहिले नै प्रतिबन्ध लगाएको भन्दै घोषणा मात्र अहिले भएको दाबी गरे । ‘प्रतिबन्ध लगाउनै आवश्यक थिएन, सीके राउतसँगको सम्झौतालाई डाइभर्ट गर्न विप्लव समूहलाई प्रतिबन्ध लगाएको हो ।’ सरकारले आत्मघाती निर्णय गरेको भन्दै उनले शान्तिपूर्ण गतिविधि गर्न समेत रोक लगाउन नहुने बताए । नेपाली कांग्रेसका क्षेत्र नं २ का क्षेत्रीय सभापति हरि लम्सालले  दुई तिहाइको सरकारले सर्वसत्तावादको रिहर्सल गरेको दाबी गरे ।

व्यक्तिको संगतका भरमा राज्यलाई दुरगामी असर पार्ने गरी निर्णय हुनु गम्भीर विषय भएको भन्दै लम्सालले सीके राउत अमेरिकाले नेपालमा अस्थिरता निम्त्याउन पढाएको एउटा विरुवा भएको टिप्पणी गरे । प्राध्यापक बसन्तराज खनालले सरकारले हतारमा गरेको निर्णय भएकाले फिर्ता गर्नुपर्ने बताए । सरकारले गर्ने कुनैपनि निर्णयहरू संस्थागत नहुने समस्या भइरहेको भन्दै सरकारलाई जनताको पक्षमा काम गर्न आग्रह गरे ।
 

फागुन ३०, २०७५ मा प्रकाशित

प्रकाश आचार्य

प्रकाश आचार्य लोकान्तरका लागि ५ नम्बर प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार