दुई सय र पाँच सय दरका नयाँ भारु नोट नेपाल ल्याउन अनुमति

चैत ३, २०७५

काठमाडौं– भारतले दुई सय र पाँच सय दरका नयाँ नोट नेपाल ल्याउन अनुमति दिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार भारतीय केन्द्रीय बैंक आरबीआईले नेपालको अनुरोधमा सकारात्मक जवाफ दिएको हो ।

यो व्यवस्था लागू भए भारतबाट पैसासहित नेपाल फर्कनेहरूका लागि सहज हुनेछ । तर, नेपाल आइपुगेका नोटहरू के हुने भन्ने सम्बन्धमा भारतले स्पष्ट जवाफ नदिएका कारण यसको तत्काल उपयोगिता देखिएको छैन ।


ADVERTISEMENT

राष्ट्र बैंकले आरबीआईलाई नेपालमा ठूला दरका नोटका सम्बन्धमा चारवटा विषयमा पत्र लेखेको थियो । दुई सय र पाँच सय दरका नयाँ भारतीय नोट नेपालमा ल्याउने सुविधा, नेपालमा आइपुगेका ती दरका नोट फिर्ता लाने व्यवस्था, नेपालका बैंक तथा वित्तीय संस्थाहरूलाई ती दरका नयाँ नोट साट्न अनुमति र भारतले प्रतिबन्ध लगाएपछि नेपालमा थन्किएका पुराना पाँच सय र एक हजार रुपैयाँका नोट साटिदिने व्यवस्थासहितको पत्र लेखिएको थियो । 

नेपालका चारवटा आग्रहमध्ये आरबीआईले पहिलो अनुरोधमा सकारात्मक जवाफ पठाएको छ । अन्य विषयमा भने भारतले स्पष्ट जवाफ दिएको छैन । भारतले सन् २०१६ को अन्त्यमा पाँच सय र एक हजारका भारतीय नोटमाथि प्रतिबन्ध लगाएको थियो ।
 

चैत ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस