कमरेड विप्लवलाई खुलापत्र – जनताको जिउधनको रक्षा होस् !

चैत ४, २०७५

सबैभन्दा खतरनाक काम कुन हो ? विद्रोही शक्तिलाई चिट्ठी लेख्ने काम । त्यसभन्दा खतरनाक काम हो, यस्ता चिट्ठी ओसारपसार गर्ने काम । र त्यसभन्दा नि झन् खतरनाक काम हो, यस्ता चिट्ठीमा के लेखिन्छन्, त्यसको विचार पुर्‍याउने काम । तर यो काम भारतीय टेलिभिजनमा प्रसारण हुने कार्यक्रम ‘खतरों के खिलाडी’ जस्तो त हैन । 

एकबारको जुनीमा धेरै मनुष्यलाई  चिट्ठी लेखियो । सबैभन्दा धेरै त प्रेमिकाहरूलाई लेखियो । तिम्रो माया पाउन भन के गर्नुपर्छ ? आकाशका तारा झारिदिऊँ ? जून टिपेर पो ल्याइदिऊँ कि पनि भनियो । तर त्यस स्तरको पत्र र यस स्तरको पत्रमा धेरै भेद छ । त्यस पत्रमा भावना धेरै हुन्थ्यो । यस पत्रमा विचार धेरै छ । यसो भन्दै गर्दा म आफूलाई महान् वैचारिक दार्शनिक व्यक्तित्वका रूपमा पुष्टि गर्न खोजिरहेको छैन । कुल मिलाएर कुरा शान्तिको चाहनाको हो । शान्तिको अपेक्षाको हो । जासूस विभागका राष्ट्रसेवीहरूले यो पत्र पढ्दै हुनुहुन्छ भने पनि यो बुझ्नुहोला, यो एउटा शान्तिप्रेमीको पत्र हो । 


ADVERTISEMENT

डर लागेर धेरै भूमिका बाँधे जस्तो भयो । तर मलाई डर लागेको छैन । किन डराउनुपर्ने कारण छैन भने यस देशको नागरिक हुनुको नाताले देशमा उत्पन्न परिस्थितिका बारेमा मत जाहेर गर्नु त स्वाभाविकै हो भन्ने लाग्छ । कुन गाउँको कुन ठाउँमा, ओडारमा कि जंगलमा यस चिट्ठीका शब्दहरू पुग्लान् कि नपुग्लान् तर मलाई लाग्छ सार अंश त पक्कै पुग्छ । 

आदरणीय विप्लव दाइ, पक्राउ परिने डरले आफ्नो स्थान परिवर्तन गर्दै हिँडिरहनुभएको छ होला । दिनमा भोक र रातमा निद्रा पनि छैन होला । संघर्षको समयमा यस्तो हुनेगर्छ । फेरि सरकार पूरै प्रतिबन्धमा उत्रिएको छ । तपाईंको आन्दोलन र दस्तावेजमा लेख्नुभएको एकीकृत जनक्रान्तिलाई सेबोटेज गर्न सरकारले सक्दो प्रयास गर्नेछ । बल प्रयोग गर्नेछ । सो अनुरूपको रणनीति तय गर्नेछ । र पक्कै पनि नाभीदेखिको बल निकालेर तपाईंहरू प्रतिकार अनि प्रतिवादमा खडा हुनुहुनेछ ।

यस्तो कठिन अवस्थामा मैले नमस्कार भने पनि, अभिवादन भने पनि त्यस्को खासै महत्त्व हुँदैन । मीठो सम्झना, माया भनेर लेखौं भने यता राज्यको तर्फबाट पक्राउ परिने डर छ । हालसालै केपी ओली सरकारका बफादार मानिसले विप्लव समूहलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सघाउने सबैलाई कारवाही गर्ने शंखघोष गरेको छ । मनमा डर लाग्ने नै भयो ।

लामो युद्धबाट विश्राम लिएको वा युद्धलाई शान्तिमा रूपान्तरण गरेको धेरै भएको छैन । हिजोका घाउहरू ताजै छन् । घाइते अपांगहरूको पीडा यथावत छ । शहीद परिवारका समस्या आफ्नै किसिमका छन् । यस्तो परिस्थितिमा फेरि पनि यस भूमिमा युद्ध नहोस्, काटाकाट मारामार नहोस् भन्ने जनताको आकांक्षा त स्वाभाविक नै रह्यो ।

केही समयअघि तपाईंसँग भेट भएको थियो । शायद १ वर्ष पुग्यो होला हाम्रो भेट भएको । त्यतिखेर तपाईंको बोल्ने शैली र चिजहरू राख्ने तरिकाबाट म सारै प्रभावित भएको थिएँ । त्यतिखेर मलाई के लागेको थियो भने यस देशमा राष्ट्रवादी नेता कोही छ भने त्यो तपाईं नै हुनुहुन्छ  किनभने तपाईंले सिमाना मिचिएको कुराले आफू मर्माहत हुने गरेको बताउनुभएको थियो । विभिन्न असमान सन्धि सम्झौताका विपक्षमा बोल्नुभएको थियो । बहुराष्ट्रिय कम्पनीहरूको लुटको बारेमा आफ्ना धारणाहरू सुनाउनुभएको थियो । मलाई त्यो खुब मन परेको थियो ।

तपाईंको स्वभाव विद्रोही हो, त्यसमा दुईमत छैन । तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धमा तपाईंले कुशल कमान्डरको भूमिका निर्वाह गर्नुभयो, यसमा दुईमत छैन । परिवर्तनका लागि, अग्रगामी निकासका लागि तपाईंले गर्नुभएको उच्च त्याग, तपस्या र बलिदानको जति नै चर्चा गरे पनि कम हुन्छ । तर त्यो संघर्ष जनताको जगबाट नै उठेको हो । र सबै सहयोद्धाहरूको भूमिका बराबर नै रहन्छ । तर कमान्डरको रूपमा तपाईंले युद्धमा जसरी साहस र हिम्मत प्रदशन गर्नुभयो, त्यो चानचुने थिएन ।

त्यसैले नेपालको राजनीतिक परिवर्तनमा विप्लवको भूमिका नै छैन भन्यो भने त्यो भद्दा मजाक हुन्छ । त्यो चेतनाहीन र इतिहासविहीन मानिसले मात्र भन्न सक्छ । संघीय लोकतान्त्रिक गणतन्त्रको यस विशाल घरमा तपार्ई पनि इँटा भनेर उभिनुभएको छ । म त भन्छु, इँटा मात्र हैन खाँबो नै बन्नुभएको छ । तर यस घरसँग तपाईंका केही असन्तुष्टिहरू रहे । र आफ्ना इँटा, खाँबाहरूको माया मारेर अर्को घर बनाउने पहलकदमी लिनुभयो । त्यो तपाईंको राजनीतिक अधिकारको कुरा मात्र हैन, हरेक जनताको अधिकार हो । स्वाभाविक रूपमा अत्याचारका विरुद्ध दमन त हुन्छ नै ।

तर पछिल्लो समयमा नेपाली जनताको मनमा विभिन्न किसिमका डर आशंका र खुलदुलीका ज्वाराभाटाहरू पैदा भएका छन् । अब के हुने हो, कसो हुने हो भन्ने चिन्ता बढेको छ । पक्कै पनि लामो युद्धबाट विश्राम लिएको वा युद्धलाई शान्तिमा रूपान्तरण गरेको धेरै भएको छैन । हिजोका घाउहरू ताजै छन् । घाइते अपांगहरूको पीडा यथावत छ । शहीद परिवारका समस्या आफ्नै किसिमका छन् । यस्तो परिस्थितिमा फेरि पनि यस भूमिमा युद्ध नहोस्, काटाकाट मारामार नहोस् भन्ने जनताको आकांक्षा त स्वाभाविक नै रह्यो ।

जसले जे भने पनि तपाईंहरूको माग राजनीतिक नै हो । यस कुरामा दुईमत छैन । तपाईंको लिगेसी पनि त्यही हो । कुनै अपराधिक पृष्ठभूमि हैन । प्रधानमन्त्री ओलीले भने जस्तै तपाईंको समूहलाई लुटेरा भन्न मिल्दैन । त्यो अराजनीतिक विचार हो । देशलाई मुठभेडमा लैजाने निरंकुश प्रवृत्ति हो । तर तपाईंको पार्टीले भ्रष्टाचारी र दलालहरूलाई कारवाही गर्ने नाममा सार्वजनिक स्थानमा बम पड्काउने काम गर्दा जनता आतंकित भएका छन् । तपाईंलाई अवगत नै होला, एनसेलको कार्यलयमा प्रेसर कूकर बम पड्काउँदा एकजना सर्वसाधारणको ज्यान गयो ।  यो दुःखको कुरा हो । यस घटनाले जनता आतंकित भएका छन् भने सरकार पनि आक्रोशित  छ । 

तपाईंलाई थाहा नै होला, तपाईं नेतृत्वको पार्टीका गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएको छ । हतियार बुझाउने समय ताकेता गरेको छ । सरकारको यस्तो कदमबारे हरेक क्षेत्रमा बहस जारी छ । कतिपय बहसहरू तपाईंको पार्टीको पक्षमा देखिएका छन् । तपाईंको विचारको पक्षमा पनि देखिएका छन् । यसो भन्दै गर्दा राज्य र तपाईंहरूको टकरावले मुठभेड ननिम्तियोस् भन्ने हो किनभने मुठभेडले क्षतिको विशाल पहाड निर्माण गर्छ । र यस पहाडमा नेपाली जनता सुखदुःखले जीवन धानेका छन् ।

काठमाडौं र शहरहरूमा सुरक्षा राम्रो छ । तर विकट बस्तीहरूमा कति मुश्किल छ, त्यो अनुमान गर्न सकिन्छ । यसको अर्थ तपाईंको पार्टीले गलत गरिरहेछ भन्न खोजेको हैन तर राज्यको अहंकारी कदमका प्रति तत्काल जवाफ दिने र रणनीति बनाउने भन्दा पनि उच्च विवेकको प्रयोग गरेर सकभर हतियारको प्रयोग नगरेर राजनीतिक निकास दिनुहुनेछ भन्ने अपेक्षा छ । परमाणु हतियारका ठूला शक्तिको कमानमा रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका शासक किम जोङ–उनसँगै वार्तामा बस्न सक्छन् भने तपाईं र केपी ओलीले समेत वार्तामार्फत समस्याको समाधान गरे हुन्थ्यो ।

विचारको लडाईंमा हतियारको प्रवेश नगराउँदा लोकवासीहरूको नजरमा तपाईं धन्य हुनुहुनेछ ।

यसो भन्दै गर्दा वार्ता कुन मुद्दामा केका लागि अनि किन भन्ने कुरा प्रधान हुन आउँछ । तपाईंहरूको राजनीतिक मार्ग स्पष्ट नै छ । तर यो संसदीय व्यवस्थाको विकल्प तत्कालै कसरी निकाल्ने होला जब कि संविधानको व्यवस्थापकीय काम अझै बाँकी छ । संघ, प्रदेशको फर्मेसन पूरा भएको छैन । सरकारभित्र र बाहिरका  केही तत्त्वहरू अनि देशी विदेशी एजेन्सीहरू प्राप्त उपलब्धि धर्मनिरपेक्षता, संघीय लोकतान्त्रिक समावेशी नेपाललाई नै उल्ट्याउने प्रयास गरिरहेका देखिन्छन् । यस्तो परिघटना क्रान्तिकारीहरूले छिटो थाहा पाउनुपर्ने हो । विप्लवजीलाई त झन् थाहा हुनुपर्ने हो । 

तर तपाईं पनि एउटा विचार बोकेर हिँड्नुभएको छ । राज्यले कस्तो धारणा तय गर्छ तपाईको पार्टीउपर, त्यो आम जनताको धारणा हैन । जनताको धारणा यही हो कि अब फेरि यो वा त्यो बहानामा युद्ध नहोस् । जनधनको रक्षा होस् । तपाईंहरू आफ्नो योजना र विचारबाट पछि नहट्ने अनि सरकारले वार्ता भन्दा पनि बल प्रयोगमार्फत ठेगाना लगाउँछु भन्ने । अहिले धरपकड पनि व्यापक भएको छ । नेपाल बन्द नै गर्नुभयो । जनतालाई नै सास्ती भयो । राज्यले आफ्नो सक्रियता देखाउने नाममा बल प्रयोग गर्ने सम्भावना छ । राज्यले बल प्रयोग गर्दा तपाईंहरूको हातमा पक्कै दही जम्दैन होला । 

त्यसैले, यस्तो किसिमको मनोदशाबाट हामीले दैनिकी  गुजार्नुपरेको छ । राज्यपक्ष र विद्रोही पक्षले कतिखेर के गर्छन् भनेर त्रास छ । सबैले तपाईंको पार्टीले कस्तो कदम चाल्छ भनेर नियालिरहेका छन् । आम नेपाली जनताको शान्तिप्रतिको चाहनालाई यो वा त्यो बहानामा बर्बाद नगरे राम्रो हुन्छ कि भन्ने लाग्छ । विचारको लडाईंमा हतियारको प्रवेश नगराउँदा लोकवासीहरूको नजरमा तपाईं धन्य हुनुहुनेछ ।

चैत ४, २०७५ मा प्रकाशित

दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस