'डुक केटीएम' बाइक चोर्ने चारजना पक्राउ

चैत ३, २०७५

काठमाडौँ- मेलम्चीको जुगल गाउँपालिका–५ ढाडेस्थित प्रहरीचौकी तेम्वाथानबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सुराकीका आधारमा चोरीको मोटरसाइकलसहित चारलाई शुक्रवार नियन्त्रणमा लिएको छ । 

काठमाडौँबाट कालो रङ्गको केटिएम डुक मोटरसाइकलको नम्बरप्लेट परिवर्तन गरी चोरी गरी ल्याएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जुगल गाउँपालिका–४ का ३९ वर्षीय अमर सापकोटा, दोलखा सिङ्गटीका २१ वर्षीय सुजन गुरूङ, दोलखाकै नामदु गाउँपालिकाका २० वर्षीय विनोद गहतराज र सोही जिल्लाको भिमेश्वर नगरपालिका–१ का १९ वर्षीय विशाल तामाङ रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए । 

पक्राउ पर्नेलाई नियन्त्रणमा लिई सोधपुछको गर्ने क्रममा उक्त मोटरसाइकल काठमाडौँको पशुपति क्षेत्रको पार्किङस्थलबाट चोरी गरी ल्याइएको खुलेको हो । बा९२प ९६९ नंको २०० सिसीको मोटरसाइकको नम्बरप्लेट परिवर्तन गरी बा९८प ५३२५ नं बनाई ल्याएको अवस्थामा निजहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेको मोटरसाइकलसहित चारैलाई महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौँमा शनिवार थप अनुसन्धानका लागि पठाइएको प्रहरीले जनाएको छ । 

 


ADVERTISEMENT

चैत ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार