कांग्रेसले गठन गर्‍‍याे अपुरो अनुशासन समिति, केन्द्रीय समिति सदस्य भन्छन्- 'बैठक बसेको मलाई थाहा छैन'

चैत ४, २०७५

काठमाडौँ - नेपाली कांग्रेसले सर्वसम्मत अनुशासन समिति गठन गरेको छ । सोमवार साँझ बसेको केन्द्रीय समितिको बैठकले भीष्मराज आङदाम्बेको संयोजकत्वमा किशोरसिंह राठोर र देवेन्द्रराज कंडेल सदस्य रहने गरी अनुशासन समितिको गठन गरेको कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले बताए ।

दिउँसो ११ बजे बस्ने भनिएतापनि ढिलो गरी शुरू भएको बैठकले ३ सदस्यीय अनुशासन समिति गठन गरेको हो । नेपाली कांग्रेसको विधानको धारा ३४ (४) अनुसार समिति गठन गरिएको हो । तर अनुशासन समितिमा संयोजकसहित ५ जना रहने व्यवस्था छ । थप २ जना पछि थप्ने पौडेलले बताए ।


ADVERTISEMENT

केन्द्रीय समिति बैठक बस्नुअघि सहमतिका लागि शीर्षनेताहरू गोप्य बैठक बसेका थिए । गोप्य बैठकमा सभापति शेरबहादुर देउवासँगै बरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि लगायतका नेताहरू थिए । दिउँसो ३ बजेसम्म बैठक बस्ने नबस्ने बारेमा केही टुंगो लागेको थिएन ।

तर कांग्रेसका एक केन्द्रीय सदस्यले भने बैठक नै नबसेको दाबी गरे । 'शीर्ष नेताहरूले अनुशासन समितिको बारेमा सहमति जुटाउनुभएको हो तर बैठक बसेको मलाई थाहा छैन,' उनले लोकान्तरलाई भने, 'भोलि(मंगलवार) बैठक बसेर सर्वसम्मतिले निर्णय गरिनेछ ।'

तर मुख्यसचिव पौडेलले बैठक बसेर सर्वसम्मतले गरेको निर्णय भनी जानकारी गराएका छन् । बैठक बसेको हो कि नबसेको भन्नेमा मुख्य सचिवको र केन्द्रीय समिति सदस्यको कुरा बाझिएको छ ।

 

 

चैत ४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस