पोलेको मकै व्यापारले धानेको सानुमायाको खुशी

चैत ७, २०७५

काठमाडौं – ललितपुरको पुल्चोक सडकका सवारीसाधनको कोलाहलले भरिपूर्ण छ । मान्छे ओसार्ने माइक्रोको सहचालकले घरी ‘माइतिघर–भद्रकाली रत्नपार्क’ घरी ‘एकान्तकुना–बल्खु आवाज घन्काइरहेका छन् ।

धुलो आफ्नै हिसाबले बेहिसाब उडिरहेको छ, छिनछिनमा धुलोमा कालो धुँवा मिसिन्छ अनि नमिठो र कर्कश बास्नाले नाक चुम्न आइपुग्छ ।


ADVERTISEMENT

सडकपेटीमा सबै यात्रुहरू आ–आफ्नै धुनमा छन्, अनि आफ्नै गन्तव्यमा हिँडिरहेका छन् । सडक दायाँबायाँ किनारामा सटरभित्र व्यवसाय गर्नेहरू आफ्नै व्यवसायमा मस्त छन् ।

टाउको माथि घुमाउँदा चोकको एउटा कुनामा गज्याङगुजुङ माकुरे जालोजस्तै तार जेलिएको देखिन्छ । तारमुनि सडकको धूलो र आफैंले फुकेको धुवाँको बीचमा १ जना अधवैंशे महिला मकै नंग्याइरहेकी छिन् । लहरै सुनको जलप लगाएका दाँतजस्तै देखिने केही थान मकैका घोंगा पोलेर ‘क्रेट’माथि बिक्रीमा राखेकी छिन् ।

नुवाकोटको घोस्याङ्ग–३ की सानुमाया तामाङ उपत्यकामा आएर मकै बेच्न थालेको ८ बर्ष भइसक्यो । पति र उनका २ छोरा ललितपुर मंगलबजारमा बस्दै आएका छन् । पैसा कमाउने र सुखी परिवार बनाउने सपनामा तामाङ र उनको परिवार उपत्यकामा आएको हो ।

कहिले थोक बजारबाट, कहिले किसानको बारीमा नै पुगेर उनले काँचो मकैका घोंगा किनेर ल्याउँछिन् । बिहान खाना खाइसकेपछि सधै डोकोभरि मकै बोकेर यहीँ पुलचोकमा आउँछिन् उनी । सानुमायाले कहिलेकाहीँ ठाउँ फेरे पनि मकै बेच्ने काम भने नियमित गरेकी छिन् । 

सानुमायाका पति घर बनाउने मिस्त्री काम गर्छन् । अचेल जेठो छोराले पनि काम गरेर आम्दानीमा सघाउन थालेको छ । सानो छोरा भने स्कूल पढ्न जान्छ । ‘हामी तामाङको खाने पिउने बानी जान्नुभएकै छ नि ! अनि पैसा त कसरी बच्छ र ?’ सानुमायाले मुस्कुराउँदै भनिन् ।

गत सालसम्म काँचो मकैको मूल्य सस्तो थियो । मकैबारीमै गएर किन्दा किसानले ११ रुपैयाँसम्ममा दिन्थे । तर १ साल यता किसान र थोक व्यापारीले काँचो मकैको मूल्यमा वृद्धि गरे ।

‘मकैको खरिद मूल्य बढेको भएपनि बिक्री मूल्यमा भने वृद्धि नभएकाले कमाइ घटेको छ,’ सानुमाया भन्छिन् । अहिले काँचो मकै खरिद गर्दा थोक व्यापारीसँग १९ र किसानको बारीमा १६ रुपैयाँ पर्छ । ग्राहकले पोलेको मकै ३० रुपैयाँमा किन्छन् । सामान्यतया दैनिक ५०–६० वटा मकै बिक्री गर्छिन् सानुमायाले । यसबाट दैनिक ४ सयदेखि ५ सय रुपैयाँ मात्रै आम्दानी हुने गरेको सानुमाया बताउँछिन् ।

हरेक वस्तुको बजार मूल्य बढिरहेको छ । उपत्यकाभित्रको बसाइ महंगो छ अचेल । तर आम्दानी भने बढेको छैन । ‘दिनभरि धुवाँधुलोसँग जुधेर मकै बेचेको पैसाले साँझ–बिहान छाक टार्न धौ–धौ हुन्छ । हुरी आउँदा काम गर्न अप्ठ्यारो हुन्छ, पानी पर्दा त व्यवसाय नै हुँदैन,’ सानुमाया गुनासो गर्छिन् ।

‘अहिलेलाई आफूले गर्न सक्ने अन्य कुनै काम देखेकी छैन,’ सानुमाया भन्छिन्, ‘हुन त हाम्रो गाउँमा गरेदेखि जे पनि हुन्थ्यो पहिला । भूकम्प गएपछि गाउँमा पानीका स्रोतहरू पनि सुकेका छन् । अब पहिलाझैं खेती गरेर खान गाह्रो छ । मकै पोल्ने काम गर्दै जाउँ क्यारे अहिलेलाई, भोलि जे पर्छ त्यहीँ गरौंला ।’

‘बाटोमा बसेर मकै पोलेर बस्ने, पैसा कमाउनु पनि छैन !’ सासुआमाले उनलाई भन्ने गर्छिन् । ‘यसरी बाटोमा मकै पोलेर बसेको उहाँले रुचाउनुहुन्न,’ डढन लागेको मकै अर्कोतर्फ फर्काउँदै सानुमायाले भनिन् ।

उमेरले ३८ वर्ष भइसकेकी सानुमाया तामाङ १५ वर्षकै उमेरमा काठमाडौंमा गलैचा बुन्ने कामका लागि आएकी थिइन् । सँगै काम गर्ने पतिसँग उनको १५ वर्षको उमेरमा विवाह भएको थियो । ‘जीवन फेरिएला भनेर काठमाडौंमा १५ वर्षभन्दा बढी दुःख गरिसक्यौं तर खान बस्न मात्रै ठिक्क छ,’ उनको गुनासो छ, ‘पहिलेजस्तो थियो अहिले पनि उस्तै ।’

यतिधेरै दुःख गर्दा पनि सानुमायाको परिवारको जीवनस्तरमा सुधार भएको छैन, यद्यपि उनलाई आफ्नो जीवनप्रति कुनै गुनासो पनि छैन ।

हँसिली, इमान्दार र परिश्रमी सानुमायाहरू समयसँगै दौडिरहेका छन्, समयसँगै शहर पनि फेरिइरहेको छ । गाउँबाट सुनौलो सपना बोकेर शहर छिरेका उनीजस्ता धेरै सानुमायाले इमान्दारीतापूर्वक मेहनत त गरेका छन्, तर दौडिरहेको समयको पदचाप पछ्याउन उनीहरूलाई गाह्रो छ । प्रत्येक पलमा पछि परिरहेका छन् । 

सपना देख्ने आँखालाई धुलो धुवाँले छपक्कै छोपेको छ, उनीहरूले बोल्ने आवाज शहरी कोलाहलमै मिसिएको छ । सानुमायाको कुरा सुन्दा सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ नारा आधा कार्यान्वयन भएकोजस्तो देखिन्छ । उनी समृद्ध छैनन् तर सुखी छिन् ।

चैत ७, २०७५ मा प्रकाशित

नारायण अर्याल

अर्याल लोकान्तर संवाददाता हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार