पश्चिम तराईको ‘ढुरहेरी’ : जैविक रंगले मनाइने होली

चैत ७, २०७५

मुलुकको अन्य क्षेत्रजस्तै पश्चिम तराई बिहानैदेखि ढुरहेरीमय अर्थात् रंगिन बनेको छ । उसो त विधिवत् शुरूवात हुनुभन्दा २ दिन अगावैदेखि तराई क्षेत्रमा होलीको उल्लास छाएको छ ।

स्कूले तथा कलेजका विद्यार्थी आपसमा रंगिँदै होलीको उल्लास बढाए । बहुसांस्कृतिक, बहुजातीय नेपाली समाजमा आ–आफ्नै मौलिक विधिबाट फागुन चर्तुदर्शी (बुधवार) को बेलुका चीरदहन र बिहीवार बिहान कूल तथा मूल देवतालाई फागुवाई तथा पूजापाठ गरेपछि ढुरहेरीमय भएको हो ।


ADVERTISEMENT

हिन्दू धर्मको सर्वव्यापी मान्यता अनुरुप असत्य तथा अत्याचारमाथि सत्य र इमान्दारिताको जीतको प्रतीक हो होली । भगवान् विष्णुको भक्त प्रह्लाद आफ्नो बुवा हिरण्यकश्यपको घमण्डमाथि विजय प्राप्त गरेको प्रसंग तथा प्रह्लादकी फुपु होलिकाले ब्राह्माबाट नजल्ने पाएको बरदानको गलत प्रयोगले होलिका जलेको होलिको धार्मिक मान्यता हो ।

पश्चिम तराईका आदिवासी थारू समुदाय पनि हिन्दू धर्मका अनुयायी हुन् । यो समुदायमा पनि विजयको उत्सवको रुपमा होली पर्व मनाइँदै आइएको छ । यद्यपी यो समुदायमा होली अर्थात् ढुरहेरी मनाउने आफ्नै मौलिक तौरतरिका रहँदै आएको छ । यहाँनिर सवाल उठ्न सक्ला – थारू समुदायमा होलीलाई ‘ढुरहेरी’ किन भनिन्छ ?

वास्तवमै थारू समुदाय आदिवासी भएको यो रंगको पर्वले पनि पुष्टि गर्छ । रंग अविरको उत्पत्ति आधुनिक युगमा आएर मात्रै भएको हो । रंग रविर नभएको कालखण्डमा कसरी होली पर्व मनाए भन्ने पाटो पनि प्रमुख हो । थारू बुढापाकाकै भनाईलाई आधार मान्ने हो भने थारू समुदायमा चामलको पिठो, धुलो, खरानी, माटो आपसमा दलेर पर्व मनाएको देखिन्छ । त्यसकारण पनि धुलो–माटो दलेर मनाइएकाले यस पर्वलाई थारू समुदायमा ढुरहेरी रहन गएको पुष्टि हुन्छ ।

मनाउने विधि

पश्चिमी थारु समुदायमा होली पर्व ३ दिन मनाइन्छ । पहिलो दिन अर्थात् पूर्णिमाको दिन चीरदहन गरिन्छ । चीरदहनको विधि पनि यस समुदायमा आफ्नै मौलिक तौरतरिका रहिआएको छ । यस दिन थारू वस्तीका गुरुवा देशबन्ध्या तथा भलमन्साहरूले विशेष पूजाको तयारी गर्नुपर्ने हुन्छ ।

यसैबीच गाउँका सदस्यहरूले आफ्नो क्षमता अनुसार चामल र खानेतेल संकलन गरी चामलको पिठो बनाउने गर्दछन् । जुन पिठोमा मिठाई मिसाएर तेलमा तरेको रोटी (झझरा) बनाउनुपर्ने हुन्छ । उक्त रोटीलाई प्रसादको रुपमा प्रयोग गरिने प्रचलन पनि छ ।

चीर बनाउनको लागि नजिकको जंगलबाट सिमलको हाँगा या रेंर (एक प्रकारको वनस्पति) काटेर ल्याउनुपर्ने हुन्छ । साँझपख जब गाईभैसीहरूलाई घारी (गोठ) मा भित्र्याइन्छ, तब गाउँको दक्षिण दिशामा उक्त सिमल या रेंरको हाँगा गाडिन्छ । जसको माथि तोरीको डाँठ, पराल, खर थुपारिन्छ । त्यसपछि गाउँका प्रमुख भलमन्सा तथा चिराकीले विधिपूर्वक पूजा गरी थुपारिएको खरमा आगो लगाउँछन् । त्यसक्रममा गाउँका युवा तथा बुढापाकाले लामो लठ्ठीमा गोबरको गुइठा (कन्डा) गुठेर लगेका हुन्छन् । उनीहरू बलिरहेको आगोमा गुइठा जलाउने गर्छन् ।

होलिकाको प्रतिमाको स्वरुप तथा चीरदहन गर्ने अवधि निकै नै हर्षोल्लासपूर्ण रहेको हुन्छ । कोही आफ्नो लाठीमा गुठेर लगेको गुइठामा आगो लगाउने क्रममा हुन्छन् भने कोही ढुंगा, माटोले गुइठालाई हानेर खसाल्ने गर्नुको साथै दनदनी बलिरहेको आगोलाई निभाउने पनि गर्छन् । यसरी ढुंगा माटोले जलिरहेको वस्तुलाई हान्नुको तात्पर्य दुष्ट होलिकालाई कुटीकुटी जलाउनु अर्थात् पृथ्वी लोकबाट होलिका प्रवृत्ति सधैंको लागि नाश होस् भन्ने पनि हो । जब सबै जना घरबाट लगिएको गुइठामा आगो लगाइसक्छन्, तब तेलमा पकाइएको झझरा प्रसादको रुपमा आपसमा बाँडेर खाई आगो लिएर घर फर्कन्छन् । गुइठा रहेको आगोलाई यस समुदायमा नयाँ आगोको रुपमा लिइन्छ । पछि उक्त आगोलाई आ–आफ्ना कूल देवतालाई चढाउने तथा उक्त आगोमा विभिन्न परिकार बनाई देवतालाई पुज्ने पनि गरिएको पाइन्छ । तर पहिलो दिन रंग अविर भने दल्न नपाइने प्रचलन रहिआएको छ ।

दोस्रो दिन बिहानै चीर ‘बुटैना’ अर्थात् सेलाउने गरिन्छ । सेलाउनको लागि गएका गाउँलेहरूले लोटा या गिलासमा पानी लगेर गएका हुन्छ । उनीहरूले कुशको कुचो बनाई त्यहीँ कुचोको मदतले जलेको वस्तु या होलिका प्रतिमामा पानी छ्याप्ने गर्दछन् । यसरी चीर बुटाउने कार्य सकिएपछि गाउँलेहरू गाउँभरीको साझा देवता अर्थात् देवथनुवामा जान्छन् । थनुवामा विराजमान रहेका देवीदेवतालाई विधिपूर्वक पूजाआजा गरिसकेपछि आपसमा रंग अविर दलेर होली पर्वमा रंग दल्ने कार्यको शुरूवात हुन्छ । जसलाई नै थारू समुदायमा फागुवाइना अर्थात् आफ्ना देवताबाट होली खेल्नको लागि अनुमति माग्नु पनि हो । त्यसपछि दिनभरी रंग अविर दलेर हर्षोल्लासपूर्वक होली पर्व मनाइन्छ । 

यो समुदायले होली मनाउने फरक तरिका अपनाउँदै आएको छ । यहाँसम्म कि थारू समुदायले होलीको दोस्रो दिन मनाइरहँदा नै अन्य समुदायमा होली सम्पन्न भइसकेको हुन्छ । तर यो समुदायमा अझै १ दिन बाँकी नै हुन्छ । 

जसको तेस्रो दिन हिलो, माटो आपसमा छ्यापेर मनाउने गरिन्छ । तेस्रो दिनको होली सदियौंदेखि अराजक तथा खतरापूर्ण रुपमा देखा पर्दै आएको छ । यो दिन हिलो, खरानी, कडा रंग, फोहोर पानी, जलेको तेल समेत प्रयोग हुने हुँदा अराजक तथा खतरापूर्ण देखिएको हो । यद्यपि कतिपय थारू बस्तीमा दोस्रो दिन हिलो, माटो र तेस्रो दिन रंग अविरको प्रयोग पनि गरिएको पाइन्छ ।

सकारात्मक पक्ष

होली अर्थात् धुरहेरी पर्वको एउटै उद्देश्य असत्यमाथि सत्यको जीतको उत्सव हो । यस पर्वमा वर्षौदेखि टाढिएका इष्टमित्र तथा चेलिबेटीलाई आमन्त्रण गरिएको हुन्छ । जसले गर्दा आपसी सुख–दुःख साटासाट हुनुको साथै भाइचाराको सन्देश पनि प्रवाह हुने गर्दछ । अर्कोतिर सामूहिक रुपमा पर्व मनाउने प्रचलनलाई एकताको सन्देशको प्रतिकको रुपमा लिन सकिन्छ । यसैबीच होली पर्व मनाउने क्रममा युवा युवतीको आ–आफ्नै समूह रहेको हुन्छ ।

जुनक्रममा तिनीहरूले परम्परागत पोसाकमा सजिएर मादल, दफ लगायत बाचागाजा साथ फागुवा पह्रर्ना अर्थात् घरघरमा गई नाचगान गर्ने र ठूलावडासँग आर्शिवाद लिई अन्न, पैसा लगायत सक्दो सहयोग रकम संकलन गर्ने गर्दछन् । जसले गर्दा संस्कृति संरक्षणमा टेवा पुगेको देखिन्छ ।

नकारात्मक पक्ष

यस पर्वमा नकारात्मक पक्ष पनि हावी छ । जुनकारण यस पर्वलाई थारू समुदायमा सबभन्दा कान्छो, फोहोरी र छिनार (उच्छृंखल) पर्व भन्ने गरिन्छ । यसैबीच महिला हिंसाको घटना पनि उत्तिकै घट्ने गरेको पाइन्छ । कतिपय मादक पदार्थ सेवन गरेका समूहहरूले जबर्जस्ती महिलाको इच्छाविपरीत रंग अविर दल्ने,  गोप्य अंगमा हात लगाउने गरेको घटना पनि बाहिर नआएका होइनन् । जसले गर्दा यस पर्वले यौन हिंसा पनि बढाएको देखिन्छ । साथै लगाएको बहुमूल्य गरगहना हराउने, लुटिने सम्भावना पनि उत्तिकै हुन्छ ।

छालालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा हानी पुर्याउने रंग, माटो, जलेको तेल, मोबिल लगायत पदार्थ प्रयोग गरिने हुँदा तत्कालीन र दीर्घकालीन विभिन्न शारीरिक तथा मानसिक समस्या देखिने गरेको छ । 

अन्त्यमा

पर्वको सन्देश असत्यमाथि सत्यको विजयको तथा भाइचाराको प्रतिक भएकाले यसै मुताविक पर्वलाई मनाउनु पर्दछ । जोशमा होस नगुमाई आफ्नो क्षमताले भ्याएसम्म सभ्य र भव्य तरिकाले अरुलाई असर नपुर्याउने गरी पर्वलाई मनाउनु नै पर्वको सार्थकता झल्किन्छ ।

चैत ७, २०७५ मा प्रकाशित

लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि प्रदेश नम्बर ७ का प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस