दुर्लभ 'बाघ' हुन् प्रचण्ड, माछा जस्तो बल्छीमा पर्दैनन् !

चैत १०, २०७५

बर्दिया राष्ट्रिय निकुञ्जमा कहिलेकाहीँ दुर्लभ पाटेबाघ देखिन्छ भन्छन् । होला र त भनेका होलान् । यो दुर्लभ पाटेबाघ देखिएपछि वन्यजन्तु हेरचाह गरेर बसेका मनुष्य बडो हल्लाखल्ला गर्छन् । एकबारको जुनीमा तिनको सम्पूर्ण अनुसन्धानको काम फत्ते भएजसरी ती एकआपसमा हर्षबढाइँ गर्छन् । नेपालमा चुरेको ८ सय मिटरसम्म मात्र पाटेबाघ पुगेको रेकर्ड छ । तर यो दुर्लभ पाटेबाघका आहार, आनीबानी र तिनको वासस्थान सधैं एकनासको भने हुँदैन । 
दुर्लभ पाटेबाघको शरीरमा विज्ञ मनुष्यहरू क्यामरा झुण्ड्याएर दैनिक निगरानी गर्न लालायित हुन्छन्, जियोग्राफी र डिस्कभरी च्यानलमा जस्तो । मलाई ती च्यानलहरूमा बाघले मृग लखेटेको बडो मन पर्छ । आहाराका लागि संघर्षका कथाव्यथा त्यहाँ देख्न पाइन्छ । के मनुष्य जातिहरूको संघर्ष वन्यजन्तुको भन्दा कम संघर्ष छ त ? अधिकारका निम्ति, स्वतन्त्रताका निम्ति र दासत्वबाट मुक्त हुनका निम्ति ।

पंक्तिकारको एकसरो पगरी गुथेको मलाई के लाग्छ भने नेपालको राजनीतिमा प्रचण्ड भन्ने जिनिस दुर्लभ पाटेबाघ हुन् । जनताको न्याय, नागरिक सर्वोच्चता, जनताको शासन र जनताको मौलिक हकका निम्ति उनले आफ्नो जीवनयात्रमा थुप्रैपटक क्रमभङ्ग गरेका छन्, छलाङ मारेका छन्, नियमिततामा आकस्मिक निर्णय गरेर चमत्कारपूर्ण कदमहरू चालेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको गजमा सबैभन्दा धेरै इँटा कसैले राखेको छ भने प्रचण्डले राखेको छ । 


ADVERTISEMENT

प्रचण्ड अर्थात दुर्लभ पाटेबाघ यसपटक अमेरिकाको यात्रामा निस्कियो । केही समयअगाडि उसले भेनेजुएला मामिलामा अमेरिकालाई ललकारेको थियो । के पाटेबाघ गर्जिन कुनै आइतवार पर्खिनुपर्छ र ? जतिबेला उसलाई गर्जिनुपर्छ भन्ने हेक्का हुन्छ, ऊ एक गर्जिन्छ, दुई गर्जिन्छ, तीन गर्जिन्छ । उसको मुख कुनै माईकालालले थुन्न सक्दैन । तर पाटेबाघ देखेर अमेरिकामा रहेका केही नेपालीमूलका पर्यटकहरूको (पर्यटकहरू यस अर्थमा कि उनीहरू नेपालमा कुलपूजा गर्न भिजिट भिसामा आउँछन्) मन लोभियो । र उतै समातेर चिडियाखानामा राख्ने फुटकर कदम चाले । तर तिनलाई थाहा थिएन यो पाटेबाघको हुँकार सुनकोशीको माछाले चारा खोज्दै बल्छीमा झुण्डिन आए जस्तो हैन । पत्नी सीता दाहाल अर्थात् प्यारी बघिनीको उपचारका लागि उनको अमेरिका उडान पूर्वप्रधानमन्त्री र नेपालको सबैभन्दा ठूलो पार्टी नेकपाको अध्यक्षको हैसियतमा थियो ।

अमेरिकाले दाबी गरेजस्तै ऊ विश्व शान्ति चाहन्छ भने संयुक्त राष्ट्रसंघको प्रत्यक्ष निगरानीमा सम्पन्न भएको तत्कालीन नेकपा माओवादीको सेना तथा हतियार व्यवस्थापनबारे उसले आफ्नो भूमिकाको जस लिन्छ नै र यसका लागि प्रचण्डको प्रशंसा पनि सँगसँगै गर्छ ।

उनी मेक्सिकोको बाटो हुँदै दर्जनौं दिन जंगलको बाटो हिँडेर मानव तस्करहरूको साथमा लागेर लुकीलुकी अमेरिका छिर्ने प्रयास गरिरहेका थिएनन् । उनी कलाकार र पत्रकारको भेषमा त्यहाँ पुगेर शरणार्थीको आवेदन दिन हिँडेका पनि थिएनन् । तत्कालीन माओवादीले कुटेको भन्दै बाटोमा हिँड्दा पल्टेर लागेको चोट देखाउन फर्जी कागजातसँग त्यहाँ जान लागेका पनि थिएनन् । 
अरे यार, प्रचण्ड अमेरिका जान कसलाई सोध्नुपर्ने ? कसको अनुमति लिनपर्ने ? कसको निगाहा बक्स हुनुपर्ने ? उनी बगैंचाको फूलमा जल चढाउनका लागि गएका हैनन्, पेट्रोल पम्पमा बिजुलिको खम्बा जस्तो उभिएर पेट्रोल हाल्नका लागि वा कुनै रेस्टुरेन्टमा चिकन पिज्जा बेच्नका लागि पनि अमेरिका गएका हैनन् । वास्तवमा उनी एउटा राजनीतिक र कूटनीतिक अभीष्ट लिएर अमेरिका हान्निएका हुन् । अमेरिकाकै आग्रहमा उनले उडान भरेका हुन् । सामाजिक सञ्जालमा लोतेपोते कुरा गरे जस्तो हैन, रणनीतिक तथा राजनीतिक उद्देश्यका लागि उनी अमेरिका गएका हुन् । अर्को कुरा जानै नहुने अमेरिका कसको पिताजीको बिर्ता हो र ?

प्रचण्ड अमेरिका उड्नुभन्दा अघिल्लो दिन उनको निवासमा पुगेर भेट्ने अवसर यस पंक्तिकारलाई मिलेको थियो । नेपालको सम्पूर्ण राजनीतिक परिवर्तनसँग खुशी नभएका केही नेपाली मूलका अमेरिकीहरूबाट आफूलाई सामान्य विरोध वा असहज स्थिति निम्तिन सक्ने आँकलन प्रचण्डले राम्रोसँग गरेका थिए । त्यस्ता किसिमका सूचनाहरू प्राप्त पनि भएका थिए । तर अमेरिकी सरकारको तर्फबाट र नेपालस्थित अमेरिकी दूतावासबाट सबै किसिमका कानूनी, रणनीतिक तथा राजनीतिक प्रक्रिया पूरा गरेपछि प्रचण्ड अमेरिका गएका हुन् । यतिसम्म कि अमेरिकी राजदूत स्वयं खुमलटारस्थित निवासमा आएर प्रचण्डको अमेरिका भ्रमणको सम्पूर्ण सहजीकरण गरिदिएका थिए ।

अमेरिकामा प्रचण्डविरुद्ध एकजना मनुष्यले एउटा आतंककारी यतै घुम्दैछन्, मलाई कहाँ उजुरी गर्नुपर्ने हो थाहा छैन भन्दै एकदम चेपारो घसेर केही रिफ्रेन्सका साथ ईमेलमार्फत उजुरी गरेर आफू खाँटी शरणार्थी हुनुको धर्म निर्वाह गरेछन् । तर अमेरिकामै रहेका पत्रकार किशोर पन्थीका अनुसार, एफबीआईकै सेक्युरिटी क्लीयरेन्सपछि भिसा प्राप्त गरेर अमेरिका आएका प्रचण्डविरुद्ध एफबीआईमा उजुरी हालेको भन्दै बकबास गर्नुको कुनै अर्थ थिएन । बरू गलत नियतवश कसैको विरुद्ध उजुरी दिँदा यूएस कोड सेक्सन १००१ को टाइटल १८ अनुसार उजुरी दिने व्यक्तिलाई नै जेल, जरिवाना वा दुवै सजाय हुनसक्ने उनको तर्क थियो ।

प्रचण्ड को हो अमेरिकाले राम्रोसँग चिनेको छ । प्रचण्डको विगत पनि अमेरिकालाई थाहा छ । र वर्तमान पनि थाहा छ । त्यसैले प्रचण्डसँग अमेरिकाले सहकार्य गरेको छ । हो, केही नजिरहरू पक्कै छन् जस्तो कि गुजरातको मुख्यमन्त्री रहेको समयमा नरेन्द्र मोदीलाई अमेरिकाले भिसा दिएको थिएन किनभने उनलाई गुजरातमा भएको साम्प्रदयिक दंगाको भागीदार रहेको दाबी गरिएको थियो । भलै त्यो पुष्टि हुन सकेन तर मोदीप्रति अमेरिकाको शंका कायम थियो । तर मोदी प्रधानमन्त्री निर्वाचित भएपछि अमेरिकाले उनलाई भव्य स्वागत गर्‍यो ।  रातो कार्पेट बिछ्याएर संसदमा सम्बोधन गरायो । पूरै संसद् मोदीको सम्मानमा पटकपटक जुरुक्कै उठ्यो । त्यसैले राजनीतिमा कोही स्थायी र अस्थायी दुश्मन हँुदैनन् भन्ने बुझ्नुपर्छ ।

अब जनधनको क्षतिको कुरा गर्ने नै हो भने अमेरिकाले अहिलेसम्म जित हासिल गर्न नसकेको अफगान युद्धमा कति बालबालिका, महिला, डाक्टर र नर्सहरू मारिए ? सिरियाकै कुरा गरौं, आकाशबाट बम खसाल्दा त्यहाँ आदिवासीका बस्तीहरू, प्राचीन कालका सम्पदाहरू पूरै ध्वस्त भएका छन् । अब अमेरिकालाई के भन्ने ? संसारमा सबैभन्दा धेरै हतियार बिक्री अमेरिकाले नै गर्छ ।  सेल्फ डिफेन्सको नाममा त्यहाँका नागरिक खुलमखुला हतियार बोकेर हिँड्छन्, स्कूलमा ‘मास शूटिङ’ गर्छन् । अब यसलाई के भन्ने ?

सबैलाई थाहा भएको कुरा हो, नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले केही महिनाअघि अमेरिका भ्रमणको निम्तो पाए । दशकौंदेखि गतिमान हुन नसकेको अमेरिका र नेपालको कूटनीतिक सम्बन्धमा रणनीतिक बल पुग्यो । भौगोलिक रूपमा नेपाल सानो भए पनि यो डाइनामिक देश हो । चीन र भारतको बीचको डमरु हो, तरुल हैन । पक्कै पनि भेनेजुएलाको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर राष्ट्रपति निकोलस मडुरोका पक्षमा र अमेरिकाको विरोधमा प्रचण्डले विज्ञप्ति जारी गरेको धेरैलाई मन परेको छैन । तर कुनै सार्वभौमसत्ता प्राप्त देशका पक्षमा बोल्न किन डराउने ? के प्रचण्डको त्यो राजनीतिक कदम थिएन ? के त्यो विज्ञप्ति हाम्रा छिमेकी देशहरू भारत र चीनलाई अनौठो किसिमको झड्का वा सन्देश थिएन ?

बुझ्नुपर्ने विषय के हो भने प्रचण्डको अमेरिका भ्रमण पहिलोपटक भएको हैन । संयुक्त राष्ट्रसङ्घको ६३औं महासभामा सहभागी हुन सेप्टेम्बर २००८ मा जर्मनी हुँदै अमेरिकाको न्यूयोर्क गएका थिए प्रचण्ड । त्यहाँ उनको भेट अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशसँग पनि भएको थियो । प्रधानमन्त्रीका रूपमा पहिलो कार्यकालमा उनले युरोपेली मुलुक फिनल्यान्ड भ्रमण गरे । विगतमा अस्ट्रेलियाको भ्रमण अचानक स्थगित गर्नुपरे पनि उनी युरोपमा पाइला नटेकेकै भन्ने हैन । बरू ती भ्रमणहरू नेपालको शान्तिप्रक्रिया, नयाँ संविधान बनाउने प्रक्रिया आदि विषयमा अन्तर्राष्ट्रिय जगतको समर्थन, साथ तथा सहयोगको अपेक्षामा केन्द्रित थिए । 

तर प्रचण्डलाई युरोप वा अमेरिका टेक्न दिन्नँ, हेग लग्छु भन्ने केही आवाज पनि सुनिन्छन् । उदेक लाग्छ । ती आवाजहरू कहिले गंगामाया त कहिले अभियन्ता डाक्टरको पगरी गुथेका गोविन्द केसीको अभिनयबाट प्रतीत हुन्छ । अर्को कुरा के छ भने नेपालमा सशस्त्र द्वन्द्वकालमा मानवअधिकार उल्लङ्घन गरेको र यातना दिएको भन्ने उजुरीका आधारमा सन् २०१३ मा यूकेमा नेपाली सेनाका एक वरिष्ठ अधिकारी कुमार लामा पक्राउ परेपछि तत्कालीन नेकपा माओवादी र प्रचण्डले नेतृत्व गरेको सरकार झस्किएकै हो । तर याद गर्नुपर्ने पक्ष के हो भने महासेनानी लामाले सन् २०१६ को सेप्टेम्बरमा सफाइ पाएका थिए ।

हेर्नुहोस्, तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको युद्धमा १७ हजार मानिस मरे । सरकारका मानिस पनि मरे । विद्रोही मानिस मरे । धेरै घाइते भए, धेरैका काख रित्तिए । तर यस्तो काम प्रचण्ड एक्लैले गरेका हैनन् । अर्थात् प्रचण्ड मात्रै मुख्य पात्र हैनन् । सरकार पक्षका तत्कालीन गृहमन्त्रीहरू, रक्षामन्त्रीहरू, प्रधानमन्त्रीहरू, सेनापतिहरू सबै भागिदार छन् । यो १७ हजारको आँकडामा तत्कालीन माओवादीले मात्रै १७ हजार मारेको भन्ने भ्रम छ जबकि त्यो सत्य हैन । दुवै पक्षबाट भएको सम्पूर्ण क्षति त्यति हो । र ती क्षतिहरू राजनीतिक उद्देश्य प्राप्तिका लागि थिए ।

जस्तो कि हिजो राणा शासन हटाएर प्रजातन्त्र ल्याउँदा पनि त्यस्तै क्षतिहरू भएकै थिए । कुन चाहिँ राजनीतिक आन्दोलनमा मानवीय क्षति भएको छैन र ? शान्तिपूर्ण भनिएको १९ दिने जनआन्दोलनमा केके भयो ? त्यसकारण युद्ध अपराधी नै हुने हो भने पृथ्वीनारायण शाहलाई पनि युद्ध अपराधीको बिल्ला भिराउनुपर्ने हुन्छ । तर के नेपाली जनता त्यसका लागि तयार हुन सक्छन् त ? सक्दैनन् । पक्कै सक्दैनन् किनभने नेपाल भन्ने देश निर्माण गर्नका लागि गोर्खा फौजले बर्बरता गरेको कुरा जायज थियो भन्ने वीरताको गाथा यो वा त्यो बहानामा स्थापित भइसक्यो । 

वार्ताको माध्यमबाट शान्तिको बाटो समातेर संविधान मानेर, मूलधारको राजनीतिको बलियो खम्बा बनेका प्रचण्डलाई अमेरिकाले अझै पनि आतंककारीको बिल्ला भिराइरहन सक्दैन भन्ने कुरा सबै थाहा छ । र यो कुरा धेरैलाई थाहा छ, प्रचण्ड दुर्लभ पाटेबाघ हुन्, माछा जस्तो बल्छीमा पर्दैनन् ।

त्यसैले श्रीमतीको उपचारमा आएका एक पतिको भावनाको कदर गर्नु त्यो जायज हुन्छ । बरू संसारका सबै पतिहरूले प्रचण्डबाट पाठ सिक्नुपर्छ । विश्वले एक नेताका रूपमा स्वीकार गरिसकेको व्यक्ति मात्र हैन, संस्था हो प्रचण्ड । उनकै साहसिक निर्णयले देशमा ठूलाठूला परिवर्तन सम्भव भएका छन् । दुईपटक प्रधानमन्त्री भइसकेको, नेपालको सबैभन्दा ठूलो दलको अध्यक्ष जो दुईतिहाइको सरकार सञ्चालन गरिरहरेको छ, उनको अमेरिका भ्रमणप्रति असभ्यता देखाउनु केवल परिवर्तनविरोधीको स्यालहुइँया बाहेक अरू के हुन सक्ला र ?

तीन तोला सुनका कुरा आए । उपचार खर्चका कुरा आए । हिजो त्यस्तो, आज किन यस्तो भन्ने आलोचना पनि आए । केही प्रश्नहरू स्वाभाविक पनि छन् । तर सिंगापुरमा उपचार सम्भवप्रायः हुन नसकेको र त्यहाँका डाक्टरले अमेरिकामा एकपटक पुर्‍याउन सके उपचार सम्भव हुने आश्वासनपश्चात् सीता दाहालको जिद्दी बढेकै थियो । प्रचण्ड आफूमा कन्भिन्स्ड थिए, अब यो रोग लाग्यो, निको चाल हुन्न भन्ने कुरामा । तर पत्नीको अडान टसमस हुन सकेको थिएन । बारम्बार अमेरिकाको भ्रमण स्थगित हँुदा कूटनीतिक रूपमा त्यो राम्रो भइराखेको पनि थिएन । अमेरिकास्थित नेपाली दूतावासको केही सहयोग र त्यहाँ रहेका कार्यकर्ताहरूको जोहोमा प्रचण्ड अमेरिका गए ।

आफ्नो ‘इलाका’मा त भुस्याहा कुकुरहरू पनि आफूलाई शक्तिमान ठान्छन् भने जस्तो प्रचण्डमाथिका प्रहारहरू नेपालमाथिका प्रहार हुन्, राजनीतिक विरोध गर्ने छुट सबैलाई छ तर विदेशी भूमिमा आफ्नो देशको नेता पक्राउने दुस्साहस गलत हो । संयुक्त राज्य अमेरिकाले प्रचण्डका लागि ‘नो इन्भेस्टिगेसन’ सर्कुलर जारी गरेको कुरा तिनलाई थाहै भएन । अध्यक्ष दाहालका लागि जारी गरिएको उक्त सर्कुलर अमेरिकाले विशेष रूपमा मात्र जारी गर्ने गरेको छ । यसअघि अमेरिकाले भारतीय उच्च नेतृत्वका लागि पनि यो सर्कुलर जारी गरेको थियो ।

प्रचण्ड अमेरिका भ्रमणमा निस्किनुअघि नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले उनको निवासमै पुगेर भेटवार्ता गरेका थिए । सो भेटवार्ताका क्रममा प्रचण्डको अमेरिका भ्रमण र त्यहाँ हुने सम्मानका विषयमा छलफल भएको थियो । त्यसकारण प्रचण्डको भ्रमण अमेरिकाको चाहनामा भएको हो ।  यस्तै प्रचण्ड अमेरिका पुगिसकेपछि नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलिसीले प्रचण्डलाई भेटेर निकै खुशी हुँदै फोटो खिचेर आफ्नो फेसबूकमा पोस्ट गरेका छन् । यसबाट पनि अमेरिकाले प्रचण्डलाई हेर्ने रणनीतिबारे थाहा हुन्न र ?

आफ्नो सहकार्यमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गतिशील नेता भएको कुरा डेलिसीले फेसबूकमार्फत बताएका छन् । उनले प्रचण्डसँग विवादहरू भए पनि कहिल्यै शत्रुतापूर्ण सम्बन्ध नरहेको र मिलेर नै शान्तिको बाटो खोजिएको लेखेका छन् । डेलिसीले पुराना कुरामा अल्झिनुभन्दा समृद्ध नेपालका लागि अघि बढ्नु राम्रो हुने सुझाव पनि दिए । उनले लेखे, ‘हामी यसरी फेरि भेटघाट हुन पाउँदा राम्रो लागेको छ । अनि नेपाल देशका नेताप्रति मेरो चासो रहने गर्छ । हामी बारम्बार भेट गर्थ्यौं, हाम्रा भेटहरू गतिशील प्रकृतिका हुन्थे, कहिलेकाहीँ विवादहरू हुन्थे । तर शत्रुतापूर्ण सम्बन्ध कहिल्यै भएन । हामीले मिलेर शान्तिको बाटो खोज्यौं ।

पक्कै पनि नेपालको शान्ति प्रक्रियाको सफलतामा अमेरिकाको ठूलो हात छ । अमेरिकाले दाबी गरेजस्तै ऊ विश्व शान्ति चाहन्छ भने संयुक्त राष्ट्रसंघको प्रत्यक्ष निगरानीमा सम्पन्न भएको तत्कालीन नेकपा माओवादीको सेना तथा हतियार व्यवस्थापनबारे उसले आफ्नो भूमिकाको जस लिन्छ नै र यसका लागि प्रचण्डको प्रशंसा पनि सँगसँगै गर्छ । वार्ताको माध्यमबाट शान्तिको बाटो समातेर संविधान मानेर, मूलधारको राजनीतिको बलियो खम्बा बनेका प्रचण्डलाई अमेरिकाले अझै पनि आतंककारीको बिल्ला भिराइरहन सक्दैन भन्ने कुरा सबै थाहा छ । र यो कुरा धेरैलाई थाहा छ, प्रचण्ड दुर्लभ पाटेबाघ हुन्, माछा जस्तो बल्छीमा पर्दैनन् ।

चैत १०, २०७५ मा प्रकाशित

दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार