साँझ परेपछि संस्कृतको विशेष कक्षा लिन्छन् राष्ट्रसेवक, युवतीदेखि सेवानिवृत्तसम्म सहभागी

चैत १५, २०७५

काठमाडौं – नेपालमा पनि जबर्जस्त ढंगले अंग्रेजी भाषाको प्रभाव विस्तार भइरहेका बेला केही प्रतिष्ठित व्यक्तिहरूले संस्कृत सिक्नका लागि विशेष कक्षा लिइरहेको खबर सुन्दा निकै रोचक लाग्यो । 

उनीहरूलाई भेट्ने अभिलाषा जागेपछि सम्पादक विमल गौतम, मल्टीमिडिया संवाददाता गगन अर्याल र म बुधवार साँझ बालुवाटारतर्फ लाग्यौं ।


ADVERTISEMENT

राष्ट्र बैंकका उपनिर्देशक डा. भागवत आचार्यसँग हाम्रो सम्पर्क भएको थियो । 

साहित्यकार समेत रहेका आचार्य तिनै व्यक्ति हुन् जसको पहलमा संस्कृत सिक्नका लागि उक्त कक्षा सञ्चालनको तारतम्य मिलेको कुरा हामीलाई जानकारी थियो ।

आचार्यले दिएको लोकेसन पछ्याउँदै हामी साँझ ५ बज्न केही मिनेट मात्र बाँकी छँदा महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयको प्रांगणमा प्रवेश गर्‍यौं ।

विद्यालय प्रांगणमै भेटिएका एक व्यक्तिले संस्कृत भाषा कक्षा सञ्चालन हुने गरेको कोठा देखाइदिए । 
...

विद्यालयको कोठा नम्बर ३ ।

दुईजना व्यक्ति बीच लहरको दोस्रो र तेस्रो बेञ्चमा बसेर पुस्तक पल्टाउँदैथिए ।

एकैपटक प्रवेश गरेका हामी तीनजनालाई देख्नेबित्तिकै तीमध्येका एकले सोधे– ‘सरहरू नयाँ हो ?’ शायद हामी पनि संस्कृत सिक्न पुगेको बुझेछन् ।

हामीले आफ्नो परिचय दिँदै त्यहाँसम्म पुग्नुको प्रयोजन बतायौं । 

परिचयका क्रममा थाहा भयो, किताब पल्टाउँदै गरेका ती व्यक्ति कृषि विभागका बागवानी अधिकृत रेवतीराज शर्मा र सरकारी सेवाबाट सेवानिवृत्त भई हाल विभिन्न कलेजमा अध्यापनरत प्राध्यापक एवं शिक्षा तथा प्रजनन स्वास्थ्यसम्बन्धी अनुसन्धानमा सक्रिय डा. मेघराज ढकाल रहेछन् ।

अन्य सहभागी आइपुग्न बाँकी रहँदा केहीबेर भलाकुसारी भयो ।

‘आजभोलि केटाकेटीलाई किन गयल भएको भन्दा बुझ्दैनन्, एब्सेन्ट भन्नुपर्छ, मकैको फूलभन्दा कसैले बुझ्दैनन्, पपकर्न भन्नुपर्छ,’ ढकालले चिन्ता व्यक्त गरे ।

संस्कृतबाटै उल्था भएका कुरा अंग्रेजीमा पढ्ने अवस्था आउनु विडम्बनापूर्ण रहेको उनको गुनासो थियो । 

‘आजाभोलि त जर्मनी, बेलायतजस्ता देशमा समेत संस्कृत भाषा पढ्न थालिएको छ, स्वास्थ्यका कतिपय कुराहरू समेत संस्कृतबाटै आएका छन्,’ उनले भने ।
संस्कृत सिकेर अनुसन्धानमा पनि यसको सदुपयोग गर्ने उनको धोको छ ।

एकैछिनमा राष्ट्र बैंकका सहायक निर्देशक डा. महेश चौलागाईं कक्षामा प्रवेश गरे । उनी उक्त कक्षा सञ्चालनको परिकल्पनाकारमध्येकै एक रहेछन् ।

‘हामीले आफ्नो जननी भाषा नै जानेका छैनौं, हाम्रै संस्कृति र दर्शन बुझेका छैनौं,’ चौलागाईंले भने, ‘आफ्नै संस्कृति र दर्शन बुझ्नका लागि संस्कृत भाषा जान्नुपर्ने आवश्यकता ठानेर नै भागवतजी (डा. भागवत आचार्य) सँगको सल्लाहमा यो कक्षा शुरू गरेका हौं ।’

...

यत्तिकैमा अर्का एक व्यक्ति नमस्कार गर्दै कक्षामा छिरे । उनै रहेछन्, डा. भागवत आचार्य । विमल सरसँग परिचय रहेछ, गगन र मैले भने चिनेका थिएनौं । 

डा. आचार्यले संस्कृत भाषा कक्षा सञ्चालनबारे बेलिविस्तार लगाए–

‘मानव जीवनको ऊषाकालदेखि हामीले जति पनि बाह्य तथा आन्तरिक ज्ञान आर्जन गर्‍यौं, त्यसको भण्डार संस्कृतमा सुरक्षित छ ।

संस्कृत एउटा भाषा मात्र होइन, यो त ज्ञान–विज्ञानको भण्डार हो । हामीसँग जे छ, त्यसबाट मात्र हाम्रो पहिचान र अस्तित्व स्थापित हुनसक्छ ।

म संस्कृत भाषा सिक्ने उद्देश्यले २/३ पटक वाल्मीकि विद्यापीठसम्म पनि पुगें ।

पदीय जिम्मेवारी र व्यस्तताका कारण त्यहाँ पुगेर कक्षा लिन सम्भव भएन, तर संस्कृत सिक्ने भोक मरेको थिएन ।

आफैंले यस्तो कक्षा किन सञ्चालन नगर्ने भनेर म, महेशजी तथा कल्पनाजी बसेर सल्लाह गर्‍यौं ।

कक्षा सञ्चालन गर्ने निधो भएपछि गुरुहरूसँग कुराकानी भयो । अफिसबाट निस्किन सजिलो होस् भनेर यहीँ नजिकको विद्यालय रोज्यौं ।’

कक्षा सञ्चालन गर्ने निधो भएपछि राष्ट्र बैंकको सूचनापाटीसँगै यसबारेको सूचना पनि टाँसियो ।

तीन जनाबाट शुरू भएको पहलले मूर्तरूप लिने क्रममा राष्ट्र बैंकभित्रैबाट अरू थपिए । डा. आचार्यले उक्त सूचना फेसबूकमा पनि राखे, थप व्यक्ति सोही सूचना देखेर कक्षामा सहभागी भए ।

...

आफ्नो साहित्यिक नामबाट परिचय दिँदै अर्की एक सहभागीले भनिन्, म ज्योति जंगल । कवयित्रीको परिचय समेत बनाएकी उनी राष्ट्र बैंककी सहायक निर्देशक रहिछन् ।

‘हामीले संस्कृतका श्लोकहरू अरूले अर्थ लगाइदिएको अर्थात् सेकेण्डरी सोर्सबाट मात्र पढ्न/बुझ्न परेको छ,’ उनले भनिन्, ‘गुरुलाई हामीले श्लोकहरूको अर्थ लगाउन सक्ने बनाइदिनुस् भनेका छौं ।’

‘संस्कृतमा महिलाको विषयमा के लेखिएको छ, त्यो जान्न मन छ । कम्तीमा पनि पढेर आनन्द लिन चाहन्छु,’ उनले थपिन् ।

उनीसँगै थिइन्, डा. गीता त्रिपाठी । त्रिपाठी त्रिविकी उपप्राध्यापक तथा प्राज्ञ सभा सदस्य रहिछन् ।

‘मैले पछि मात्र थाहा पाएँ, संस्कृतमा महिलाहरूको अवमूल्यन गरिएको रहेनछ । यसको व्याख्या, पुनर्व्याख्या जति पनि हामीले पढ्यौं, ती शतप्रतिशत सत्य रहेनछन्, हामीले देखेका/सुनेका कुरामा त मसला थपिएको हुने रहेछ,’ त्रिपाठीले आफू संस्कृत भाषा कक्षामा सहभागी हुनुको प्रयोजन खुलाउँदै भनिन्, ‘आफैंले बुझेर पढ्न मन छ, यसको मर्म जान्न मन छ ।’

अरूले गरिदिएको गलत व्याख्यालाई विश्वास मानेर महाभारतकी पात्र द्रौपदीलाई आफूले लामो समयसम्म गलत रूपमा बुझेको र द्रौपदी गलत रहिनछन् भनेर पछि मात्र थाहा पाएको उनले बताइन् ।

राष्ट्र बैंककै सहायक निर्देशक यामलाल सुवेदीले आफूलाई फेरि पढ्न स्कूल गएको जस्तो अनुभव भइरहेको बताए । ‘फेरि पढ्न स्कूल गइरहेको जस्तो लाग्दैछ, कक्षा सकिएको पत्तै हुन्न, यहाँबाट निस्किनै मन लाग्दैन,’ उनले भने ।

कृषि विभागका बागवानी अधिकृत रेवतीराज शर्माले नेपालीमा सुनेका र प्रयोग गरिरहेका कतिपय कुराहरू संस्कृतमा पनि रहेकाले यो भाषा सिक्न कठिनाइ नपरेको बताए ।

राष्ट्र बैंककै सहायक निर्देशक विष्णुप्रसाद गुरागाईंले आफूलाई संस्कृतमा साक्षर हुन मन लागेको सुनाए । नेपाली र हिन्दी मात्र होइन अंग्रेजीमा समेत कतिपय कुराहरू संस्कृतबाटै आएकाले संस्कृत जान्ने उत्सुकता जागेको उनको भनाइ थियो ।

कक्षामै थिइन्, ३२ वर्षीया सोना राना । रिसर्चतर्फ असिस्टेन्ट डिरेक्टर छु भनेर परिचय दिएकी उनले नयाँ भाषा सिक्दा त्यसले ‘ब्रेन’लाई ‘योङ’ बनाइराख्छ भन्ने बुझेर आफू संस्कृत सिक्न आएको बताइन् ।

सम्भवतः उनी उक्त कक्षामा सबैभन्दा कान्छी थिइन् ।

...

कक्षा सातामा ४ दिन । शुल्क ५ हजार । अवधि ३ महिना ।

पढाउने गुरुहरू मोहनप्रसाद पोखरेल र शेखर दाहाल ।

हामी पुगेको दिन वाल्मीकि क्याम्पसका उपप्राध्यापक समेत रहेका दाहाल कक्षामा उपस्थित थिए ।

आ–आफ्नो क्षेत्रमा सफलताको शिखर चुमेका प्रतिष्ठित व्यक्तिहरूलाई पढाउन पाउँदा उनी पनि निकै उत्साहित रहेछन् ।

संस्कृतलाई पढाउने शैलीमा केही परिवर्तन गर्ने हो भने यसप्रतिको आकर्षण बढ्दै जाने उनको विश्वास छ ।

‘पढाउने तौरतरिका र विधिमा परिवर्तन गर्ने हो भने संस्कृत निकै सहज छ,’ उनले भने, ‘संस्कृतलाई विश्वले खोजिरहेको छ, हाम्रो त आफ्नो सम्पत्ति हो ।’

संस्कृतलाई विद्यालयको पाठ्यक्रमबाट हटाउनेहरूलाई पनि अहिले ठीक गरिएनछ भन्ने लाग्न थालिसकेको उनले बताए ।

‘पत्रपत्रिकामा देखेको छु, त्यस्ता व्यक्तिहरू जसले संस्कृत पठनपाठन बन्द गराए, उनीहरूले पनि यो चाहिने चिज रहेछ भनेर भन्न थालेका छन्,’ दाहालले थपे ।

अन्य विद्यार्थीलाई भन्दा आ–आफ्नो क्षेत्रमा सफल भइसकेका र बुझिसकेका व्यक्तिहरूलाई पढाउन सहज भएको अनुभव उनीसँग छ ।

...

हामीसँगको कुराकानीका कारण कक्षा करीब आधा घण्टा ढिला भइसकेको थियो ।

कुराकानी सकेर हामी बाहिरियौं, अनि शुरू भयो कक्षा –

धातु– वृध् : बढ्नु
प्रथम पुरुष : वर्धते (एकवचन), वर्धेते (द्विवचन), वर्धन्ते (बहुवचन)

हेर्नुहोस्, भिडियो :

फोटो/भिडियो : गगन अर्याल

चैत १५, २०७५ मा प्रकाशित

रामचन्द्र भण्डारी

पत्रकार भण्डारी प्रशासन, न्याय र राजनीतिमा कलम चलाउँछन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस