शशांक–शेखरको काँधमा पुगे के होला कांग्रेसको भविष्य ?

चैत २४, २०७५

नेपाली राजनीतिमा नेपाली कांग्रेस चिरपरिचित र पुरानो पार्टी हो । २००७ सालको प्रजातान्त्रिक आन्दोलन, २०४६ सालको बहुदल पुनःस्थापनाका लागि गरिएको संघर्षपूर्ण आन्दोलन र २०६२–०६३ सालको जनआन्दोलनमा नेपाली कांग्रेसको भूमिका महत्त्वपुर्ण छ । विगतका हरेक आन्दोलनमा कांग्रेसको अधिकांश अवस्थामा निर्णायक भूमिका थियो ।

जनयुद्धको जगमा भएको १२ बुँदे सहमतिपछि २०६२–०६३ सालमा भएको तेस्रो जनआन्दोलनपछि मुलुकको शासन व्यवस्थामा आमूल परिवर्तन आयो । राजसंस्थाको ठाउँमा गणतन्त्र आयो । धर्मसापेक्षताको ठाउँमा निरपेक्षता आयो । राज्यका हरेक क्षेत्रमा समावेशी र समानुपातिक व्यवस्थामा रूपान्तरण भयो । जनताका छोरारछोरी राष्ट्रप्रमुख हुने व्यवस्थाको शुरूआत भयो । यसप्रकारको परिवर्तनले जनतामा बेग्लै किसिमको उत्साह सिर्जना गरेको छ । यी उल्लिखित परिवर्तनमा कांग्रेसको महत्त्वपूर्ण सहभागिता रहेको छ ।


ADVERTISEMENT

संविधानसभाबाट २०७२ असोज ३ गते नेपालको संविधान विधिवत रूपमा घोषणा भएपछि परिवर्तनका एजेन्डा संस्थागत भएका छन । वर्तमान नेपाली राजनीति तत्कालीन नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजा प्रसाद कोइरालाले अगाडि बढाएको राजनीतिक कोर्समा निर्भर छ । अहिलेका उपलब्धि शान्ति सम्झौताकै उपज हुन् ।

नेपाली कांग्रेसले सामन्तवादको अन्त्यका लागि गरेका परिवर्तनका आन्दोलनमा पाकाभन्दा युवा नेताहरूको सहभागिता सडकमा धेरै थियो । विश्वप्रकाश शर्मा, गगन थापा र प्रदीप पौडेल लगायत अन्य थुप्रै युवा नेताहरूको उपस्थिति सडकमा बाक्लै हुने गर्दथ्यो । कांग्रेसभित्र परिवर्तन ल्याउन सक्ने नेताका रूपमा तत्कालीन समयमा यिनै युवाहरूलाई चित्रित गरिन्थ्यो । नेपाली कांग्रेस हाँक्ने भावी नेताको रूपमा व्याख्या गर्दा शर्मा, थापा र पौडेलका लागि पनि यो सुखद क्षण थियो ।

कोइराला परिवारका सदस्यबाटै परिवर्तनका एजेन्डामाथि प्रहार हुनु कांग्रेसजनका लागि दुर्भाग्य हो ।

कुनै बेला परिवर्तनका एजेन्डाका पक्षधरलाई आतंककारी घोषणा गर्न लगाउने वर्तमान नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक व्यवस्थाको पक्षमा सशक्त छन् । देउवा कार्यसमितिका महामन्त्री तथा बीपीपुत्र शशांक कोइराला चाहिँ धर्मनिरपेक्षताको ठाउँमा सापेक्ष बनाउने भन्दै जनमतसंग्रहको आवश्यकता महसूस गर्नुहुन्छ ।

अहिले पूर्वराजा ज्ञानेन्द्र शाह सक्रियताका साथ तराई क्षेत्रका मठमन्दिर दर्शनको नाममा राजावादीहरूसँग भेटघाट गरिरहेका छन् । यहीबेला काठमाडौंमा फागु पूर्णिमाका दिन शशांक कोइरालाले गणतन्त्र र संघीयताका विषयमा पनि जनमत गर्न आफू तयार रहेको बताए । कोइरालाको यस भनाइले अहिले शंका उत्पन्न भएको छ । आलोचना भएपछि यसबारे क्षमा मागे पनि कोइरालाले परिवर्तनलाई पूर्ण आत्मसात नगरेको प्रस्ट बुझ्न सकिन्छ ।

राजाको सक्रिय शासनमा बीपीका ज्येष्ठ पुत्र प्रकाश कोइराला मन्त्री भए । यी प्रकाश कोइराला अहिले पनि राजावादी हुन् । दाजु राजावादी भए पनि भाइहरू शशांक र शेखर कोइराला परिवर्तनलाई आत्मसात गर्दछन् भन्ने धेरैको अनुमान अब फेल भएको छ । कोइराला परिवारका सदस्यबाटै परिवर्तनका एजेन्डामाथि प्रहार हुनु कांग्रेसजनका लागि दुर्भाग्य हो ।

कोइराला परिवारमा शशांक कोइरालाले मात्र परिवर्तनलाई पूर्ण आत्मसात नगरेका भने होइनन् । केही दिनअघि एउटा टीभी शो कार्यक्रममा अन्तर्वार्ता दिँदै कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले धर्मनिरपेक्षतामाथि घुमाउरो पाराले हमला गरे । धर्मनिरपेक्षतामाथिको हमलाले शेखर कोइरालाको बौद्धिकतामा पनि प्रश्न उठ्यो । 

लेखक आचार्य

सस्थापक नेता बीपी कोइराला गतिशील हुनुहुन्थ्यो । बीपी सधैं परिवर्तनको पक्षमा लागेको तत्कालीन नेताहरूको भनाइबाट पनि प्रस्ट हुन्छ । धर्मनिरपेक्षतामा बीपी सधैं अडिग हुनुहन्थ्यो । उहाँ आर्थिक समानताको पक्षधर हुनुहुन्थ्यो । तर अहिले तिनै बीपीका सन्तानहरू मुलुकको परिवर्तनलाई सहजै स्वीकार गरिरहेका छैनन् । यो मुलुकको निम्ति राम्रो संकेत होइन ।

अहिले देउवाका विरूद्ध ५२ जिल्लाका सभापतिले छुट्टै बैठक बसेर तिनै कोइराला परिवारलाई कांग्रेसको ताल्चा (एजेन्डा) सुम्पने चर्चा छ । अब कोइराला परिवारलाई कांग्रेसको नेतृत्व दिनु भनेको बिरालोलाई दूधको जिम्मा लगाएजस्तै हो ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको स्वभाव ‘जता पाक्यो काफल गेडी, उतै नाच्छ चरी’ जस्तो छ । यस अवस्थामा कांग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला आगामी दिनहरूमा अझ सशक्त भूमिकामा देखिने देखिन्छ । परिवर्तनको पक्षमा पार्टीका नेता र कार्यकर्तालाई उभ्याउन पृष्ठभागमा कांग्रेस नेता सिटौला, नरहरि आचार्य र प्रदीप गिरीको भूमिका सम्झनयोग्य छ ।

अहिले कमजोर अवस्थामा रहेको कांग्रेसलाई पुनर्गठन गर्दै सशक्त बनाउने जिम्मेवारी पनि युवा नेताहरूको काँधमा धेरै छ । यसो गर्न नसके कांग्रेस भड्खालोमा पुग्छ । काँग्रेस नेताहरूको वर्तमान गतिविधि यथास्थितिवाद हुँदै पुरातनवाद तर्फको उल्टो यात्रामा देखिन्छ । कांग्रेसका अझै पनि केही नेताहरूको अभिव्यक्ति मृत राजसंस्थाप्रति उदार देखिन्छन् । कांग्रेसभित्र नै कांग्रेसजनको दुश्मन बसेका छन् । यसकारण सत्तरी सालको संविधानसभाको चुनावमा पहिलो पार्टी बनेको कांग्रेस प्रदेश र प्रतिनिधिसभा चुनावमा कमजोर प्रतिपक्षको रूपमा खुम्चिएको छ ।
 

चैत २४, २०७५ मा प्रकाशित

विपिन आचार्य

ने क पाको युवा संगठनमा आवद्ध आचार्य समसामयिक विषयमा लेख्छन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस