अब प्रदेशको बिदामा संघका कार्यालय पनि बन्द रहने

चैत २८, २०७५

काठमाडौं – संघीय सरकारले प्रदेश सरकारले दिएका सार्वजनिक बिदाको दिन संघ मातहतका कार्यालय समेत बन्द रहने निर्णय गरेको छ ।

बिहीवार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकूल बास्कोटाले प्रदेशका बिदाका दिन सम्बन्धित प्रदेशभित्र रहेका संघका कार्यालय समेत बन्द हुने बताए ।


ADVERTISEMENT

यसअघि सरकारले स्पष्ट निर्णय नगर्दा संघ मातहतका कार्यालय र प्रदेश सरकारबीच विवाद हुने गरेको छ । २ नम्बर प्रदेश सरकारले तोकेको बिदाका दिन कार्यालय बन्द नगरेको भन्दै प्रदेशका मन्त्री नै कार्यालयमा तालाबन्दी गर्न पुगेका थिए । प्रदेशको बिदाका दिन प्रमुख जिल्ला अधिकारी (सीडीओ) को कार्यालय बन्द हुने गरेका थिएनन् ।

प्रदेश सरकारले वर्षमा ६ दिन सार्वजनिक बिदा दिन पाउने प्रावधान रहेको जनाइएको छ । संघीय राजधानी रहेको काठमाडौं उपत्यकाका सन्दर्भमा भने गृह मन्त्रालयले निर्णय गरेअनुसार सार्वजनिक बिदा कार्यान्वयन हुने मन्त्री बास्कोटाले बताए ।

चैत २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस