नयाँ वर्षलाई समय सिँढीको कसीमा नियाल्दा

बैशाख १, २०७६

प्रत्येक पल बदलिइरहन्छन् । अहिलेसम्म मानिआएको ‘सेकेण्ड, मिनेट, घण्टा, दिन, साता, महिना, वर्ष सानो इकाइको जोडको रूपमा ती सधँ परिवर्तन भइरहन्छन् । तर वर्ष दिनमा अर्थात् ३६५ दिनमा सम्वत्सर फेरिँदा त्यसलाई विशेष मानेर मनाउने चलन छ । वास्तवमा नव वर्षलाई स्वागत गर्दा र विगत वर्षलाई विदाइ गर्दा विगतको समीक्षा र आगतको योजनाको कुरा आउँछ नै । अनि मनाउने हो भने विगतका गल्तीहरूलाई पुनरावृत्ति हुन नदिने र नयाँ नयाँ सफलताका सोपानहरू चढ्ने कुरा नै प्रमख कुरा हुन्छ । यद्यपि यस्ता सम्वत्सर फेरिने दिनहरू केवल सतही र हचुवा तरिकाले मनाउने चलन नै आमरूपमा चल्ने गरेको छ । त्यस दिनको महत्त्व र महिमा सांस्कृतिकरूपमा भए पनि वर्तमानमा रचनात्मक उत्कृष्टताका हिसाबले प्रायः मनाउने गरेको पाइँदैन ।

कतिपयले भन्छन्, प्रत्येक पल उत्सवका रूपमा बाँच्नु नै नव वर्षको स्वागत हो । उनीहरूको विचारमा कुनै पनि उत्सवले मानिस भित्रको प्रसन्नतालाई उजागर गरिदिन्छ । अनि नव वर्षोत्सवले आ–आफ्नो धर्तीको सुगन्धसँग मानिसहरूलाई जोडिदिन्छ । वास्तवमा सत्यनिष्ठ मानिसको हृदय यति उदार हुन्छ कि ‘बसुधैव कुटुम्बकम्’ (अर्थात् विश्वलाई नै आफ्नो घर ठान्ने मान्यता) लाई आत्मसात् गर्दै आफ्नो स्थानीय पात्रोका साथसाथै विश्व–पात्रोसँग हरेकले आफूलाई कुनै द्विविधाविना सम्बन्धित तुल्याउन र जोड्न पुग्दछन् । बितेको वर्षको बिदाइ र नव वर्षको पदचापको अमूर्तनताले एउटा यस्तो सुशासन सञ्जाल खडा गरिदिन्छ, त्यसले मानिसको सोचको सिर्जनालाई अझ बढी पुष्पित, पल्लवित तुल्याउन मद्दत गर्दछ । फलतः मानिसका स्वरहरू आत्मझंकृतिको यो समयको संरचनामै निर्माण हुन थाल्दछन् र यसरी नयाँ अनुभूति गराउँदछन् । 


ADVERTISEMENT

वास्तवमा बाहिरका सारा दृष्यहरू भित्रको अंध्यारोमा सूर्य समान जलिरहेका हुन्छन् । पटक–पटक हामी विगत समय या वर्षलाई सानो या सरल किसिमले बुझ्ने गर्दछौं । तर पछिबाट थाहा हुन्छ कि त्यो हाम्रो अज्ञानता थियो । बितेको वर्ष पनि आफ्नो अस्तित्वमा सम्पूर्ण नै थियो, हुन्छ र त्यसलाई त्यही समुच्चयमा नै बुझ्नु पर्दछ । नव वर्ष एक किसिमको सुन्दर फूल हो जसमा आगामी भविष्यको बीज देख्न सकिन्छ । हाम्रो समय अनुहारको ज्योति, आँखाको आभा रेखाचित्रहरूको सरलताको प्रकाशलाई नव वर्षको द्वारमा देखिन्छ जतिबेला मनिसले त्यसलाई हेर्न चाहन्छ र सम्भावना पनि हुन्छ । समयको सिंढीको रेखाचित्र वास्तवमा सरलतामा जटिलताको अर्को रूप हो । यसमा अगाडिको जटिलता या सश्लिष्टतालाई बुझ्नका लागि सम कालको गठनको परिप्रेक्षलाई बुझ्नुपर्ने हुन्छ । मानुसिक दीप्तिको तटबन्ध भएर समय या परम्पराको नदी नव वर्षका रूपमा अबिराम गतिले बगेर गइरहेको हुन्छ । वश्, गोधुलीको सघन छायाँबाट बढ्दै गएको अन्धकार तथा बितेको समयको गतिपथलाई पहिचान गर्नु आवश्यक हुन्छ, त्यसैले अवश्य पनि  विश्वका नयाँ शताब्दीका चूनौतिहरूको सामना गर्न सकिन्छ । किनभने मानिसप्रति प्रवाहमा पनि त्यही खडा भएर रहन सक्तछ, पुनर्परीक्षण गर्न सक्तछ र भविष्यको भाव भंगीमालाई रूपाकार दिन सक्तछ । यो खडा रहने र हिँड्ने बीचको द्वन्द हो । यो द्वन्द्व अबिरल चलिरहन्छ ।

नयाँ वर्ष मानिको कला–स्मृतिलाई उत्कीर्ण गर्ने साधन हो । जडता तोड्नु नै नया समयको अर्को नाम हो । जसमा दमित, निष्प्रेषित, अत्याचारित, हाहाकार भरिएका आर्तनाद र बन्दी स्थितिलाई चूनौतिहरू दिनसक्ने शक्ति हुन्छ त्यो नै सही अर्थमा नव वर्ष हो ।नबवर्षको ब्यक्तिनिष्ठ सामाजिकता भविष्य हो ।ब्यक्ति र देशको भविष्य । समाज र  विश्वको भविष्य आजको समयको यिनै तानाबानाबाट हाम्रो (मानिसको) जीवन निर्मित छ । एक एक क्षण महत्वपूर्ण छ । प्रत्येक क्षण हाम्रो गतिको क्षण होस्, स्थितिको क्षण होस् । यसैले हामी मानिसलाई समूहबाची बनाउँदछ । सबैसँग हामीलई जोडिदिन्छ । आजको  विश्वको इतिहास सर्बै ‘हामी’ बन्नका लागि हो । 

वास्तवमा प्रत्येक पल पल उत्सव जस्तै जीवन बाच्नु नै नव वर्षको स्वागत हो । हुन पनि उत्सव साँच्चै उत्सव हो भने त्यसले हामीलाई भित्रैदेखि प्रफुल्लित बनाउँदछ , जगाउँदछ । नव वर्षले पनि हामीलाई आफ्नो धरतीको सुगन्धसँग जोडिदिन्छ । हाम्रो हृदय यत्तिको उदार छ कि  विश्वको पात्रोलाई हामी आफ्नो माटोसँग सम्वन्धन गर्दछौं । त्यसैले कोही पराई छैन किनकि हामी पृथ्वीलाई नै धर मान्दछौं । बितेको वर्षको बिदाई तथा नव वर्षको पदचापको अमूर्तनताले एउटा यस्तो शुनसान सन्नाटा खडा गरिदिन्छ त्यसमा हाम्रो सोचका सिर्जना पुष्पित पल्लबित भएर उठ्छ । हाम्रो स्वरको आत्मालाई झंकृत तुल्याइदिन्छ । 

विश्वमा आएको सूचनाहरूको महाबाढीले आज हामी कतै हराएका जस्तै भएका छौ । कथित खुल्लापनाको स्वागतमा कतिपय बेला वेभसाईटहरूको स्तरहीन भाषा, एक अर्काप्रति हिलो छ्यापाछ्याप, राजनीतिक समुदायका अन्य वर्गको तुलनामा महाबलिष्ठ बन्दै जानु,सञ्चार माध्यहरू प्रायः कला, साहित्यरहीत बन्दै जानु, बिपन्नप्रति पनि असहाय स्थिति आदि हाम्रो समकालीन कुरा बन्दै गइरहेको प्रतीत हुन्छ । आडम्बरी–मुखुण्डोको बढदो महत्वले मानिसलाई दोहोर जीवन जिउन प्रेरित गरिरहेको देखिन्छ । यसले ब्यक्ति स्वयमलाई बिभाजित गरिदिएको छ । यसमा दृष्टि हराउँदछ र त्यहाँ सपना, जीवन, बेदना, मृत्युृ सबै पराई हुन थाल्दछन् । अर्थात् समय पनि हातको मुठीको रेत जस्तै चिप्लिन्छ गत–विगत वर्षका रूपमा । 

आज पनि समाजका तल्लो वर्गका बिभिन्न तप्काहरूमा बिषादको छाया परेको छ । जसले असीम दुःख, निस्तरंगा सागर जस्तै जुन कति गहिरो, कति अन्धकार, कति पर्वत गुफा अदिलाई आफ्नो पेटमा समेटेको छ । बाहिर त केवल समयको स्वप्नाभाष मात्र देखिने गर्दछ । नव वर्षमा आफुलाई ल्याउनु मर्म, आशा, भरोसा तथा सही प्रकाश दिनु हो । आखिर कसैले पनि कालखण्डको गर्भको तितीर्षा देख्नु त हो । एउटा मानिसले कतिसम्म अन्धकार सहन सक्तछ ? बितेका वर्षहरूमा अन्धकार, हत्याहरू, घटनाहरूले जुन हस्ताक्षर गरेका छन् त्यो केवल एउटा पक्ष हो । भाविष्यको मागको रूपायन पनि विचार तथा साहित्यको काम हो । नव वर्ष त्यसपछि मात्र बन्दछ । नब  विश्व पनि तब मात्र बन्दछ । 

हुन त मानिस र एउटा संबेदनशील लेखक कसैलाई पनि थाहा हुन्छ कि मानिसहरूको दुःखको इतिहास तथा तिनको बिजयको इतिहास दुबै असीम हुन्छन् । बितेको समयको कथा लामो हुन्छ । त्यो समाप्त हुदैन तर नव वर्ष वा आगामी वर्षको फूल पनि ओइलाएर मर्ने छैन । किनभने त्यो दिन त्यो हामी भित्रको अजेय संकल्प र उन्मेषको सुगन्ध हो । मानिसका लागि बितेको वर्ष र नयाँ वर्षको सन्धि–बिन्दू प्रकाश र अन्धकारका हरेक क्षण बिपर्य हुदै गइरहन्छन् र क्षण भंगुरतामा अन्तः प्रज्ञाको अन्तः प्रयोजन । परम्पराले चलेको मनुष्यताको यात्रा नव वर्षमा भाबातिरेकबाट संयुक्त ब्यक्तिको संम्यक, सुसंगत प्रथम चिन्तन पीठ हो – पार देख्नका लागि । जहाँ मानिसले आफ्नो मनको शाश्वत दिशा रचना गर्दै बिचलित हुने समयलाई राम्रोसँग पार गर्ने सामथ्र्य राख्दछ । यो सातत्य पृथ्वीको श्रेष्ठतम उद्दीप्त रंग हो । 

यसैले यथार्थतः नव वर्ष आवेगको मनबीयकरणको मात्र सहज पक्षधर प्रस्तुति हो । सबै कुरालाई प्रासांगिक बनाउन सकिदैन ।अभिप्रायहरूको खोजी प्रकारान्तरले नव वर्षकै खोजी हो । यो अन्तहीन मेल पनि हो विगत र आगतको । अर्थात समय र बिबेकको । जसरी धानको बोटका पातहरूले धानको महक या बासनलालाई एक तुल्याएर सराबरी गरिदिन्छन् त्यसरी नै नव वर्षले पनि नयाँ सपनाको आभासँग जोडेर हामीभित्र र बाहिर दुबैसँग सुचित्रित गरिदिन्छ । त्यो मानिसको लागि स्वप्नमय, कलामय, अन्नमय संसार तथा भविष्यको रचना हो । नव वर्षमा गहन आबेग र सिर्जनाशील, कल्पनाशीलता हुन्छ जसमा पुनर्निर्माणका आधारमा बिभिन्न प्रकारका यथार्थहरूको सिर्जना हुन्छ । जहा समृद्धि, मिठास, प्रकाशका रंगहरूको अकथनीय बिम्बबलीहरू हुन्छन् । 

यसर्थ पनि नयाँ समय विकल्पहरूको अन्वेषण गर्ने समय मानिएको र असहाय हुनुको बिरुद्ध एउटा उद्घोष पनि हो । आधारिहीन हुनु, एक्लो हुनुका सट्टामा एउटा नयाँ प्रत्याशा । एउटा यस्तो निष्ठालाई बद्लिनका लागि विकल्पतर्फ अग्रसर । राजनीतिक, आर्थिक ब्यवस्थामा असन्तुष्ट तर सकारात्मक सोच भएका विचारलाई नियन्त्रण नगर्ने दिशामा अग्रसर, बहुलताबादी, सञ्चार माध्यम, जनमत, विचार, सिद्धान्तमा बहुआयामिकता देख्ने कलाप्रिय, सिर्जनशील या सिर्जनाधर्मीहरूले नव वर्षलाई परिवर्तन तथा मनुष्यताको मंगलद्वारको रूपमा लिएका हुन्छन्। यहाँ आफुका अतिरिक्त अरुका लागि पनि सम्मानजक स्थान छ। यही समय बिभिन्न सयम पनि हो । पुरातनमा नूतन लुकेको छ, नूतनतामा अतिनूतनको उन्मेष । अनि संकल्पको आँच पनि । 

 


 

बैशाख १, २०७६ मा प्रकाशित

लोकनारायण सुवेदी

सुवेदी नेपाल कम्यूनिस्ट पार्टीका उपाध्यक्ष हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस