भएका कार थन्क्याएर विदेशबाट भाडामा, भीभीआईपीका नाममा राज्यकोषको दोहन !

बैशाख २, २०७६

काठमाडौं – विशिष्ठ व्यक्ति र पदाधिकारी (भीभीआईपी) ले प्रयोग गर्न मिल्ने गरी सरकारी स्वामित्वमा ११ वटा ‘बुलेट प्रूफ’ कार छन् ।

राजतन्त्रकालमा तत्कालीन राजपरिवारका सदस्यले ११ वटा भीभीआईपी बुलेट प्रूफ कार प्रयोग गर्ने गरेका थिए । ती कारहरूमध्ये एउटा कार असोज ७ गते उपराष्ट्रपति कार्यालयलाई र ४ वटा नेपाली सेनालाई हस्तान्तरण गरिएको छ ।


ADVERTISEMENT

बाँकी ६ वटा बुलेट प्रूफ कार प्रयोगविहीन अवस्थामा नारायणहिटी दरबार संग्रहालयमा नै थन्किएर रहेका महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख गरिएको छ । सरकारले भएका कारलाई थन्क्याएर भीभीआईपीको प्रयोगका लागि विदेशबाट कार भाडामा लिने गरेको पाइएको छ ।

नेपालमा आयोजना गरिने विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आउने भीभीआईपीका लागि चाहिने ‘बुलेट प्रूफ’ कार भाडामा लिएर सरकारले राज्यकोषको दोहन गरिरहेको छ । स्वदेशमा भएका कार भने प्रयोगविहीन भएर थन्किएका छन् ।

विभिन्न समयमा भएका सार्क शिखर सम्मेलन, बिमस्टेक शिखर सम्मेलन लगायतमा विदेशी राष्ट्र प्रमुख तथा सरकार प्रमुख सम्मिलित बैठक सञ्चालन भएका बेला विदेशबाट कार ल्याएको देखिएको छ ।

भएका ‘बुलेट प्रूफ’ कार सामान्य सर्भिसिङ, ब्याट्री परिवर्तन र इन्जिन मर्मत गरी सञ्चालनमा ल्याउन सकिने अवस्थामा रहेकाले सञ्चालनमा ल्याउनुपर्ने महालेखा परीक्षकको प्रतिवेदनले सुझाव दिएको छ ।

‘गत अगस्ट ३० र ३१ मा सम्पन्न बिमस्टेकको चौथो शिखर सम्मेलनका लागि ४ बुलेट प्रूफ कार भाडामा लिएको र ५ वटा भारतको सहयोगमा उपयोग गर्नुपरेको थियो,’ महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘संग्रहालयमा थन्किएर रहेका कार मर्मतसम्भार गरी सञ्चालनमा ल्याउनुपर्ने देखिन्छ ।’

बिमस्टेकको चौथो शिखर सम्मेलनका लागि भाडामा लिइएका ४ वटा बुलेट प्रूफ कार, अन्य १० थान कार र ३१ थान माइक्रोबस भाडामा लिएवापत ३६ लाख ८४ हजार रुपैयाँ भुक्तानी गर्नुपरेको अवस्थामा आफूसँग उपलब्ध साधनको उपयोग हुन नसकेको र त्यसको व्यवस्था सरकारले गर्नुपर्ने महालेखा परीक्षकको कार्यालयले औंल्याएको छ ।

महालेखा परीक्षकको कार्यालयले नारायणहिटी दरबार संग्रहालयमा बुलेट प्रूफ आधा दर्जन कारसहित जम्मा २६ वटा सवारीसाधन थन्किएर रहेका औंल्याएको छ ।

बैशाख २, २०७६ मा प्रकाशित

प्रेम चन्द

पत्रकार चन्द लोकान्तरका लागि आर्थिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस