सरकारविरूद्ध राजपाको प्रदर्शन

बैशाख २, २०७६

बुटवल- जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नगरिकता प्रदान गर्न माग गर्दै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) रुपन्देहीले सोमवार भैरहवामा प्रदर्शन गरेको छ । राजपा रुपन्देहीको आह्वानमा भैरहवामा प्रदर्शन गरिएको हो ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ स्थित हनुमान मन्दिरबाट शुरू भएको प्रदर्शन पिपरहिया चोक, गल्लामण्डी, मिलनचोक, मेनरोड हुँदै जिल्ला प्रशासन कार्यालय रुपन्देहीको गेट अगाडि पुगेर कोणसभामा परिणत भएको राजपा रुपन्देहीका संयोजक अजय वर्माले बताए । 


ADVERTISEMENT

प्रदर्शनकारीले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर, रेशम चौधरी लगायत आन्दोलनकारीलाई तत्काल रिहा गर, आन्दोलनकारीमाथिको मुद्धा फिर्ता गर, भ्रष्टाचारी, कालोबजारी, महंगी, अन्त्य गर, राज्य आतंक र लोकतन्त्र विरोधी गतिविधि बन्द गर, सुलभ तरिकाले नागरिकता वितरण जस्ता नारा लगाएका थिए । केन्द्रीय कार्यसमितिको निर्णय अनुसार रुपन्देहीमाप्रदर्शन गरिएको वर्माले जानकारी दिए ।

जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता प्रदान गर्नुपर्ने, संविधान संशोधनको माग पूरा गर्नुपर्ने लगायतका माग राखेर प्रदर्शन गरिएको राजपा रुपन्देहीका प्रवक्ता मोहम्मद इस्लामले बताए ।

कोणसभामा बोल्दै राजपा नेतृ तथा प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य कल्पना पाण्डेले जन्मसिद्ध नागरिकका सन्तानहरुको नागरिकता नहुँदा उनीहरू विभिन्न अवसरबाट वञ्चित भएकाले यथाशिघ्र नागरिकता वितरण कार्य शुरू गर्नुपर्ने बताइन् । उनले सरकारले मधेशी जनतालाई दोस्रो दर्जाको नागरिकको रूपमा व्यवहार गरिएको बताइन् । 'मधेशी जनतालाई अधिकार दिनबाट वञ्चित गराइए राजपा थप कडा आन्दोलनमा उत्रिन्छ,' पाण्डेले भनिन् । 

पार्टी रुपन्देहीका संयोजक अजय वर्माले मधेशी जनतालाई नागरिकताबाट वञ्चित गराइए राजपा थप कडा संघर्षमा उत्रिने बताए । राजपा रुपन्देही अध्यक्ष मण्डलका सदस्य महेन्द्र गुप्ता (प्रशान्त)ले मधेश विरोधी शक्तिलाई विरोधीलाई जनताले परास्त गर्ने बताए । पार्टीका रुपन्देही प्रवक्ता मोहम्मद इस्लाम खान, सिद्धार्थनगर अध्यक्ष अरमान अली लगायतले बोल्दै वर्तमान दुइतिहाई बहुमतको सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताए । 

बैशाख २, २०७६ मा प्रकाशित

प्रकाश आचार्य

प्रकाश आचार्य लोकान्तरका लागि ५ नम्बर प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस