भाजपालाई प्रियंका गान्धीको प्रश्न : भारतको कुरा गर्नुस्, पाकिस्तानको किन कुरा गर्नुहुन्छ ?

बैशाख २, २०७६

काठमाडौं – भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी वाड्राले सत्तारूढ भारतीय जनता पार्टी झूटको खेतीमा लागेको आरोप लगाएकी छन् । 

उत्तर प्रदेशको फतेहपुर सिकरीमा कांग्रेस उम्मेदवार राज बब्बरको चुनावी अभियानमा बोल्ने क्रममा सोमवार प्रियंकाले प्रश्न उठाउनेहरूलाई सरकारले चुप लगाउन खोजेको बताइन् । 


ADVERTISEMENT

‘उनीहरू पाकिस्तानको कुरा गर्छन् । भाजपा राष्ट्रवादी दल हो भने पाकिस्तानको बारेमा कुरा नगरेर भारतका लागि के गरिरहेको छ भनोस्,’ उनले भनिन् । 

कांग्रेसका लागि पूर्वी उत्तर प्रदेश प्रभारी प्रियंकाले भाजपा सरकार विकासलाई चुनावी अभियान बनाएको भन्छ तर विकास धरातलमा देखिएको छैन भनी आरोप लगाइन् । ‘म राज्यभरि घुमेकी छु । युवाहरू बेरोजगार छन्, किसानहरू चिन्तित र ऋणी छन् किनकि कुनै नाफा छैन,’ उनले भनिन् । 

कांग्रेसले न्यूनतम आयको प्रत्याभूति गराउने न्याय योजनामार्फत जनतामा पहुँच बनाउन खोजेको तर भाजपा जनताको आवाज दबाउन लागिपरेको प्रियंकाको आरोप छ । 

‘प्रश्न उठाउनेलाई राष्ट्रघाती भनिन्छ । आफू राष्ट्रवादी भए भाजपा नेताहरूले सडकमा हजारौंको संख्यामा विरोध गरेका किसानलाई किन भेटेनन् ? कुटपिट गरेर मारिएका व्यक्तिको परिवारलाई किन भेटेनन् ?’ प्रियंका गान्धीले सोधिन् । 
हिन्दुस्तान टाइम्सबाट
 

बैशाख २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस