प्रेस काउन्सिलका कर्मचारीको त्रुटिले पोखराका पत्रकार अर्जुन गिरी प्रहरी हिरासतमा

बैशाख २, २०७६

काठमाडौं – पोखराको ताण्डबन्यूज डटकमका सम्पादक अर्जुन गिरीलाई प्रहरीले विद्युतीय अपराध (साइबर क्राइम) मुद्दामा पक्राउ गरेपछि प्रेस स्वतन्त्रतामाथि प्रहरी हस्तक्षेप भएको भन्दै विरोध भइरहेको छ ।

नेपाल पत्रकार महासंघले प्रेस विज्ञप्ति नै जारी गरेर प्रहरीले पत्रकार पक्राउ गरेको घटनाको विरोध गरिसकेको छ । तर पत्रकार गिरी सञ्चारमाध्यमको नियामक निकाय प्रेस काउन्सिल नेपालका कर्मचारीको त्रुटिका कारण प्रहरी हिरासतमा परेको देखिएको छ ।


ADVERTISEMENT

प्रहरीले प्रेस काउन्सिलमा सूचीकृत नभएका अनलाइनमाथि मात्रै विद्युतीय अपराध मुद्दामा कारवाही अगाडि बढाउने गरेको छ । तर काउन्सिलमा सूचीकृत हुँदाहुँदै पनि ताण्डबन्यूजका सम्पादक गिरीमाथि किन कारवाही प्रक्रिया अगाडि बढाइयो त ?

प्रेस काउन्सिलका कर्मचारीको त्रुटिले ताण्डबन्यूज सूचीकृत नभएको जानकारी प्रहरीसम्म पुगेपछि प्रहरीले गिरीलाई पक्राउ गरेर कारवाही अगाडि बढाएको हो । प्रेस काउन्सिलका अनुगमन अधिकृत सुरेन्द्र मल्लद्वारा हस्ताक्षरित पत्रमा ‘काउन्सिलमा सूचीकृतका लागि आवेदन दर्ता नभएको’ व्यहोरा लेखिएको छ । तर प्रेस काउन्सिलको वेबसाइटमा राखिएको विवरणमा अर्जुन गिरी सम्पादक रहेको ताण्डबन्यूज सूचीकृत छ ।

प्रेस काउन्सिलले गरेको पत्राचार :-


प्रेस काउन्सिलका कर्मचारीले अनलाइनको अभिलेख राख्दा ‘स्पेलिङ’मा त्रुटि गरेकाले गलत पत्राचार हुन गएको देखिएको छ । अभिलेखमा tandavnews हुनुपर्नेमा tandannews सूचीकृत गरिएको रहेछ । v हुनुपर्नेमा n भएकाले गलत पत्राचार भएको छ ।

यस्तो छ प्रेस काउन्सिलको अभिलेखमा :-
अभिलेखमा भएको त्रुटिका कारण गलत पत्राचार भएको काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले बताए । ‘त्यो अनलाइन सूचीकृत छ, हामीले प्रहरीलाई पत्र लेखेर उहाँलाई छाड्न भनिसकेका छौं । समाचारको विषय हाम्रो क्षेत्राधिकार हो,’ उनले भने, ‘आवश्यक प्रशासनिक प्रक्रिया मिलाएर उहाँ छुट्नुहुन्छ ।’

प्रेस काउन्सिलको अभिलेखमा त्रुटि नभएको भए वा अनलाइन सूचीकृत नभएको पत्राचार नभएको भए पत्रकार अर्जुन गिरी पक्राउ नै पर्ने थिएनन् । प्रेस काउन्सिलको अभिलेखमा एउटा ‘स्पेलिङ’ त्रुटि हुँदा पत्रकार गिरी प्रहरी हिरासतमा पुगेका छन् ।

बैशाख २, २०७६ मा प्रकाशित

जी भट्ट

भट्ट ‘लोकान्तर’का डेस्क सम्पादक हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस