सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता हुनै नसक्ने - मन्त्री अर्याल

बैशाख २, २०७६

स्याङजा- भूमि व्यवस्था , सहकारी तथा गरीबी निवारण मन्त्री पदमाकुमारी अर्यालले सरकारी जग्गा व्यक्तिका नाममा कुनैपनि हालतमा दर्ता नहुने बताएकी छिन् । स्याङ्जाको चापाकोटमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सर्वोच्च अदालतकै फैसला आएपनि सरकारी जग्गा व्याक्तिका नाममा दर्ता गर्न नसकिने बताएकी हुन् ।

उनले त्यस्तो सपना नदेख्न समेत आग्रह गरिन् । 'यदि कसैले त्यस्तो सपना देखेको छ भने त्यो सपना नदेखे हुन्छ', मन्त्री अर्यालले चेतावनी दिइन् । आफ्नो एउटै मात्र उद्देश्य मालपोत र नापी कार्यालयमा हुने गरेका बेथितिको अन्त्य गर्नु रहेको भन्दै उनले कुनैपनि बहानामा आफू नअल्झिने बताइन् ।


ADVERTISEMENT

यताउता केही गरेर कसैले प्रभावमा पार्ने सोचेको भए त्यो ठूलो भूल हुने मन्त्री अर्यालको भनाइ थियो । जनताको सम्पत्तिको रक्षा गर्ने दायित्व सरकारको भएको बताउदै मन्त्रालयले मालपोत र नापी कार्यालयमा रहेका श्रेस्तालाई कप्युटर प्रणालीमा सुरक्षित राख्न कार्यालयमा रहेका पुराना कागजपत्रलाई स्क्यानिङ गर्ने काम भइरहेको जानकारी दिइन् ।

मालपोत र नापी कार्यालको काम कारवाहीलाई सुधार गर्ने उद्देश्यका साथ अनलाइन प्रणालीको सुरुवात गरेको बताउदै मन्त्री अर्यालले आफूले चाहेजति काम अझै नभएपनि धेरै सुधार भएको बताइन् । सबैभन्दा बढी भ्रष्टाचार शौचालयमा हुने गरेको मन्त्री अर्यालको भनाइ थियो ।

मालपोत र नापी कार्यालयको बेथिती रोक्नको लागि कार्यालयलाई व्यवस्थित गर्न जरुरी रहेको बताइन् । ‘अब बन्ने कार्यालय सबै एकै ठाउँमा राखिने र एक ठाउँबाट अर्को ठाउँको काम देखिने खालको भयो भने जनतालाई दुख पनि हुदैन र कोठैपिच्छे हुने ढिलासुस्ती र आनाकानीको पनि अन्त्य हुन्छ’, मन्त्री अर्यालले भनिन् ।

मन्त्रालयले सहकारीको भित्रभित्रै अनुगमन गरेको र आगामी पाँच वर्षभित्रमा सहकारीको संख्यालाई पचास प्रतिशतमा झार्ने उहाँले बताइन् । सहकारी जुन उद्देश्यले खोलिएको हो सोही अनुसार काम गर्नुपर्ने भन्दै उनले खालि बचत र ऋण दिने कामले मात्रै नपुग्ने बताइन् ।

अब सहकारीहरु उत्पादनसँगै जनताको सुख दुःखसँग पनि जोडिनुपर्ने भन्दै मन्त्री अर्यालले चापाकोटसँगै सिंगो जिल्लाको विकासका लागि आफू सधैं लाग्ने बताइन् । स्थानीय स्तरमा पनि विकासका काममा साझा सहमति गरेर काम गर्नुपर्ने भन्दै मन्त्री अर्यालले विकासमा राजनीति नगर्न समेत आग्रह गरिन् ।

बैशाख २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस