फागुन १, २०८०
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
तत्कालीन अनेरास्ववियूको राजनीति गरेर अघाएपछि पत्रकारितामा आएका विराट अनुपम पूर्वमा चिनिएका पत्रकारमध्ये एक मानिन्छन्। उनी पढेलेखेका पनि छन्। त्रिवि इञ्जिनीयरिङ अध्ययन संस्थानबाट डिप्लोमा इन सिभिल इञ्जिनीयरिङ कोर्स सकेर आफूले अध्ययन गरेको पेशामा आवद्ध नभई उनी किन् पत्रकारितामै रमाइरहेका छन्, त्यो उनैले जान्ने कुरा भयो ।
उनलाई नजिकबाट चिनेका, बुझेका उनका मित्रहरूले विराट अनुपम एकदमै डिप्लोम्याटिक, सुझबुझका साथ आफ्नो धारणा बनाउने र राम्रो लेख्ने क्षमता भएको पत्रकार रहेको बताउँछन् । इटहरी आसपासका स्थानीयवासीहरूले पनि उनको खुलेर प्रशंसा गरेका छन्। सामाजिक सञ्जालमा आएजस्तो त्यति नराम्रो विचार भएको मानिस त हैनन् विराट, कसरी के हुन गयो यस्तो भन्ने उनीहरूको खुल्दुली छ।
इटहरीका मेयर द्वारिकलाल चौधरीसँग भएको विवादका कारण यतिखेर पत्रकार विराट अनुपम चर्चाको शिखरमा छन्। यो सबैलाई थाहा भएको कुरा भयो। तर उनीभन्दा अझ धेरै चर्चा द्वारिकलाल चौधरीको पनि छ। पत्रकार विराट अनुपमको नाकको डाँडी भाँच्न एक करोड रुपैयाँ छुट्टाएको छु भन्ने मेयर चौधरीको आपत्तिजनक धारणाले देश नै हल्लायो। पत्रकारलाई लोपारेको भिडियो बाहिरिएपछि मेयर चौधरीको झनै चर्चा भयो ।
'पत्रुकार', 'चाटुकार' भनेर मेयर चौधरीले गरेको कमेन्टले पत्रका विराट अनुपम निकै दु:खी छन्। विराटसँगै पेशागत हक हितमा साथ दिने उनका प्रिय मित्रहरू पनि सहानुभूतिका साथ खडा छन्। यो पंक्तिकार पनि लेखक पत्रकारमाथि हुने जुनसुकै किसिमको भौतिक हमला वा धम्कीको पक्षधर हैन। तर कलमको चरम दुरूपयोग गरेको भनेर मेयर द्वारिकलाल चौधरी यसरी जंगिएका छन् कि मानौं अब यहाँ केही हुनेवाला छ, अथवा ठूलै प्रलय हुनेवाला छ।
उनले आफू भ्रष्टाचारी नभएको बरु उल्टै माफियाहरूको योजनामा आफूलाई पेल्न खोजिएको बताएका छन्। पेशागत मर्यादाका कुरा, व्यक्तिको स्वभाव, आचरण, प्रसुतीकरण र संस्कारलाई लिएर आम मानिसहरू पत्रकार विराट अनुपम र मेयर द्वारिकलाल चौधरीको समर्थन र विरोधमा उत्रिएका छन्। पत्रकार महासंघ र केही प्रभावशाली नेताहरूले यस सन्दर्भमा धारणा राखेका छन्। यिनै विवादका कारणले होला सामाजिक सञ्जाल र मिडियाहरूमा पत्रकार र मेयरका बारेका सकरात्मक, नकरात्मक दुवैथरीका टिप्पणीहरू भएका छन्।
जस्तो कि हालसालै मेयर द्वारिकलाल चौधरी काठमाडौं पुगेर फर्किए। विमानस्थलमा पत्रकारहरूले उनलाई घेरिहाले। काठमाडौंको मिडियामा उनको क्रेज बलिउडको कुनै हिरो जस्तो देखियो। कतिपयले त मेयर साउथ इण्डियन फ्लिमबाट प्रभावित भएको पनि भने। जे होस्, दृष्य निकै रमाइलो नै थियो। कुनै न कुनै विषयमा तातिरहने युट्युब, ट्विटर र फेसबूक जस्ता सामाजिक सञ्जालले काम पाएका थिए। मूलधारका मिडियाहरूमा पनि इटहरी प्रकरणले प्रथामिकता पायो।
यो पङ्तिकार भने निजी काम विशेषले पूर्व इटहरी नै थियो। यद्यपि मेयरसँगको सम्पर्क भने पुरानै हो। पत्रकार विराट अनुपमको भने नाम सुनेको थिएँ । उनका केही स्टोरीहरू पनि पढेको थिएँ । जे होस्, उनको लेखनमा राम्रै दखल छ। म पनि लेखनमा रुचि भएको र समसामयिक विषयमा अराजक नै सही विचार पस्किहाल्ने आदतजन्य स्वभाव भएका कारण यी विराट अनुपम भन्ने मनुष्यलाई किन नभेट्ने भन्ने भयो। फेरि उनी पूर्व नै थिए। मलाई के लाग्यो भने यो विषय सर्वाधिक चासोको विषय भएकाले पहिले पत्रकार विराट अनुपम र त्यसपछि मेयर द्वारिकलाल चौधरीलाई भेटर केही लेख्नु न्यायोचित हुन्छ भन्ने लाग्यो।
धरानको एक होटलमा मैले विराट अनुपमलाई भेटेँ। उनी एकदमै भलाद्मी, नम्र स्वभावका मानिस रहेछन्। उनको बोल्ने शैली निकै गजब रहेछ। कुनै दार्शनिकमा हुने गुणजस्तो उनले झ्वाप्प दारी पालेका थिए। मैले उनलाई पहिलो फोनमा भनेको थिएँ, 'के हो यार मित्र बबाल भइरहेको छ। मैले पनि के-के लेखेँ फेसबूकमा। धेरैले धेरै कुरा भने। हामी भेटौं।' विराट अनुपमले मेरो प्रस्ताव सहजै स्वीकार पनि गरे। नमस्कार पनि भने मलाई। एकदमै राम्रो दिल भएका मानिस रहेछन्, उनी। हुन त पूर्वसँग म खासै फेमिलियर छैन। राजनीतिक विषय स्थानीय पत्रकारलाई धेरै थाहा हुन्छ। मलाई के मतलब ! तर विराट अनुपम र द्वारिकलाल चौधरीको लफडाले राष्ट्रिय रूपमा तरंग ल्याएको थियो। राष्ट्रिय तरंगमा तैरिनु राष्ट्रिय स्तरको स्तम्भकारको धर्म थियो। मैले धर्म निभाउने इच्छा गरें। एकवारको जुनीमा धर्म धेरै नै गरें।
नाकको डाँडीको मूल्य एक करोड तोकिएका विराट अनुपमको कथन थियो, 'दाइ मेरो नाकको मूल्यसँग म खुशी छैन। यो न खुशी हुने विषय हो न दु:खी । सामाजिक सञ्जालमा विभिन्न ट्रोलहरू आइरहेको छ। मलाई त ठीकै छ सहन सक्छु, तर परिवारलाई गारो भएको छ।' हुन पनि उनका विरोधमा सामाजिक सञ्जालमा अनेकथरी टिप्पणी आएका थिए। उनले मलाई पनि गाली गरे। उनको गुनासो थियो, 'तपाईंले फेसबूकमा लेखेको स्टाटसले मलाई माफिया नै बनायो।' तर उनले यस्तो भन्दै गर्दा उनको मुहारमा कुनै आक्रोश थिएन, न कुनै अस्वभाविक हाउभाउ। उनी एकदम शान्त थिए। मैले लेखेको कुरा अहिले हटाउन नसक्ने तर आत्मआलोचना भने गर्छु भनेर उनको दुखेसोलाई मत्थर पारिदिएँ।
उनले इटहरीमा स्थानीय सरकारको भ्रष्टाचार र भूमाफियाविरुद्ध कलम चलाएको गाबी गरे। उनले यस्तो दाबी मात्र गरेनन्, मेयर चौधरी पनि भ्रष्टाचारविरोधी नै भएको र अहिलेसम्म आर्थिक दुरूपयोग गरेको कुरा थाहा नभएको उनको धारणा थियो। विराटले पहिले अनेरास्ववियूमा काम गर्दादेखि नै मेयर चौधरीलाई चिनेका रहेछन् । आर्थिक मामिलामा मेयर कडा भएको उनको अनुभव छ । तर उनको यो दाबी पनि थियो कि आर्थिक मामिलामा मेयरभन्दा उनी झन् कडा छन्। उनले पीडा व्यक्त गरे- 'तर आज ममाथि नै भूमाफिया र भ्रष्टाचारी कर्मचारीलाई ‘सहयोग गरेको’ आरोप लागेको छ। मैले सबैभन्दा बढी त्यसको खण्डन गर्नु परिरहेको छ, यतिबेला। सामाजिक सञ्जालमा अनगिन्ती ट्रोल चलिरहेका छन्। मलाई ‘झोले पत्रकार’, ‘भ्रष्टाचारीको सहयोगी’, ‘भूमाफियाको सहयोगी’ जस्ता आरोप लागिरहेको छ। साउदी, कतार र मलेसियामा बसेर वास्तविकता केही नबुझी मलाई गाली गरिरेहका छन् ।'
मेयरको बारेमा राम्रो समाचार लेखे खुसी हुने र नराम्रो लेख्यो भने पैसा खाएर सुनियोजित रूपमा लेख्यो भन्ने गरेको विराट अनुपमको आरोप थियो। मेयर प्रचारवादी भएको र पछिल्लो समयमा डिप्रेसनको औषधि पनि खाइरहेको दाबी समेत उनले गरे । उनले आरोप पनि लगाए- 'उनले पत्रकारलाई पैसा खुवाउँथे होला त्यही भएर उनलाई छोएर केही लेख्यो कि पैसा खाएरै लेख्यो भनेर शंका गर्ने उनको आदत रहेछ ।'
विवादको मुख्य चुरो भने रोचक छ। आफ्नो सामाजिक सञ्जाल फेसबूकमा विराट अनुपमले एकजना खेलाडी नानीसँगको फोटो सेल्फी पोस्ट गरेका रहेछन्। त्यो फोटोमुनि मेयरले 'पत्रुकार', 'चाटुकार' भनेर लेखेका रहेछन् कमेन्टमा । त्यस्तो कमेन्ट देखेपछि विराटले मेयरलाई फोन गरेर बुझ्दा उनीहरूको झगडा भएको रहेछ। फोनमा मेयरले आफूलाई 'तँ 'पत्रुकार', 'चाटुकार' नै होस्' भनेर आरोप लगाएको अनुपमको भनाई छ । मेयरले भने विराटले आफूलाई तथानाम 'आमाचकारी' गाली गरेको र भूमाफियासँग मिलेर आफ्नो बदनाम गर्न खोजेको आरोप लगाएका छन् ।
मेयरलाई विराटको प्रश्न छ- 'कर्मचारी, सेवाग्राही र संविधानसँग विमति राख्नुहुन्छ । आलोचनात्मक पत्रकारलाई पत्रुकार/चाटुकार भन्ने, झोक चलेका सेवाग्राहीको निवेदन च्यात्ने, नेकपा नेतादेखि कर्मचारी कुट्ने काममा मेयरको किन जोस चल्छ ? नासु मनोज दाहाललाई सीएफएलमा भ्रष्टाचारी भन्दै कुटेको, मोबाइल समेत खोसेको उनको आरोप छ। आफूलाई अख्तियारले क्लिन चिट दियो भनेर प्रचार गरिरहेका मेयरले आफूजस्तै क्लिन चिट पाएका कर्मचारीलाई भ्रष्टाचारी भन्दै हिँडेको विराट अनुपमको आरोप छ। तर उनले यस्तो आरोपका आधार के हुन् भन्ने चाहिँ खुलाएनन्।
इटहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष तथा तपाईंकै दलका नेता रामप्रसाद चौलागाईंले खानेपानीमा भ्रष्टाचार गरेको भन्दै सार्वजनिक रूपमा कयौंपटक भनेको कुरालाई विराट अनुपमले चित्त दुखाएकै छन्। तर रामप्रसाद चौलागाईंले छोटो समयमा नै धेरै आर्थिक प्रगति गरेको स्थानीयहरू समेत बताउँछन्। हिजो खोले खान नपाउनेको आज निकै छोटो समयमा विना परिश्रम महल खडा भएको मेयरको आरोप छ। मेयरले चौलागाईंलाई भ्रष्टचार गरेको भन्दै पिटेका पनि थिए। यो प्रकरणमा पनि पत्रकार विराट अनुपम असन्तुष्ट देखिन्छन्।
इटहरीमा जनप्रतिनिधिहरू आएपछिको सिएफएल बल्ब खरिदमा अनियमितता भएको कुरा विराट अनुपमले नै खुलासा गरेका थिए। त्यही समाचारको आधारमा मेयर पैसा राख्न थाइल्याण्ड गयो पनि भनियो। कर्मचारीतन्त्रबाट हुने उक्त काममा बजार मूल्यभन्दा धेरै रकममा खरिद गरेको भनेर कर्मचारीमाथि कारबाही गर्नुपर्छ भन्ने विराटको माग जायजै भएपनि मेयरले आफूलाई नै केन्द्रित गरेर समाचार लेखेको बुझेको तर त्यस्तो नभई मेयरकै भ्रष्टचारविरोधी छवीमा सहयोग पुराउन लेखेको उनको दाबी छ।
विराट अनुपम भन्छन्- 'दुई ठाउँमा डोजर चलाउँदै बिटुलो पारेर मेयरले अब इटहरी- ९ को डीभीएम स्कूलमा मिचिएको संरचनामा डोजर चलाउने भने। मैले उनको सकरात्मक पक्षको समाचार सक्रियतापूर्वक आफ्नो मिडियामा लेखेँ। डीभीएममा मिचिएको क्षेत्रमा घेराबारा गर्दा स्कूलले भत्कायो। मेयरको काममा असहयोग गर्यो। मेयरको सार्वजनिक जग्गा खोजीमा मैले समाचारदेखि सामाजिक सञ्जाल सबैतिर सहयोगी कुरा लेखेको छु। म कसरी भूमाफियाको सहयोगी ? सार्वजनिक जग्गा खोसेर फलैँचा, पार्क र खुला स्थान बनाऊ भनेर मैले मेयरसँग पटक-पटक कुरा गरेको छु। म कसरी भूमाफियाको सहयोगी? '
तर मेयर द्वारिकलाल चौधरी भने पत्रकार विराट अनुपमको नामै तोकेर विरोधमा उत्रिका छन्। यसकारण चौधरी चर्चाको शिखरमा छन् । उनले आफूमाथि लागेको आरोपको खण्डन गर्दै यो पित् पत्रकारिता हो भनेका छन् । विगत दुई वर्षदेखि विराट अनुपम नामक पत्रकारले उनको पार्टीका सदस्य रामप्रसाद चौलागाईंको निर्देशनमा आफूलाई हिलो छ्याप्ने काम गरिरहेको बताएका छन् ।
'भूमाफिया, खानेपानी भित्रको भ्रष्टाचारी रामप्रसाद चौलागाईंसँग मिलेर कसैको चरित्र हत्या गर्ने, पूर्वाग्रह राखेर पित् पत्रकारिता गर्ने, तल्लो स्तरका भ्रष्ट पत्रुकारको मात्र पत्रकार विराट अनुपमले इटहरी नगरपालिकाको विषयमा हचुवाको भरमा समाचार प्रवाह गरेका कारण मैले उसको नाकको डाँडी भाँचिदिने भनेको हुँ,' मेयर चौधरीको स्पष्टीकरण हुने गरेको छ । आवेशमा भनेपनि त्यस्तो त कहाँ गर्छु र ? भन्ने मेयरको आशयले उनलाई चौतर्फी रूपमा दबाब भएको चाहिँ स्पष्ट हुन्थ्यो।
यो पङ्तिकारले मेयर द्वारिकलाल चौधरीलाई भेटेर केही सत्यता बुझ्ने कोशिश पनि गर्यो । उनको पुरानै अडान थियो- 'भ्रष्टाचारीलाई कारवाही गर्दा नै ममाथि मिडिया खनिए ।' पङ्तिकारसँगको कुराकानीमा चौधरीले आफ्नो भ्रष्टाचारविरोधी अभियान कसैको दबाब वा आन्दोलनबाट नरोकिने घोषणा पनि गरे। उनको भनाइ थियो- यदि पार्टीले निर्देशन दियो भने आत्मआलोचना गर्छु । माफी पनि माग्छु । म उदण्ड मान्छे होइन, अनुशासित हुँ, तर भ्रष्टाचारीसँग चाहिँ झुक्दिनँ, झुक्दिनँ, झुक्दिनँ ।
उनले आफूलाई भ्रष्टाचारविरोधीका रूपमा प्रस्तुत गर्दै केही प्रसंग पनि सुनाए ।
'एउटा इञ्जिनीयर थिए । घर नक्सा सम्पन्नमा पैसा खाएका थिए । मलाई त्यो सूचना प्राप्त भयो । मैले उसका सिनियर इञ्जिनीयर र अरू कर्मचारीलाई राखेर सोधें- कति पैसा लिएको छ ? दश मिनेट बोल्नै सकेन । अनि मैले ठहर गरें, मौन स्वीकृनि लक्षणम् । गेटआउट, यू करप्ट । योर जब इज फिनिस्ट्ड भनिदिएँ । माटोको भाँडोलाई काठको मुंग्रो । काँक्रे चोरलाई मुड्के सास्ती । अनि निस्कियो बाहिर गेटमा खस्याक खुसुक सुनें । मैले देखें, फेरि भनें गेट आउट । तर त्यही कुरा मिडियामा त द्वारिक चौधरीले कर्मचारीलाई कठालो समातेर घिसार्यो भनेर पो आयो,’ चौधरीले भने।
अर्को प्रसंग - 'म थाइल्याण्डमा छु, यहाँ इटहरीमा पोलपोलमा बत्ति राखेर ‘भ्रष्टाचारी मेयर द्वारिकलाल चौधरी भन्दै दुष्प्रचारगरियो । जो भ्रष्टाचारमुक्त प्रशासन चलाउने कमस खाएर बसेको छ, त्यसैलाई भ्रष्टाचारी भनियो । हामीले सुशासन, पारदर्शिता, भ्रष्टाचारमुक्त प्रशासन चलाउने कसम खायौं । पछिल्लो कालमा सबै इञ्जिनीयरहरू, ओभरसियरहरू, प्रशासन शाखाका सबै कर्मचारीहरू, ठेकेदारहरूलाई राखेर भ्रष्टाचारमुक्त नगरपालिका बनाउने घोषणा गरेका थियौं । त्यहाँ मैले भनें, अब इटहरी नगरपालिकामा ठेक्कापट्टा, सामान गरिद गरेबापत एक रूपैयाँ कमिसन दिनुपर्दैन । नो कमिसन, नो भ्रष्ट्राचार, नो टोलरेन्स, नो कम्प्रमाइज इन क्वालिटी, इट इज माइ डाइरेक्सन । दिस इज माइ लाइन । मैले भनें- एक रुपैयाँ पनि तलमाथि गरेको थाहा पाइयो भने छाड्दिनँ,' मेयर चौधरीले भने ।
तलबले पुग्दैन, ओभरटाइम गर्नुहुन्छ ? ८० घण्टा । तपाईंले ५० प्रतिशत इन्सेन्टिभ पाउनुहुन्छ । २८ तलब छ, १४ हजार भत्ता ४२ भो, खाजा भत्ता ४ हजार, ४६ हजार भयो । पेट्रोल, लत्ताकपडा, गाडी भत्ता गर्दा ५० हजार पुग्छ । यत्तिले पनि पोसाएन भने जागिर छोडनुस्, व्यापार गर्नोस्, मैले भनें । त्यो भन्न पाइन्छ कि पाँइदैन ? अन्यथा हो ? यही कुरा गर्दा मिडियाहरूले तपाईंले आफ्नो कर्मचारीलाई हकार्नु भयो, चक्ल्याङ–चुक्लुङ गर्नुभयोभन्दै प्रचार गरे ।
मैले भनेको थिएँ कर्मचारीलाई- भाइ घुस खान्छौ ? जवाफ दिए, घुस खानलाई सरकारी जागिर खाएको होइन । अनि भनें त्यो हिम्मत छ भने अब जनता पार्क बनाऊ । जनतापार्क साहसका साथ अघि बढाएको हो । त्यो म र मेरो टीमले मात्रै बनाउन सक्थ्यो ।
अख्तियारले छोडिदिन्छ भ्रष्टाचारीलाई । तर उसले छाडे पनि जनताले छाड्दैनन् यो नगरपालिकामा । म भनिदिन्छु सबै कुरा जनतालाई । मेरो नगरपालिकामा यस्ले यति भ्रष्टाचार गरेको छ भनेर जनतालाई बताइदिन्छु । जनताले कठालो समातेर सडकमा लान्छ, कालो मोसो दलिदिन्छ । अब नेताहरूले माफी माग भनेको पनि सुनें । म प्रदेश कमिटीमा छु ।
प्रदेश कमिटीले मेरो आलोचना गर्छ, प्रदेश कमिटीले तिमीले आत्मआलोचना गर भन्यो भने म गर्छु । म उदण्ड होइन, अनुशासित मान्छे हो । पार्टीमा लागेबापत पैत्रिक सम्पत्ति आधा गुमेको छ । तर उनले योगेश भट्टराई, शंकर पोखरेल र पर्शुराम बस्नेतर्फ संकेत गर्दै उनीहरूले आफूलाई फोन गरेर के भएको हो इटहरीमा भनेर समेत नसोधेको बताए । 'सोध्न सक्दैनन् ? फेसबूकबाट बडो आदर्श दिनुपर्छ ?' उनको आक्रोश छ ।
फेसबूक चलाउन आफूलाई पनि आउने उनको दाबी छ। आफूले माफी नमाग्ने बरु आफ्नो सट्टा उनीहरूले नै माफी मागिदिनुपर्ने उनी बताउँछन्। पार्टीले कारबाही गरे झन् आनन्द हुन्छ, काम गर्नै पर्दैन भन्ने मेयर चौधरी पार्टीमा लाग्दा आफ्नो सम्पत्ति सकिएको दाबी समेत गर्छन् । 'बाउको कुरा नमानेर, दबाब नसुनेर राजनीति गरेँ, अब कसको दबाब मान्छु म ?' उनले भने ।
अन्त्यमा, पत्रकार विराट अनुपमले आफ्नो कर्म पेशागत मर्यादामा रहेको बताइरहँदा केही गल्ती कमजोरी भएको हो भने त्यो आत्मआलोचना गर्नुपर्ने वियय हो। यो सबै पेशामा लागू हुने नियम पनि हो। पेशागत मर्यादाका कुरा पनि हुन्छन् । र, मेयरले पनि आफ्ना अभिव्यक्तिहरूलाई संयमित भएर राख्दा प्रभावकारी हुन्छ।
छोटो विश्लेषण गर्दा के देखिन्छ भने को भन्दा को कम भन्ने इगोका कारण यो सब भइरेहेको छ। खासै ठूलो विषय नभए पनि यसलाई 'महाभारत' बनाइएको छ। पत्रकार पनि कडा नै छन्। मेयर झन् कडा छन्। इटहरीको ३३ डिग्री तापक्रममा मेयर सा'ब र पत्रकार महोदय ठण्डा हुने कि ?
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...