भारतका प्रसिद्ध हास्यकलाकार कपिल शर्मा अहिले ठूलै विवादमा घेरिएका छन् । ‘द कपिल शर्मा शो’ चलाएर करोडौं दर्शकको मनमा बस्न सफल भएका कपिलको आम्दानी पनि करोडमै छ । नेपालमा पनि कपिलका प्रशंसकको संख्या ठूलो छ । त्यसैले नेपालीहरू पनि कपिलको पछिल्लो विवादलाई चासोका साथ हेरिरहेका छन् ।
के हो विवाद ?
खासमा कपिल शर्मा पहिलेदेखि नै विवादमा परिरहने पात्र हुन् । आफ्ना सहकर्मीहरूलाई होच्याएर व्यवहार गर्ने अनि आफ्नो शोमा आएका पाहुनालाई घन्टौं कुराइदिने उनको बानीको समयसमयमा आलोचना हुँदै आएको छ । तर यसपालीको विवाद चाहिँ अलि चर्कै छ ।
केही दिनअघि आफ्ना सहकर्मीहरूसँग अस्ट्रेलियामा एउटा कार्यक्रम गरेर भारत फर्किने क्रममा एयर इन्डियाको फ्लाइटमै कपिल शर्माले रक्सी पिएर झैझगडा गरेको कुरा बाहिर आएको छ ।
आफ्ना बाल्यकालका साथी चन्दन प्रभाकरसँग झगडा परेर बोलचाल नभइरहेकोमा कपिल चिन्तामा परेका थिए । उनले फ्लाइटमै चन्दनसँग बोल्न खोजेपनि चन्दन मौन रहे । अनि उनले चन्दनलाई ‘तेरो केही हैसियत छैन, मैले नै तँलाई चर्चित बनाएको हुँ, कपिल शर्मा बन्न नखोज्,’ भन्दै हातपात गर्न खोजे ।
उनीहरूलाई छुट्ट्याउन खोज्ने सुनिल ग्रोवरलाई पनि कपिलले तथानाम गाली गरे । ‘तँ मेरो कार्यक्रम छोडेर गएको होइनस् ? फ्लप भएपछि गिडगिडाउँदै मसँग काम माग्न आइस् । मैले तँलाई खोजेको पनि हैन, मविना तेरो हैसियत नै छैन’ भन्दै धक्का दिए । अन्य साथीहरूले झगडालाई सामसुम पार्नका लागि दुवैलाई सम्झाए ।
भारत आएपछि भने कपिल शर्माले यो घटनालाई दबाउन कोशिश गरे । त्यसका लागि उनले आफ्नी प्रेमिका गिन्नीको खुलासा गरेर मिडियाको ध्यान मोड्न खोजे । तर घटनाको खुलासा भइहाल्यो ।
कपिलको व्यवहारबाट चित्त दुखाएका चन्दन र सुनिलले शूटिङमा भाग नलिने घोषणा गरिदिएपछि कपिललाई पश्चात्ताप भयो । यसकारणले उनी रोएको पनि खबर आयो । चन्दनले यस सम्बन्धमा कुनै प्रतिक्रिया नदिएपनि सुनिलले चाहिँ कपिललाई ‘अरूलाई सम्मान गर्न सिक, आफूलाई भगवान् नठान’ जस्ता प्रतिक्रिया दिए ।
विवादसँग पुरानो नाता
कपिल शर्मा यसअघि पनि पटकपटक विवादमा आएका छन् । ट्विटरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मेन्सन गर्दै उनले मुम्बईका सरकारी अधिकारीहरूले आफूसँग घूस मागेको अनि यही हो त मोदीको अच्छे दिन भनी उल्लेख गरेका थिए । पछि गल्ती कपिलकै देखिएको थियो ।
त्यस्तै उनले आफ्नो शोमा आएकी एक गर्भवती महिलामाथि भद्दा जोक गरेर अपमान गरेका थिए । यस विषयमा एक गैरसरकारी संस्थाले उनका विरुद्ध मुद्दा नै दायर गरेको थियो ।
फिल्मको प्रमोसनका लागि कलाकार तथा निर्देशकहरू उनको कार्यक्रममा आउने गर्छन् । त्यसक्रममा उनले विद्या बालन, आदित्य रोय कपूर, श्रद्धा कपूर लगायतका कलाकारलाई घन्टौं कुराएर अपमान गरेका थिए । अनि एउटा कार्यक्रममा प्रियंका चोपडाले उनलाई कुराउँदा चाहिँ उनले रिसाएर इयरपिस झिकेर मिल्काएका थिए । कपिलले बलिउड कलाकारमध्ये शाहरुख खानलाई बढी नै स्नेह देखाउने गरेका छन् भने अरूलाई खासै भाउ दिँदैनन् ।
नेपाल आउँदा पनि उनले त्यस्तै घमण्डी पारा देखाए । तीन वर्षअघि नेपालमा एउटा कार्यक्रम गर्न आएका कपिलको कार्यक्रम त रद्द भयो तैपनि आयोजकहरूले उनलाई ल्याए ।
याक एन्ड यती होटेलमा बसेका कपिलले पत्रकार सम्मेलनमा पत्रकारहरूलाई दुई घन्टा जति कुराएपनि माफी माग्नु मुनासिब ठानेनन् । सँगै रहेका नेपाली हास्यकलाकार जितु नेपाललाई उनले कुनै भाउ दिएनन् । तर यसमा आयोजकको बढी दोष देखिन्छ ।
कपिलको जोक नै अपमानजनक
कपिल शर्माले आफ्नो शोमा विभिन्न पात्र खडा गरेर तिनीहरूमाथि निर्मम व्यंग्यात्मक प्रहार गर्ने गरेका छन् । उनकी पत्नी बन्ने सुमोना चक्रवर्ती, लटरी नाम गरेकी नर्स बन्ने रोशेल राव अनि सुगन्धा मिश्रमाथि उनले लैंगिक विभेद हुने किसिमका जोक पनि गर्ने गरेका छन् ।
त्यस्तै बम्पर नामक मोटे/मोटी पात्र बन्ने किकु शारदालाई मोटोपनकै जोकहरू (फ्याट शेमिङ) गर्ने गरेका छन् । अन्य पात्रहरूलाई पनि निकै तुच्छ व्यवहार गरेको देखिने गरेको छ । जोकहरू प्रायः होच्याउने किसिमकै हुन्छन् ।
पात्रहरूलाई यसरी अपमान गर्दै जाँदा कपिल बढी नै चरित्रमा घुसेछन् कि झैं देखियो । त्यसैले त उनी पात्रको निर्वाह गर्ने साथी कलाकारलाई पनि अपमान गर्न थाले ।
अनि कपिलले आफ्नो शोमा कलाकारहरू बोलाएर पनि भद्दा जोक गर्ने गरेका छन् । कुनै पात्रलाई पुरुष कलाकारको निधार चुम्न लगाउनेदेखि लिएर जबर्जस्ती तान्ने लगायतका काम उनले गर्ने गरेका छन् । ज्याकी भग्नानीलाई गुत्थी पात्रले गरेको जबर्जस्ती यहाँ उदाहरण दिन सकिन्छ ।
फिल्मको प्रमोसनको लोभले कलाकारहरू पनि उनका भद्दा जोकमा सामेल हुन्छन् । कपिलको जोकिङ स्टाइल मन नपराएर शायद आमिर खान जस्ता गम्भीर कलाकारले कपिलको शोमा गएर कहिल्यै आफ्नो फिल्मको प्रमोसन गरेनन् ।
सामान्य परिवारबाट आएर प्रगति
सन् १९८१ मा पञ्जाबको एक सामान्य परिवारमा जन्मिएका कपिलको गायक बन्ने धोको थियो । हवल्दार बुवा र गृहिणी आमाका दुई छोरामध्येका कान्छा कपिल सन् २००७ मा स्टार प्लसमा आउने द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज प्रतियोगिता जितेपछि चर्चामा आए ।
त्यसपछि उनले विभिन्न टिभी च्यानलमा कमेडी कार्यक्रममा भाग लिए अनि फिल्मी अवार्ड शोहरू पनि होस्ट गरे । यसक्रममा उनले बलिउडका टप अभिनेता र निर्माताहरूको संगत गर्ने मौका पाए ।
सामान्य परिवारबाट आएका कपिलले ठूलाठालुको संगत र पैसा कमाउन थालेपछि उनमा घमण्डको पारा चढ्दै गएको थियो । अझ ‘कमेडी नाइट्स विथ कपिल’ सोनी च्यानलको सबभन्दा बढी हेरिने कार्यक्रमका रूपमा स्थापित भएर कपिलले भरमार पैसा कमाउन थालेपछि उनमा प्रसिद्धिको नशा बढ्दै गयो ।
टिभीमा सुपरहिट भएपछि फिल्म खेल्ने अफर समेत पाएका कपिलले हास्यकलाकारको टाइपकास्ट भूमिकामा आफूलाई बाँध्न चाहेनन् । त्यसैले अनगन्ती फिल्म अफरलाई उनले इन्कार गरिरहे ।
तर सन् २०१५ मा तीनजना नयाँ अभिनेत्रीका साथ उनले लिड रोलमा ‘किस किसको प्यार करूँ’ नामक फिल्म खेले । फिल्म राम्रै चल्यो र कपिलको करीयरलाई अघि बढाउन मद्दत ग–यो । यो वर्ष उनको फिरंगी नामक चलचित्र आउँदैछ ।
पात्र र व्यक्तिमा फरक
कपिल शर्माले जहिल्यै आफूलाई सामान्य मान्छेका रूपमा पर्दामा प्रस्तुत गर्ने गरेका छन् । उनले आफ्नो शोमा गरीबीलाई मजाकको रूपमा प्रस्तुत गर्ने गर्छन् । भारतमा व्याप्त गरीबीलाई हटाउन सरकारले कदम चाल्नुपर्ने उनको सूक्ष्म सन्देश हुन्छ ।
तर वास्तविक जीवनमा चाहिँ पात्रअनुसारको सामान्य मान्छेको व्यवहार कपिलले नगरेको देखिन्छ । स्ट्यान्ड अप कमेडियनहरू वरुण ग्रोवर र नितिन गुप्ताले जस्तो प्रस्ट राजनीतिक जोक कपिलले गर्दैनन् किनकि उनलाई यसबाट दर्शक भड्किएलान् भन्ने भय छ ।
अबको बाटो
कपिलका लागि अबको बाटो सजिलो देखिँदैन । सुनिल ग्रोवरले गुत्थी र डाक्टर मसहूर गुलाटीका रूपमा शोको स्तर उच्च बनाएका थिए । त्यस्तै चन्दन प्रभाकरले चन्दु चायवालाका रूपमा पनि राम्रो हास्य प्रस्तुत गर्थे । यी दुवैले कपिलसँग चित्त दुखाएर शो छोडेपछि कपिललाई मुश्किल पर्ने निश्चित छ ।
कपिलको शोका स्थायी पाहुना नवजोत सिंह सिद्धु पञ्जाबमा मन्त्री भएपनि शोमा आउने बताउँदैछन् तर यसो गरिरहे केही समयपछि उनलाई पञ्जाबका जनताले आलोचना गर्न सक्छन् ।
कपिलले बेलैमा बानी सुधारेर सहकलाकारलाई सम्मान दिनु जरूरी देखिन्छ । अनि उनले शोको फर्म्याट पनि परिवर्तन गर्नुपर्ने देखिन्छ । सधैं एउटै किसिमका जोक पेलेर उनले दर्शकलाई आफूप्रति आकर्षित गरिरहन सक्दैनन् ।
Advertisment
Advertisment