ट्रम्पको कालो विगत दर्शाउने सिरियल नेटफ्लिक्समा

असार ९, २०७६

काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले फेरि एकपटक राष्ट्रपति चुनाव लड्ने घोषणा गर्दा उनको कालो विगत दर्शाउने एउटा टीभी शृंखला नेटफ्लिक्समा आएको छ । 

ह्वेन दे सी अस नामक सिरियलले अमेरिकाको खराब विगतलाई देखाएको छ । काला जातिका पाँच युवकहरूको जीवनमा यो सिरियल आधारित छ । उनीहरूलाई गोरा जातिकी एक महिलालाई बलात्कार गरेको आरोपमा जेलमा कोचिन्छ । 


ADVERTISEMENT

सन् १९८९ को अप्रिल १९ मा न्युयोर्कको सेन्ट्रल पार्कमा जगिङ गरिरहेकी एक महिला त्रिशा मेलीमाथि बलात्कार हुन्छ । उनलाई नराम्ररी कुटपिट पनि गरिन्छ । बलात्कार भएको ठाउँबाट केही पर १३ देखि १६ वर्ष उमेरका ३० जना जति काला जातिका बालकहरू थिए । 

प्रहरीले अनुसन्धान थाल्दा पहिलो शंका तिनै बालकहरूमाथि गर्छ । लामो सोधपुछपछि पाँच बालकमाथि शंका गहिरिन्छ । उनीहरूलाई हिरासतमा राखिन्छ । वकिल र प्रहरी सबै मिलेर बालकहरूमाथि दबाब दिन्छन्, उनीहरूलाई यातना दिइन्छ । अनि उनीहरूलाई जबर्जस्ती क्यामरा अगाडि अपराधको साबिती बयान दिन लगाइन्छ । 

घटनापछि काला र गोरा जातिका मानिसहरूबीच तनाव बढ्छ । त्यतिखेर डोनल्ड ट्रम्प सफल व्यापारी हुन्छन् र उनले एउटा पत्रिकामा फ्रन्ट पेजमा विज्ञापन निकालेर पाँच बालकहरूमाथि मृत्युदण्डको माग गर्छन् । सबै उमेरका अपराधीलाई मृत्युदण्ड दिइनुपर्ने उनको माग हुन्छ । 

यो सिरियल आएपछि विपक्षीहरूले ट्रम्पलाई कडा आलोचना गरिरहेका छन् । अनि यसले रंगभेदका विषयमा पनि बहस चलाएको छ ।

एजेन्सी
 

असार ९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस