हुआवेले अमेरिकाको वाणिज्य मन्त्रालयविरुद्ध हाल्यो मुद्दा

असार ९, २०७६

काठमाडौं – चिनियाँ कम्पनी हुआवेको अमेरिकी शाखाले वाशिङटनको क्षेत्रीय अदालतमा अमेरिकाको वाणिज्य मन्त्रालयविरुद्ध मुद्दा दायर गरेको छ । 

अमेरिका र चीनबीच जारी व्यापारयुद्धका कारण हुआवेले समस्या भोग्नुपरेको छ । अमेरिकी सरकारले उसमाथि प्रतिबन्ध लगाएको छ । तर हुआवेको यो मुद्दा पुरानो घटनासँग सम्बन्धित छ । 


ADVERTISEMENT

यो घटना सन् २०१७ को हो । त्यतिखेर अमेरिकाको वाणिज्य मन्त्रालयले हुआवेका उपकरण कब्जामा लिएको थियो र लामो समय बित्दा पनि यसबारेमा कुनै निर्णय लिएन । यसलाई हुआवेले अवैध कदम भनेको छ । 

अदालतसमक्ष बुझाइएको मिसिलअनुसार, सन् २०१७ मा हुआवेले कम्प्युटर सर्भर समेत चीनमा उत्पादित केही दूरसञ्चार उपकरणको जाँचका लागि क्यालिफोर्नियास्थित एक स्वतन्त्र प्रयोगशालामा पुर्‍याएको थियो । जाँचपछि ती उपकरणलाई स्वदेश फर्काइनुपर्ने थियो । तर अमेरिकाको वाणिज्य मन्त्रालयले नियौत अनुमतिको जाँच गर्ने भन्दै उपकरणलाई अलास्काको एंकरेज शहरमा थुनेर राख्यो । 

उपकरणहरूलाई अमेरिकाले २० महिनाभन्दा बढी कब्जामा लिएको भए पनि वाणिज्य मन्त्रालयले यसमा कुनै फैसला गरेन । 

त्यही उपकरण स्वदेश लैजान पाइयोस् भनी हुआवेले मुद्दा दर्ता गराएको हो ।

एजेन्सी
 

असार ९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस