माधवकुमार नेपालको बाटो छेक्दै नाराबाजी, सडक नबन्दा साँखुवासी आक्रोशित

फाइल फोटो
असार १०, २०७६

साँखु – सडकको अवस्थाबाट आजित बनेका साखुँवासीले पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता माधवकुमार नेपालको बाटो छेकेका छन् ।

शंखरापुर नगरपालिकाले सोमवार आयोजना गरेको नगरसभा कार्यक्रममा पुगेका नेपाललाई विभिन्नपटक आश्वासन दिने तर सडकको निर्माणमा चासो नदिने भन्दै साँखुवासीले बाटो छेकेका हुन् ।


ADVERTISEMENT

साँखु क्षेत्रबाट २ पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेको भन्दै इन्द्रायणीका मिलन खड्काले जनताको समस्या सुन्नका लागि समय दिनुपर्ने माग गरेका थिए । खड्काले सडकका कारण दुर्घटना नभएको दिन नभएको भन्दै सडक सुधार तथा छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्न नेपालसमक्ष माग राखे ।

स्थानीयले जनताको समस्या सुन्नका लागि नेता नेपालसमक्ष आह्वान गरेपछि नेपाल पछि आउँछु भनेर कार्यक्रमस्थलबाट गाडी चढेर हिँडेका थिए । सोही क्षेत्रबाट निर्वाचित भएर पनि जनताको गुनासो सुन्न समय नदिएर हिँडेको भन्दै स्थानीयले नेपालविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

चावहिल–साँखु सडकखण्डका सर्वसाधारण लामो समयदेखि सडकको दुरवस्थाका कारण निकै समस्यामा छन् । घाम लाग्दा धुलो र पानी पर्दा हिलोले दिनहुँ हैरानी खेप्नुपरेको उनीहरूको गुनासो छ । सडक निर्माणमा विलम्ब भएको भन्दै छिटो निर्माण गर्न सम्बन्धित पक्षसँग उनीहरूको माग छ ।

असार १०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार