न्यायिक समितिमा उजुरीको चाप

असार १०, २०७६

दाङ – तुलसीपुर उपमहानगरपालिकाको न्यायिक समितिमा १ सय ४ वटा मुद्दा दर्ता भएका छन् । 

चालू आर्थिक वर्षको हालसम्म उजुरी परेका १०४ मुद्दामध्ये २१ वटाको फछ्र्याैट भइसकेको न्यायिक समितिका संयोजक माया आचार्यले जानकारी दिए ।


ADVERTISEMENT

साउनमा ९, भदौमा ३, असोजमा ६, कात्तिकमा ४, मंसिरमा ९, पुसमा १०, माघमा ५, फागुनमा १२, चैतमा १४, वैशाखमा १३, जेठमा १५ र असारको पहिलो सातासम्म ३ वटा मुद्दा दर्ता भएको समितिले जनाएको छ । 

विशेषगरी घरेलु हिंसा, जग्गा रोक्का, माना–चामल, आमा–बाबु अलग भएर छोराछोरीहरू विचल्लीमा परेका जस्ता मुद्दा समितिमा बढी आउने गरेको उनको भनाइ छ । त्यसैगरी लेनदेन, झै–झगडा, ज्येष्ठ नागरिकलाई खान–लाउन नदिएको कुटपिटलगायतका मुद्दा पनि बढी आउने गरेको संयोजक आचार्यले जानकारी दिए ।

उजुरी परेपनि दक्ष कर्मचारीको अभावमा न्याय सम्पादनमा समस्या हुने गरेको समेत उनको भनाइ छ । ‘न्यायिक समितिमा थुप्रै उजुरीहरू आउने गरेका छन्,’ उनले भने, ‘तर दक्ष कर्मचारी नहुँदा न्याय सम्पादनमा समस्या हुने गरेको छ ।’

संयोजक आचार्यले हाल उपमहानगरका प्रत्येक वडामा मेलमिलापकर्ता सूचीकृत गरेकाले वडामा मिलाउन नसकेका मुद्दाहरु छानेर उपमहानगरपालिकामा पठाउने गरेको बताए । यसरी मुद्दाको प्रकृतिलाई हेरेर न्यायिक समितिले पक्ष र विपक्षका सदस्य राखेर मेलमिलाप गराउँदै आएको समेत उनले बताए । हाल न्यायिक समितिमा उजुरी प्रशासनमा एक, हेल्पडेक्समा एक, सचिवालयमा एक र कार्यालय सहयोगी एक गरी चार कर्मचारी कार्यरत रहेको समितिले जनाएको छ ।

असार १०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस