ट्रम्पले फेरि चुनाव जित्न सक्छन्, यस्ता छन् चार कारण

असार १०, २०७६

अघिल्लो मंगलवार डोनल्ड ट्रम्पले पुनः निर्वाचित हुनका लागि अभियानको शुरूआत गरेका छन् । फ्लोरिडाको ओर्लान्डोमा उनले एक भेलामा अभियानको घोषणा गरेका थिए । उक्त भेलामा उनले डेमोक्रेटहरूले (आफूविरुद्ध महाभियोग लगाउने कोशिश गरेर) लोकतन्त्रलाई अवमूल्यन गर्न खोजेको आरोप लगाए । अनि उनले (पहिलेको जस्तै गरी) हिलारी क्लिन्टनविरुद्ध पनि विषवमन गरे । छोटकरीमा भन्दा ट्रम्पले सन् २०२० का लागि यस्तो सन्देश दिए : ‘मैले अमेरिकालाई फेरि महान् बनाएँ, अब मलाई भोट दिएर अमेरिकालाई महान् बनाइराख्नुस् ।’

डेमोक्रेटहरूले ट्रम्पको यो भाषण विचारधाराशून्य र डरत्रासमा मात्र आधारित भनी उडाए अनि उनीहरू हालै सम्पन्न सर्वेक्षणहरूका परिणाम हेरेर मख्ख परिरहेका छन् । ती सर्वेक्षणमा डेमोक्रेट पार्टीका सबै उम्मेदवारले ट्रम्पलाई हराउने अझ केहीले त निकै ठूलो मतान्तरले हराउने देखाएका छन् । मुलर रिपोर्ट, दक्षिणी सिमानामा आप्रवासीप्रति देखाएको व्यवहार र मन्त्रिपरिषद्का विभिन्न सदस्यको विवाद लगायतका विभिन्न विषयले गर्दा राष्ट्रपति कमजोर बनेको उनीहरूको विश्वास छ ।


ADVERTISEMENT

तर सन् २०१६ को आघातपूर्ण अनुभवका बावजूद डेमोक्रेटहरूले अमेरिकी लोकतन्त्रको एक प्रमुख पाठ अझै नपढेको देखिन्छ : निर्वाचन निष्क्रिय बहुसंख्यकले नभई उत्साहित अल्पसंख्यकले जिताउने हुन् । डेमोक्रेटहरूसँग निष्क्रिय बहुसंख्यक भए पनि ट्रम्पसँग उत्साहित अल्पसंख्यक छन् । त्यसैले अहिलेको समयमा (कम्तीमा) चार कारणहरूले गर्दा ट्रम्प पुनः निर्वाचित हुने बाटोमा छन् । 

पहिलो कारण त पक्कै पनि अर्थतन्त्र नै हो । अहिलेको आर्थिक वृद्धि कति अर्थपूर्ण र ठोस छ र भनी हामीले तर्क गर्न सक्छौं तर परम्परागत आर्थिक सूचकहरूको मापदण्डमा अमेरिकाको अर्थतन्त्र निकै उम्दा रहेको अस्वीकार गर्न सकिँदैन । परिणामस्वरूप, आर्थिक सूचकांकमा मुख्यतया आधारित पूर्वानुमानका नमूनाहरूले सन् २०२० मा ट्रम्पले निकै भारी अन्तरको विजय हासिल गर्ने देखाउँछन् ।

दोस्रो, ट्रम्पले आफ्नो गैरपरम्परागत मतदाताका लागि काम गरेका छन् । औसत रिपब्लिकनलाई सामान्यतया ‘नरम रिपब्लिकन’ भनिन्छ र ऊ अहिलेसम्म ट्रम्पको प्रशंसक बन्न सकेको छैन । उनी जोधाहा र अश्लील भएको त्यस्ता रिपब्लिकनले ठान्छन् तर उनीहरू करकटौती चाहिँ होस् भन्ने इच्छा राख्छन् । डेमोक्रेटिक पार्टीभित्रको ‘समाजवादी धार’ को डरका कारण उनीहरूले ट्रम्पलाई नै भोट दिँदै आफ्नो रकम जोगाउनेछन् । 

त्यसैगरी क्रिस्चियन दक्षिणपन्थीहरू फेरि एकपटक बलियो भएर आउनेछन् । धार्मिक आस्था राख्ने मतदाताहरूले ट्रम्पलाई गरेको समर्थनले उदारवादीहरूलाई छक्क पारेको भए पनि यो एकदमै सरल कुरा हो । सर्वोच्च अदालतमा ट्रम्पले पक्का अनुदारवादी गर्भपातविरोधी न्यायाधीशहरू नील गोर्सच र ब्रेट कवानालाई नियुक्त गरेर धर्मभीरुहरूलाई खुशी बनाएका छन् । उनले पछि पनि यस्ता अन्य न्यायाधीश नियुक्ति गर्ने बताएका छन् । अनि ट्रम्पको अर्को कार्यकालमा (कम्तीमा) एक न्यायाधीशको पद रिक्त हुने सम्भावना रहँदा क्रिस्चियन दक्षिणपन्थीहरू ट्रम्पप्रति फेरि उत्साहित हुने पक्का छ । रो विरुद्ध वेडको नजिरलाई पल्टाउने काम नै यी क्रिस्चियन दक्षिणपन्थीलाई दिइने उपहार हुनेछ । 

अनि ट्रम्पका वास्तविक समर्थकहरू कामदार र तल्लो मध्यमवर्गीय गोरा मतदाताहरू हुन् जो ‘पर्खाल बनोस्’ (मेक्सिकोको सीमामा पर्खाल) र ‘वाशिङटनको हिलो सुकोस्’ (सम्भ्रान्तको कब्जाबाट वाशिङटन मुक्त होस्) भन्ने चाहन्छन् । अहिलेसम्म उनीहरूले चाहेको कुरा पाएका छैनन् । हिलो खासै सुकेको छैन बरू त्यसलाई ट्रम्पका भ्रष्ट अधिकारीहरूले झनै हिलाम्मे बनाएका छन् । अनि ट्रम्पले जतिसुकै फुर्ती लगाएको भए पनि पर्खालको काममा सिन्को भाँचिएको छैन । त्यसैले ट्रम्पका वास्तविक मतदाताहरूको इच्छा पूरा हुन बाँकी नै छ । उनीहरूको आवाज मिडियामा यान कूल्टर र टकर कार्लसनले चर्को गरी उठाइरहेका छन् । तर उनीहरू इच्छा पूरा गराउन कहाँ जाने त ? अमेरिकी इतिहासकै सबभन्दा विविधतापूर्ण पार्टीमा ? बर्नी स्यान्डर्स, अलेक्जेन्ड्रिया ओकासियो–कोर्टेज, स्टेसी अब्राम्स र एलिजाबेथ वारेनको पार्टीमा ?

अनि उनीहरू निराश भएर घरैमा बस्छन् त ? होइन । उनीहरूलाई ट्रम्पले धोका दिएका हैनन् । उनले पर्खाललाई राजनीतिक एजेन्डामा कायम राखेको र खतरनाक आप्रवासीविरोधी एजेन्डालाई अघि बढाइरहेको भनी सही रूपमा दाबी गरेका छन् । ‘डीप स्टेट’ (जासूसी संयन्त्र) र कंग्रेसका रहेका तिनका भ्रष्ट सहायकहरूले आफूलाई ‘अघि बढ्न नदिएको’ भनी उनले दाबी गर्नेछन् । त्यसैले अन्तिम प्रतिरोधलाई तोड्नका लागि आफूलाई दोस्रो कार्यकाल आवश्यक हुने र आफूले बल्ल प्रतिज्ञा पूरा गर्न सक्ने उनले भन्नेछन् । 

तेस्रो, परिचालित अल्पसंख्यकविरुद्ध उभिने बहुसंख्यक अमेरिकीहरू ट्रम्पसँग असन्तुष्ट छन् तर डेमोक्रेटिक पार्टीले उनीहरूलाई उत्प्रेरित गरेको छैन । उनीहरूले त्यो दलको प्रस्ट प्रोफाइल देखेका छैनन् । त्यस दलमा राष्ट्रपतिका लागि २० भन्दा बढी उम्मेदवार छन् र तिनीहरू लगभग सबै कुरामा एकअर्कासँग विमति राख्छन् । 

अनि चुनाव आउनलाई ५०० दिनजति बाँकी रहँदा डेमोक्रेटहरू अहिले नै एकअर्काका विरुद्ध लागेका छन् । स्यान्डर्सविरुद्धका दाताहरू अन्य उम्मेदवारहरूलाई आफ्नो पक्षमा ल्याउन खोज्दैछन् भने डेमोक्रेट संस्थापन पक्षका मानिस स्यान्डर्स गुटसँग झगडा गरिरहेका छन् । त्यो गुटले डेमोक्रेटिक संस्थापनविरुद्ध पैसा उठाइरहेको छ । ट्रम्प पुनः निर्वाचित हुने यो चौथो कारण हो ।

ट्रम्पले सन् २०१६ मा पनि राम्रो अभियान चलाएका थिए – क्लिन्टनभन्दा त धेरै राम्रो । ट्रम्पले त शपथ लिएको दिनदेखि नै राष्ट्रपतीय निर्वाचन अभियान चलाइरहेका छन् र उनको अभियानले हालैका समयमा राम्रो पैसा पनि जोडिरहेको छ । सन् २०१६ मा उनलाई बेवास्ता गर्ने रिपब्लिकन अभियन्ता र दाताहरूले पनि यसपालि उनलाई करोडौं डलर दिएका छन् । 

ट्रम्प ऐतिहासिक रूपमै अलोकप्रिय नेता होलान् तर उनी (सजिलैसँग) पुनः निर्वाचित हुने हदसम्म लोकप्रिय छन् । उनका समर्थकहरू चरम उत्साहित छन् भने डेमोक्रेटहरूमा यसको कमी छ । डेमाक्रेटहरूले यो उत्साह सिर्जना गर्न ५०० दिन बाँकी छ तर उनीहरू एकजुट हुनुपर्छ, विभाजित हुने हैन ।

द गार्डियनमा प्रकाशित कास मुद्देको विश्लेषण

असार १०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस