एक वर्षअघि नै सम्पन्न हुनुपर्ने मध्यपहाडी लोकमार्ग अझै आधा पनि बनेन

असार १५, २०७६

काठमाडौं – एक वर्षअघि नै सम्पन्न हुनुपर्ने राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग निर्माणको काम अझै आधा पनि सम्पन्न भएको छैन ।

पाँचथरको चिवा भञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म १७ सय ७६ किलोमिटर लामो उक्त सडक आयोजना गत आर्थिक वर्ष २०७४/०७५ मै सम्पन्न हुनुपर्ने भएपनि हालसम्म ४५ प्रतिशत मात्रै काम सम्पन्न भएको हो ।


ADVERTISEMENT

आर्थिक वर्ष २०६४/०६५ देखि शुरू भएको उक्त आयोजना आव २०६८/०६९ देखि राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिएको थियो । राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेपछि पनि गत आर्थिक वर्ष २०७४/०७५ मै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर हालसम्म ४५ प्रतिशत मात्रै काम सम्पन्न भएको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनाले जानकारी दिएको छ ।

अन्य आयोजनासँग समेत समन्वय गर्नुपर्दा काममा केही ढिलाइ भएको आयोजनाका अधिकारीहरूको जिकिर छ ।

‘शुरूमा गत वर्ष नै सकिने लक्ष्य राखिएको थियो,’ आयोजनाका प्रवक्ता नरायण पौडेलले भने, ‘सबै नयाँ बाटो हामीले मात्रै बनाएका हैनौं । कतिपय स्थानमा पुरानै बाटोलाई जोड्दै जाने र त्यस्तो अवस्थामा अरूसँग समेत समन्वय गर्नुपर्दा केही ढिलाई भएको हो ।’

कुल १७ सय ७६ किलोमिटर लम्बाइ रहेको आयोजनामध्ये करीब १३ सय किलोमिटर मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत निर्माण भइरहेको छ । बाँकी काम सडक विभाग अन्तर्गत नै अन्य आयोजनाले गरिरहेको आयोजनाका प्रवक्ता पौडेलले बताए । 

‘अन्य आयोजनाहरूले पनि सडक निर्माण गरिरहेका छन्,’ प्रवक्ता पौडेलले भने, ‘जस्तै भोजपुरको निबुगाडदेखि भोजपुर जोड्ने खण्ड एडीबीले बनाइराखेको छ । यस्तोमा एडीबीसँगको समन्वय आवश्यक पर्छ । त्यसैगरी अरूसँग पनि समन्वय गर्नुपर्ने हुन्छ, ।’

पौडेलका अनुसार पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत निर्माण भइरहेकोमध्ये अहिलेसम्म ट्र्याक खोल्ने काम सबै सम्पन्न भइसकेको छ । त्यस्तै करीब ३ सय किलोमिटरमा ग्राबेल समेत भइसकेको छ ।

‘अहिलेसम्म ट्र्याक खोल्ने काम सबै सम्पन्न भइसक्यो,’ उनले भने, ‘यसरी ट्र्याक खोल्ने र ग्राबेल गर्ने लगायतका काम गरेर हाम्रोअन्तर्गत समग्रमा ४५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।’

पछिल्लो सयम पुरानो बाटोलाई जोड्दै गएकाले आयोजना निर्माणको अवधि घट्ने आयोजनाका अधिकारीहरू बताउँछन् । सरकारले लिएको संशोधित लक्ष्यसम्म आयोजना निर्माणको काम सम्पन्न गरिने आयोजनाको दाबी छ । राष्ट्रिय गौरवको आयोजना सम्पन्न गर्ने सरकारको संशोधित लक्ष्य आर्थिक वर्ष २०७७/०७८ रहेको छ ।

राष्ट्रिया योजना आयोगका अनुसार कुल १७ सय ७६ किलोमिटर लम्बाइ रहेको उक्त सडक निर्माणका लागि ७९ अर्ब १८ करोड रुपैयाँ लागत लाग्ने अनुमान रहेको थियो । सो मध्ये हालसम्म करीब २७ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।

गत आर्थिक वर्ष २०७४/०७५ मा यो आयोजनाका लागि कुल बजेट ७ अर्ब ९३ करोड ८८ लाख रुपैयाँ विनियोजन गरिएको थियो । सो रकम सबै खर्च भएको थियो । त्यस्तै चालू आर्थिक वर्ष २०७५/०७६ मा  ५ अर्ब ५५ करोड २ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सो मध्ये चालू आवको गत चैतसम्म ३ अर्ब ८८ करोड रुपैयाँ खर्च भइसकेको योजना आयोगले जानकारी दिएको छ ।

पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणका लागि मुलुकका विभिन्न पाँच स्थानमा कार्यालय स्थापना गरेर काम भइरहेको छ । काठमाडौंमा निर्देशनालय रहेको आयोजनाको पाँचथर, काभ्रे, गोरखा, पर्बत र दैलेखमा योजना कार्यालयहरू रहेका छन् ।

आयोजना निर्माणमा समस्या

भविष्यमा निर्माण हुने सुनकोशी, सप्तकोशी लगायतका जलविद्युत् आयोजनाहरूबाट डुबानमा पर्न सक्ने सडक खण्ड निर्माणमा अन्यौलता सिर्जना भएको आयोजनाले जानकारी दिएको छ । 

त्यस्तै जग्गा रेखांकन तथा अधिग्रहणमा समस्या र प्राविधिक जनशक्तिको अभाव रहेकाले केही समस्या आएको आयोजनाका प्रनितिधिहरूको दाबी छ ।

असार १५, २०७६ मा प्रकाशित

प्रेम चन्द

पत्रकार चन्द लोकान्तरका लागि आर्थिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस