मलेसियालाई हराउँदै नेपाल फाइनलमा

असार २३, २०७६

मलेसिया-  एसीसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत सोमवार भएको खेलमा नेपालले आयोजक मलेसियालाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ । 
    
मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा नेपालले मलेसियालाई सात विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । साविक विजेतासमेत रहेको नेपालले अब उपाधिका लागि सिङ्गापुर र हङ्कङबीचको विजेतासँग खेल्नेछ । सिङ्गापुर र हङ्कङबीच दोस्रो सेमिफाइनल खेल अहिले भइरहेको छ । 
    
मलेसियाले दिएको ८८ रनको सामान्य लक्ष्यलाई नेपालले १५ दशमलव ५ ओभरमा तीन विकेट गुमाएर भेट्टायो । नेपालको जीतमा भीम सार्कीले अविजित ३३ रन बनाउँदा कप्तान रोहितकुमार पौडेलले अविजित ३१ रन जोडे । त्यसैगरी पवन सर्राफले १८ तथा रित गौतमले तीन रन जोडे । बलिङतर्फ मलेसियाका हैकल मोहमद खेरले दुई विकेट लिए भने मुहमद आमीरले एक विकेट लिए । 

टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ४० दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ८७ रन बनाएको थियो । उसका लागि मुहमद आमिरले सर्वाधिक २४ रन जोडे । त्यस्तै हैकल मोहमद खेरले १२, वान अमिरुलले ११ तथा अहमेद अकमल अलिफले १० रन जोडे । मलेसियालाई सस्तैमा समेट्नेक्रममा नेपालका सागर ढकाल एक्लैले तीन विकेट लिए भने कुशल मल्लले दुई विकेट लिए । 


ADVERTISEMENT

प्रतियोगिताको उपाधि विजेता टोलीले श्रीलङ्कामा आयोजना हुने यु–१९ एशिया कपमा छनोट हुने अवसर पाउनेछ । फाइनल खेल मङ्गलवार हुनेछ । 

असार २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस