भोजपुर भिडन्तमा मारिने राई विप्लवका ओखलढुंगा इञ्चार्ज, प्रहरीतर्फ एकको मृत्यु, एक घाइते

असार २५, २०७६

काठमाडौंभोजपुर सदरमुकाममा बुधवार बिहान प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक प्रहरी जवान र अर्का विप्लव नेतृत्वको नेकपाका ओखलढुंगा इञ्चार्ज रहेको नेपाल प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाले लोकान्तरलाई जानकारी दिए ।


ADVERTISEMENT

थापाका अनुसार प्रहरी जवान सञ्जीव राई र विप्लव नेकपाका ओखलढुंगा इञ्चार्ज निरकुमार राई छन् । घटनामा प्रहरी जवान सोमनाथ भट्टराई घाइते भएका छन् ।

बिहान ८ बजेर ४५ मिनेट जाँदा भोजपुर सदरमुकामस्थित हाट बजारमा गोली हानाहान भएको थियो ।

विप्लवसँगको भिडन्तमा प्रहरीको मृत्यु भएको यो पहिलो घटना हो । प्रहरी जवान राईको कोखामा गोली लागेको एसपी थापाले बताए ।

उनका अनुसार घटनास्थलबाट चाइनिज पेस्तोल एक थान र चार राउण्ड गोली बरामद भएको छ ।

असार २५, २०७६ मा प्रकाशित

गगन अर्याल

लोकान्तर संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस