पाकिस्तानमा रेल जुध्यो, १० जनाको मृत्यु

असार २६, २०७६

इस्लामाबाद– पाकिस्तानमा बिहीवार बिहानै दुईवटा रेल एकआपसमा जुधेर भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै ६० जनाभन्दा बढी घाइते भएका छन् ।

पाकिस्तानी रेल अधिकारीहरुका अनुसार पंजाब प्रान्तको रहिम यार खानमा दुईवटा रेल जुधेका थिए । प्रहरीका अनुसार लाहोरबाट आइरहेको यात्रुबाहक रेल र चौबाटो (क्रसिङ) मा रोकिराखेको सामान ढुवानी गर्ने रेल एकआपसमा जुधेका थिए ।


ADVERTISEMENT

स्थानीय प्रहरी अधिकृत ओमार सलामतले जियो न्यूजलाई दुर्घटनाका बारेमा प्रतिक्रिया दिँदै दुर्घटनास्थलबाट कम्तीमा दश जनाको शव बाहिर निकालिएको र ६६ जनाभन्दा बढी घाइतेको उद्धार गरिएको जानकारी दिएका छन् ।

घाइतेहरूलाई उपचारका लागि तत्कालै स्थानीय अस्पतालमा भर्ना गरिएको छ । सलामतले घाइतेमध्ये चार जनाको अवस्था अत्यन्त गम्भीर रहेको पनि बताए ।

पाकिस्तानमा रेल दुर्घटना बेलाबखत भइरहन्छन् । भ्रष्टाचार, अव्यवस्था र लगानीको अभावका कारण दशकौंदेखि पाकिस्तानी रेलसेवा रुग्ण अवस्थामा पुगेको छ ।

तस्वीर : इन्डिया टुडे 

असार २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस