मन्त्री पण्डितमाथि भएको अभद्र व्यवहारप्रति प्रतिष्ठानले व्यक्त गर्‍यो दु:ख

असार २७, २०७६

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितमाथि शुक्रवार जवलाखेलमा आयोजित कार्यक्रममा भएको अभद्र व्यवहारप्रति आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानले दु:ख व्यक्त गरेको छ ।

परिषद्को १९औं बैठक समुद्घाटन समारोहमा सहभागी मन्त्री पण्डितलाई कालो झण्डा देखाउँदै कार्यक्रम स्थलमै एक समूहले नाराबाजी र होहल्ला गरेको थियो ।


ADVERTISEMENT

लोक सेवा आयोगले स्थानीय तहका लागि निकालेको विज्ञापन संविधान र संघीयताको मर्मविपरीत रहेकाले त्यसलाई रद्द गर्नुपर्ने लगायतका माग राख्दै उनीहरूले मन्त्री पण्डितको राजीनामा समेत मागेका थिए ।

उक्त घटनाप्रति दु:ख व्यक्त गर्दै प्रतिष्ठानले भनेको छ– 'नेपालको संविधानमा प्रत्याभूत भएका आदिवासी जनजाति, लोपोन्मुख र अति सीमान्तकृत लगायत उत्पीडनमा परेका समुदायहरूको हक अधिकारलाई सुनिश्चित गर्दै न्यायोचित मागहरूलाई सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको भन्ने भनाई राखिरहँदा उहाँप्रति देखाइएको अलोकतान्त्रिक र अवान्छित गतिविधि लोकतान्त्रिक मूल्य मान्यताअनुरूप हुनै सक्दैन,' प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत खड्गबहादुर रानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

साथै विज्ञप्तिमा उक्त अभद्र व्यवहारमा संलग्न व्यक्तिहरू प्रतिष्ठानसँग असम्बन्धित रहेको समेत प्रस्ट्याइएको छ । 

हेर्नुहोस्, विज्ञप्ति :

पढ्नुहोस्, यो पनि :

सार्वजनिक कार्यक्रममा मन्त्रीमाथि दुर्व्यवहार, विरोध छलेर क्वार्टरमा फर्किए लालबाबु

असार २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस