‘हरडहुवा’को उल्लासमा पश्चिम तराई

साउन ४, २०७६

धनगढी- धान रोपाईं सकिनै लाग्दा विविधताले भरिएको यहाँको पश्चिम नेपालको गाउँ बस्तीहरूमा फरक–फरक संस्कृतिको रौनक छाएको छ । एकातिर धान रोपाइपछिको हरडहुवा पर्वको रौनक थपिएको छ भने अर्कोतिर साउन महिनाको आगमनसँगै हरियो अर्थात साउनेसंक्रान्तिको ।

विशेष गरी तराईको आदिवासी डंगौरा थारु, रानाथारु, कठरिया थारु वस्तीमा यतिबेला हरडहुवा, निमौनी र हरधोवाको निकै रौनक थपिएको हो । जुन पर्वको रौनकले रोपाइको कार्य समापन भएको जनाउ पनि गर्दछ । हरडहुवा पर्व धान रोपाइ सकिएको खुसयालीमा कञ्चनपुर, कैलाली, बर्दियालगायत जिल्लास्थित डगौंरा, रानाथारु, कठरिया थारूहरुले सामूहिक रुपमा खानपान, नाचगान गरी पर्व मनाउन थालेका हुन् ।


ADVERTISEMENT

थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरीले हरडहुवा पर्वको अवसरमा चेलीबेटी तथा ईष्ट मित्रहरुलाई घरमा आमन्त्रण गरी आपसमा खुसयाली साटासाट गरिने प्रचलन रहेको बताए ।

उनका अनुसार हरडहुवा तथा हरधोवाको शाब्दिक अर्थ हर अर्थात हलो धुनु हो । जुन पर्वमा बंगुर, खसी सामूहिक रुपमा काटेर खानपान गरी रमाउने प्रचलन रहि आएको हो । तर वस्ती पिच्छे हरडहुवा फरक–फरक तिथिमा मनाउने गरिएको छ । पर्व मनाउने तिथिमा एक रुपता ल्याउन पनि जरुरी रहेको संयोजक चौधरीको जोड छ ।

गौरीगंगा नगरपालिका–१० नुक्लीपुरका बर्का गुरुवा (थारु जातिका पुरोहित) कालुराम चौधरीले थारु समुदायमा हरडहुवाको आफ्नै बिशेषता रहेको बताए । उनले रोपाइको क्रममा जानी नजानी किंरा फट्यांग्रा, सर्प, भ्यागुतालगायत जीवहरु मार्ने काम हुने हुँदा पापबाट मुक्तिको लागि पनि हर जुवाको पूजा गर्ने र खानपान गरी हरडहुवा मनाउने चलन रहि आएको जानकारी गराए ।

धनगढी उपमहानगरपालिका–७ जखौर बाबा टोलका स्थानीय विरेन्द्र चौधरीले गाउँका सबैले रोपाइ सकाएपछि सामूहिक रुपमा बंगुर काटेर शुक्रबार नै हरडहुवा मनाएको बताए ।

कैलारी गाउँपालिका–६ बेनौली र वडा नं. ८ पृथ्वीपुरका स्थानीयहरु शनिबार धुमधामका साथ हरडहुवा मनाइरहेका छन् । वस्तीमा निकै नै चहलपहल बढेको बेनौलीका स्थानीय पल्टुराम चौधरीले जानकारी दिए ।

उता पहाडी जिल्ला तथा पहाडी समुदायमा हरियो संक्रान्ति मनाउने प्रचलन पनि रहि आएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ वासुदेव पाण्डेका अनुसार हरियो संक्रान्तिको अवसरमा अन्नबाली सप्रियोस् भनी मेल प्रजातिको रुखको हाँगा धान रोपिएको खेतमा गाड्ने प्रचलन रहेको जानकारी दिए ।

यसैबीच असारको समाप्ती तथा साउनको आगमनले हिन्दु धर्मवलम्बीहरुमा अलग्गै उत्साह थपिएको छ । खेतीपाती बृद्धिको लागि भगवान शिवको पूजाआजा गर्ने, दीनदुखीलाई अन्न दान गर्ने परम्परा समेत रहँदै आएको बताइन्छ । साथै साउन महिनाभरी माछामासु नखाने, साउनभरी दैनिक रुपमा मन्दिर तथा देवालयमा जल चढाउने समेत बताइन्छ ।

पछिल्लो समय सवै जातजातिका महिलाहरुले साउने संक्रान्तिको अवसरमा हरियो चुरा लगाउने, हातमा मेहन्दी लगाउने समेत गरिएको छ ।

 

 

साउन ४, २०७६ मा प्रकाशित

लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि प्रदेश नम्बर ७ का प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस