विचारको जित, संख्याको हार, अलपत्र सरकार

साउन ७, २०७६

संसद विघठनको हल्ला चल्यो । आम मान्छेले पत्याएनन् । पत्याउने कुरै थिएन । स्पष्ट बहुमतको सरकार ढालेर प्रधानमन्त्री अर्को बहुमत खोज्न जालान् भन्ने सोच कसैमा थिएन ।

तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले त्यही गरे, जुन नगर्नुपथ्र्यो । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि लगायत ठूला नेतालाई कठोरतापूर्वक लोप्पा ख्वाइयो । अरु मझौला र साना कार्यकर्तालाई धर्धती रुवाइयो ।


ADVERTISEMENT

लथालिङ्ग देश, भताभुङ्ग चाला हुँदै आयो । यहीँदेख नेपाली काङ्ग्रेस निरन्तर अधोगतितिर धकेलियो । अहिले सत्तासीन नेकपाका कार्यकर्ताहरू उस्तैउस्तै भयले आक्रान्त छन् । सरकारले जहाँ टेक्छ, त्यहीँ पहिरो जाँदैछ । तमाम विधेयक फिर्ता गर्न बाध्य भएर जाडोयामको मगन्तेझैं खुम्चिएको सरकार जनताको भान्सामा विषादी भित्र्याएबापत झनै कठ्यांग्रिएको छ ।

भारतेली कवि भन्छन्, ‘चारो ओर कोइला ही कोइला है/देश का नहीँ देश के कर्णधारो का मन मैला है !’ नाना पाटेकर डाइलग बोल्छन्, ‘भगवान् ने सबसे अच्छा इन्सान बनायाथा । आज उपरसे वह भी देखता होगा सब रिङ्ता हुवा कीडे बनगए ।’ 

हाम्रा साहित्यकार सरुभक्त लेख्छन्, ‘नेताहरूले गुहु खाए, सेफ्टीट्यांकी फोरेरै खाए ।’ हो, प्रायः नेता विवेकशून्य बनेका छन् । गणतन्त्रका नेताहरूलाई राजतन्त्रका प्रवक्ताले अनेक खोट लगाएका छन् । कुरा सुन्दा ठीकै पनि लाग्छ ।

विलम्बै गरिँदा पनि पोहोर दशैंसम्ममा मेलम्चीको पानी आइसक्ने वाचा–कसम सुनाइएको थियो । यसपालि झनै गाँजेमाजे पारिँदैछ । मेलम्चीको थोरै बाँकी कामलाई धेरै पछि धकेल्ने षड्यन्त्र गरियो । गत जेठ ६ गते ऐनकानून पूरै मिचेर नयाँ ठेक्का दिइयो । असार सकिँदासम्म काम शुरू भएन ।

अब काठमाडौंमा गुठी विधेयकभन्दा धेरै ठूलो आन्दोलनको आगो उठ्न सक्छ । काठमाडौंवासी सबैथरि जनता रित्ता गाग्री र हाँडाभाँडा लिएर सडकमा आउन सक्छन् । फलफूल तरकारीभन्दा पानी बढी महत्त्वपूर्ण हुन्छ भन्ने सत्यलाई सरकारले समयमै बुभ्mन आवश्यक छ । भारतबाट नेपाल भित्रिने फलफूल–तरकारीको मुद्दा अकस्मात पेचिलो बन्न पुग्यो । मुद्दा चर्किनु अगावै पनि उताबाट यता निरन्तर विष भित्रिइरहेकै थियो । शिवरुपी नेपाली जनताले गरलपान गरेर घाँटी निलो पारिरहेकै थिए । पछि मिडियाले नागरिकलाई ‘थाहा’ दियो । जनसमुदायको सानो हिस्सामा थोरै चेत खुल्यो । प्रधानमन्त्रीज्यूको झूटको पर्दा ध्यारर्र च्यातियो । भारतेली राजदूतको पत्र जनताका हातहातमा पुग्दा पनि प्रधानमन्त्रीले आप्mनो अनभिज्ञता प्रदर्शन गरिरहे अनि सारा प्रतिपक्षीले सत्तापक्षमाथि अनेक अस्त्र प्रहार गर्ने मौका भेट्टाए । सप्रे खोसाखोस, बिग्रे दोषादोष । सरकारका सचिव र मन्त्रीहरू दोषादोष गर्न थाले । विषादीविरुद्ध चलाइएको पहिलो वाण मुख्यसचिवको पुर्पुरोमै सोझियो । यो युद्ध प्राकृतिक प्रकोपको बाढीले थोरै सेलाएको छ ।

प्राकृतिक प्रकोपको शब्दावली पनि मानव अपराधकै ढाकछोप हो । खानी, वन फँडानी, धूलोधूँवा अर्थात् अतिविधि प्राकृतिक दोहनकै कारण अतिवृष्टि वा अनावृष्टि भइरहेको छ । नेपालमा क्रसर उद्योगका नाममा भइरहेको नदीमाथिको अतिक्रमणमा सरकार सधैं मौन छ । हामी नेपाली सीमामा भारतले बाँध बनायो भनेर कोहोलो मच्चाउँछौं । आफू आप्mनो सुरक्षामा सिन्को भाँच्दैनौं । पीडित राहतकै नाममा भ्रष्टाचार बढाउँछौं ।

भ्रष्टाचार नियन्त्रणका कुरामा नाम कमाएका मन्त्री मातृका यादव फेरि एकपल्ट चर्चामा आए । उनले विषादी बहावको विषयलाई सचिवहरूले मन्त्रीहरूलाई ढाँटेको खुलासा गरे । मन्त्रिपरिषद्ले विषादी परीक्षण गर्ने निर्णय गर्‍यो । भारतेली राजदूतको पत्रादेशले निर्णय तुरुन्तै फिर्ता लियो । विषादीमैत्री सरकारको कलंकको भारी बोक्यो । आइफामा भारतसँग लम्पसार पर्‍यो । जनविरोध खप्न सकेन, फेरि जनतासामु लत्र्यो ।

सरकार यत्ति निरीह हुनुको मुख्य कारण यसको सिद्धान्तहीनता हो । एमाले र माओवादी केन्द्र एकीकरण भइसकेपछि जनताको बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादको फ्यूजन खोजियो । पार्टीमा बहस छेडिँदै गयो । घनश्याम भुसालले जबजको ‘च्याप्टर क्लोज’ भएको बताए । सहमतिको दस्तावेज तयार हुँदै जाँदा ईश्वर पोख्रेलले जबजकै पक्षको वकालत गरे । जो अध्यक्ष उही प्रधानमन्त्री भने । अध्यक्ष प्रचण्डले लिखित सहमतिको बुँदा पेश गरे । भाँडभैलोको अवस्था आउने देखियो । नेता हरिबोल गजुरेलले प्रचण्ड फकाउँदा मान्छन्, धम्क्याउँदा छाड्दैनन् भने । मानव मनोविज्ञान यही हो । मान्छे अन्याय सहन सक्दैन ।

अहिले प्रतिपक्षीले विषादीविरुद्ध आन्दोलनको झण्डा उठाउँदा प्रचण्ड कूटनीतिक पहलमा देखिन्छन् । समस्या समाधानको उपाय त्यही हो । तत्काल भारतसँग व्यापार बन्द गर्न पक्कै नसकिएला । दृढ संकल्पका साथ लागिए फलफूल–तरकारी र मासुमा हामी छिट्टै आत्मर्भिर हुन सकिने स्थिति टड्कारो छ । बाढीको विपत्तिमा पनि भारतलाई सत्तोसराप गरेर होइन, हामीले आप्mनै हालत सुधार्नुपर्छ । पार्टीमा गणितको हार, विचारको जित हुनु रमाइलो पक्ष हो । सरकार आफ्नै कामको बेढंगले अलपत्र पर्दैछ । अब साउने संक्रान्तिपछि लुतो फालिनुपर्छ । पोखरेली कवि छविलाल आचार्य ठीकै भन्छन् –

‘लुताले थलियो देश, अंगमा छ पिलैपिलो
निमुखा जनमा यसले, पारेकै छ थिलैथिलो
भ्रष्टता र कमिशनतन्त्र, काम हुन्छ ढिलैढिलो
लुते संक्रान्तिले फालोस्, देशमा छ हिलैहिलो !’

साउन ७, २०७६ मा प्रकाशित

मदन भण्डारी

वामपन्थी विचारक भण्डारी पोखरामा रहेर समसामयिक विषयमा लेख्छन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस