मकवानपुरमा भीषण वर्षापछि गाडीलाई खोलाले बगायो, बाटो अवरुद्ध

प्रतिकात्मक तस्वीर
साउन ८, २०७६

मकवानपुर – जिल्लामा रातिदेखि भीषण वर्षा भइरहेको छ । वर्षाले मकवानपुरका कतिपय बाटो अवरुद्ध भएका छन् ।

असारमा आएको बाढीले बगाएर १२ दिनपछि सञ्चालनमा आएको हेटौंडा पदमपोखरी सडकको डाइभर्सन बगाएपछि पदमपोखरी तथा मनहरि गाउँपालिकाका कतिपय वडाहरूको हेटौंडा आवतजावत बन्द भएको छ ।


ADVERTISEMENT

हेटौंडाको कर्राखोलामा आएको बाढीले एक भारतीय गाडी बगाएको प्रहरीले जनाएको छ । शिवम् सिमेन्टको कच्चा पदार्थ पुर्‍याएर फर्कने क्रममा गाडीलाई खोलाले बगाएको हो । गाडीका चालक तथा सहचालक भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिश बुढाथोकीले जानकारी दिए ।

पहिरोका कारण १० दिन अवरुद्ध भएर भर्खरै सञ्चालनमा आएको हेटौंडा फाखेल काठमाडौं सडकखण्ड भने अहिलेसम्म सञ्चालनमै रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिए । ‘उत्तरी क्षेत्रमा राति पानी नपरेका कारण अहिलेसम्म बाटो सञ्चालनमै छ तर भर्खर पानी पर्न थालेकाले सावधान हुनुपर्छ,’ उनले भने ।

पानी केहीबेर परे बाटो अवरुद्ध हुनसक्ने उनको भनाइ छ ।

साउन ८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस