यू– १९ एसिया कप खेल्ने टोलीको प्रशिक्षण शुरू

साउन २३, २०७६

काठमाडौं– अर्को महिना श्रीलंकामा आयोजना हुने एसीसी उन्नाइस वर्षमुनि (यू–१९) एसिया कप खेल्ने नेपाली युवा टोलीको प्रशिक्षण आजदेखि शुरू भएको छ ।

काठमाडौंमा उपलब्ध १७ खेलाडीलाई समेटेर कीर्तिपुरस्थित त्रिवि मैदानमा अनौपचारिक प्रशिक्षण शुरू गरिएको हो ।


ADVERTISEMENT

एक महिना अघिमात्र मलेसियामा सम्पन्न एसीसी इस्र्टन रिजन च्याम्पियनसिपको उपाधि हासिल गरेर नेपालले एसिया कपमा स्थान बनाएको थियो । 

नेपाली युवा टोलीको औपचारिक प्रशिक्षण भने यही साउन २७ गतेदेखि मात्र शुरू हुने नेपाली यू–१९ टोलीका प्रशिक्षक विनोद दासले बताए ।

उनले एसीसीले साउन २७ गतेदेखि मात्र नेपाली टोलीको औपचारिक प्रशिक्षण शुरू गर्ने स्वीकृति दिएकाले सोही समयमा औपचारिक प्रशिक्षण शुरू गर्ने बताए ।

यसअघि यही साउन २१ गते मङ्गलबारदेखि प्रशिक्षण गर्ने भनिएता पनि एशियन क्रिकेट काउन्सिल (एसीसी) बाट बजेट स्वीकृति नहुँदा प्रशिक्षण प्रभावित बन्न पुगेको थियो ।

एसीसी इस्टर्न रिजन च्याम्पियनसिपका लागि छनोटमा परेका खेलाडीमध्येबाटै २४ जनालाई विशेष प्रशिक्षणमा बोलाइने प्रशिक्षक दासको भनाइ छ ।

आगामी भदौ २० देखि २८ गतेसम्म आयोजना एसीसी यू–१९ एसिया कपमा एसियाका पाँचवटा टेस्ट राष्ट्रसहित आठ टोली सहभागी हुनेछन् ।

जसमा नेपाल, भारत, पाकिस्तान श्रीलंका, बङ्गलादेश, अफगानिस्तान, संयुक्त अरब इमिरेट्स (यूएइ) र कुवेतले प्रतिस्पर्धा गर्नेछन् । 

गत असारमा मलेसियामा सम्पन्न इस्र्टन रिजन च्याम्पियनसिपमा नेपालले फाइनल खेलमा हङकङलाई छ विकेटले पराजित गर्दै एसिया कपको यात्रा तय गरेको थियो । 

साउन २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस