कक्षा ११ मा भर्ना हुँदा भावुक बनेकी शान्ताले भनिन्– 'अब बिहान रेगुलर कलेज जान्छु'

साउन २४, २०७६

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ शान्ता चौधरी राजधानीको रत्नराज्य माध्यामिक विद्यालयमा कक्षा ११ मा भर्ना भएकी छन् ।

शुक्रवार बिहान बानेश्वरस्थित रत्नराज्यमा भर्नाका लागि पुग्दा आफू भावुक बनेको सांसद समेत रहेकी नेतृ चौधरीले लोकान्तरलाई बताइन् ।


ADVERTISEMENT

'पहिलोपटक कलेजमा खुट्टा टेक्दा म आत्तिएँ पनि,' चौधरीले आफ्नो अनुभव सुनाइन्, 'कस्तो-कस्तो हुने के, भन्नै नसकिने । जे होस् खुसी छु, पढ्ने मेरो पुरानो इच्छा थियो, पूरा हुँदै गइरहेको छ ।' 

चौधरीले अब निरन्तर पढेर सोही विद्यालयबाट १२ उत्तीर्ण गर्ने अठोट रहेको बताइन् ।

'बिहान रेगुलर पढ्न जाने सोच बनाएकी छु,' उनले भनिन्, 'समय व्यवस्थापन गर्न गाह्रो छ तर अध्ययनका लागि समय छुट्याउनै पर्छ ।'

इकोनोमिक्स पढ्ने चाहना रहेको बताउने चौधरीले मानविकी संकाय रोजेकी छन् ।

'मानविकीमा भर्ना भएँ, त्यहाँ उपस्थित सरहरूले सजिलो हुन्छ भन्नुभयो,' उनले भनिन्, 'इकोनोमिक्स पढ्ने हो । पढ्न सरहरूले सहयोग गर्छु भन्नु भएको छ ।'

उनको रोल नम्बर ६२ रहेको छ । प्रतिनिधिसभा सदस्य तथा नेकपाकी सचेतक समेत रहेकी चौधरीले यही वर्ष माध्यामिक शिक्षा परीक्षा पास गरेकी थिइन् ।

उनले जीपीए २ दशमलव ६५ प्राप्त गरेकी थिइन् ।

साउन २४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस