कांग्रेस केन्द्रीय समिति बैठक : भदौ २० भित्र अन्तरिम संरचना

साउन २६, २०७६

काठमाडौँ -आइतवार दिउँसो बसेको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले भदौ २० गतेभित्र अन्तरिम संरचना बनाउने गरी ल्याइएको निर्देशिका पारित गरेको छ ।

नेपाली कांग्रेसका हालका पदाधिकारी र पूर्वपदाधिकारीबीच सहमतिमा ल्याइएको उक्त निर्देशिकामा भदौ २० गतेसम्म स्थानीय निकाय र क्षेत्रीय तहमा संरचना बनाउने उल्लेख गरिएको केन्द्रीय समिति सदस्य रामकृष्ण यादवले लोकान्तरलाई जानकारी दिए ।


ADVERTISEMENT

'केन्द्रीय समिति बैठकमा पेश भएको अन्तरिम विधान अनुसार नेपाली कांग्रेसको स्थानीय तह संगठन संरचनासम्बन्धी निर्देशिका पारित भएको छ,' यादवले भने, 'पदाधिकारी र पूर्व पदाधिकारीको सहमतिमा उक्त निर्देशिका ल्याइएको थियो ।'

उक्त निर्देशिकामा कांग्रेसले संघीय संरचना बनाउनका लागि समायोजन नभएका वडा, गाउँपालिका र क्षेत्रमा साविककै संरचनालाई कायम राख्ने उल्लेख गरिएको छ । 'पहिलाको गाविसलाई अहिले वडामा गाभिएको छ, त्यसको सभापति साविककै हुने व्यवस्था भएको छ,' यादवले भने, 'समायोजन भएका स्थानीय तह र क्षेत्रीय समितिमा भने निर्देशिकाले विशिष्ट व्यवस्था गरेको छ ।'

आज पारित भएको निर्देशिकाले क्षेत्रीय कार्यसमितिमा पनि पुरानै संरचना रहने व्यवस्था राखेको यादवले बताए । 'यी सबै कुरा पूरा गराउनका लागि भदौ २० गते भित्र पुनर्संरचना गर्ने निर्णय भएको छ,' उनले भने, 'त्यसका लागि पार्टीको निर्वाचन समितिले सबै ठाउँमा प्रतिनिधि पठाउने छ ।'

केन्द्रीय समितिले पारित गरेको उक्त निर्देशिका १४ औं महाधिवेशनबाट पारित गराउने सर्वसम्मतिबाट निर्णय भएको उनले जानकारी दिए । कांग्रेस केन्द्रीय समितिको अर्को बैठक २९ गते बस्नेछ ।

साउन २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस