लोकतन्त्र र संघीयता नै कांग्रेसको मुख्य एजेण्डा : प्रवक्ता शर्मा

फाइल फोटो
साउन २८, २०७६

पोर्चुगल – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लोकतन्त्र र संघीयतालाई संस्थागत गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

नेपाली जनसम्पर्क समिति पोर्चुगलको १० औं वार्षिक साधारणसभामा लिस्बनमा सोमवार प्रवक्ता शर्माले लोकतन्त्र र संघीयताको संस्थागत गर्नु नै कांग्रेसको मुख्य एजेण्डा भएको बताए ।


ADVERTISEMENT

कांग्रेसले लिएको विचार, बाटो र संसदीय व्यवस्थाबाट मात्रै देश अगाडि बढ्न सक्ने उनको भनाइ थियो । साझारूपमा प्राप्त भएका उपलब्धिलाई संस्थागत गर्दै बाँकी रहेका कार्यभार पनि साझारूपमै हल गर्नुपर्नेमा उनको जोड थियो ।

‘सत्ताप्राप्ति अधिनायकवाद र बल प्रयोगबाट होइन, लोकतन्त्रको बाटोबाट रूपान्तरित भएर आउनुपर्छ,’ शर्माले भने । राजनीतिलाई राम्रो बनाउनुपर्ने जोड दिँदै नेता शर्माले राजनीतिक रूपान्तरण नै अबको साझा दायित्व भएको बताए ।

मधेशका मुद्दा, जनजातिका मुद्दा र नेत्रविक्रम चन्द समूहको विद्रोहलाई सम्बोधन गर्न कम्युनिस्ट पार्टी र सरकार सच्चिनुपर्ने उनको धारणा थियो । देशमा देखापरेका राजनीतिक मुद्दालाई समाधान गर्न कांग्रेसले सरकारलाई सहयोग गर्न चाहेको उल्लेख गर्दै शर्माले कम्युनिस्ट सरकारलाई आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्न आग्रहसमेत गरे ।

साउन २८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस