आफूले दिएको चुइंगम नलिएपछि पतिले पत्नीलाई दिए डिभोर्स

भदौ १२, २०७६

काठमाडौं – भारतको लखनउमा एक पतिले पत्नीलाई चुइंगम चपाउन दिएकोमा उनले अस्वीकार गरेपछि तलाक दिएका छन् । 

सिम्मी र उनका पति सईद राशिद सोमवार देवानी अदालतमा सुनुवाइमा उपस्थित थिए । 


ADVERTISEMENT

पत्नीले आफ्नो वकिलसँग सल्लाह गरिरहेकी थिइन् । पति सईदले उनलाई चुइंगम दिएपछि उनले स्वीकार गरिनन् अनि त्यही झोंकमा उनले तलाक तलाक तलाक भने । 

सईद र उनका मातापिताविरुद्ध दाइजो यातनाका विषयमा सिम्मीले मुद्दा हालेपछि त्यसमा सुनुवाइ भइरहेको थियो । 

ट्रिपल तलाक भारतमा केही मुसलमानहरूले अझै पनि उपयोग गर्ने गरेका छन् । 

यस्तो तलाक बोलेर, लेखेर वा विद्युतीय माध्यमले दिन सकिन्छ अनि यसमा इस्लामिक अदालतको फैसला पनि कुरिरहनुपर्दैन । 

महिलाले चाहिँ इस्लामिक अदालतको मध्यस्थतामा पारपाचुके लिनुपर्छ । 

भारतमा ट्रिपल तलाकलाई अवैध घोषित गरेर यसरी दिइएको तलाक मान्य नहुने कानून लागू भइसकेको छ । 

ट्रिपल तलाक दिने व्यक्तिलाई तीन वर्षको कारावास वा जरिवाना सजाय दिने व्यवस्था छ । 

लखनउका एक अनुसन्धान अधिकारीले सईदलाई यस ऐनअन्तर्गत अनुसन्धान गरिरहेको बताएका छन् ।

एजेन्सी 
 

भदौ १२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस