नवीनको संघर्ष : भजन गाउने ‘सानो भक्त’देखि चर्चित लोकगायकसम्म

भदौ ७, २०७६

काठमाडौं – अहिलेको लोकगीतको शैली र संस्कृतिलाई लिएर लोकगायक नवीन पौडेल (३९) खुशी छन् र चिन्तित पनि ।

खुशी यस अर्थमा कि युवापुस्ताले पनि लोकगीत मन पराए, लोकगीतको तालमा झुमे तर लोकगीतकै नाममा अश्लीलता र द्विअर्थी भाषा प्रयोगका कारण भने उनी चिन्तित छन् । 


ADVERTISEMENT

शुक्रवार लोकान्तरकर्मीले पौडेललाई सोध्यो – त्यसो भए लोकगीत कस्तो हुनुपर्छ त ? उनको जवाफ छ, ‘लोकले जे कुरा भन्छ, जे कुरा बोल्छ, जे कुरा भोग्छ, भनाइ, गराइ र भोगाइबाट निस्कने लयात्मक आवाज नै लोकगीत हो । त्यही आवाज हामीले गीतमा बुन्न सक्नुपर्छ, उन्न सक्नुपर्छ । नकि अहिलेका जस्ता भल्गर होइन । यथार्यता, समाज र चेतनाका गीत गाउनुपर्छ । ती नै लोकगीत हुन् । लोकगीत आमा, दिदीबहिनी, भाउजुसँगै बसेर हेर्दा/सुन्दा आहा ! भन्ने हुनुपर्छ न कि छिःछि !’

सांगीतिक यात्रा 

पाल्पा दर्लमडाँडाका नवीनमा गायनको छाप भने बुवा लीलाधर पौडेलबाट पर्‍यो । उनका बुवा भजन गाउँदै हिँड्थे । नवीनका अनुसार बुबालाई पाल्पाका विभिन्न ठाउँमा हुने सत्यनारायण पूजादेखि धार्मिक कार्यक्रममा भजन गाउन निम्ता आउँथ्यो । 

सरकारी जागिरे भएपनि बुबामा गायनतर्फको बेल्लै मोह रहेको उनले बताए । नवीनलाई बच्चैदेखि लाग्थ्यो – म पनि बुवाले जस्तै गाएर हिँड्न पाए !

नवीनको बुवालाई पनि आफूहरूले गर्ने गरेको काम अब पछिल्लो पुस्तालाई हस्तान्तरण गर्नुपर्छ भन्ने लागेको थियो रे ! बाल्यकाल स्मरण गर्दै नवीन भन्छन्, ‘एकदिन बुवा र उहाँको समूहलाई लागेछ – अब हाम्रो बिँडो कसले थाम्छ ? यी केटाकेटीहरूलाई पनि सँगै लानुपर्छ । केही त सिक्न पाउँछन् ।’ 

त्यसपछि बुवा जाने ठाउँमा नवीन र उनका साथीहरू पनि सँगसँगै जान थाले । उनी बुवाले गाएको टुक्कामा सँगसँगै स्वर दिन्थे । पछि नवीनलाई मानिसहरूले ‘सानो भक्त’ भन्न थाले । नवीन भन्छन्, ‘पूजादेखि धार्मिक कार्यक्रममा भजन गाउनेलाई भक्त भनिँदो रहेछ । त्यसैले मलाई ‘सानो भक्त’ भनेका रहेछन् । बुवाहरू ठूलो भक्त, जान्ने भक्त । हामी चाहिँ सानो भक्त, उरन्ठेउलो भक्त ।’ सानैमा आफूले खैंजडी बजाउनेदेखि चुट्का र ख्यालीको ज्ञान समेत पाएको बताउँछन् ।

उनलाई संगीतको मोहले यसरी तानेछ कि जता मादल बज्यो उनका खुट्टा उतै दौडिन्थे । उनले भ्याएसम्मका सांगीतिक कार्यक्रम र रत्यौली एउटा पनि छुटाएनन् । सांगीतिक बाटो पक्रिनलाई त्यो बेलाको हुटहुटी आएको उनी ठान्छन् । 

‘रोइला भनेर नाम बिगारे’

भजन, चुट्का र ख्यालीलाई रोइला भनेर नाम बिगारेको उनलाई मन परिरहेको छैन । ‘रोइलामा त रोदन हुन्छ । पीडा हुन्छ । मनको बह पोखिएको हुन्छ । भजनलाई रोइला भनेर बिगार्नु हुँदैन । यसको छुट्टै अस्तित्व छ,’ उनी भन्छन्, ‘मान्छेको ध्यान तान्न रोइला भनिएको हुनुपर्छ ।’  

भजनलाई रोइला नभन्न लोकसंगीतका विज्ञ तथा अध्ययनकर्ताले आफूलाई अनुरोध गरेको उनी बताउँछन् । आफ्ना केही गीतलाई आधार मानेर ख्याली र चुट्कामा रामप्रसाद पाठकले पीएचडी गर्न लागेको पनि उनी सुनाउँछन् । 

लोकगीतमाथि अध्ययन अनुसन्धान हुनुले यसको भविष्यलाई अझ सुन्दर बनाउने उनको तर्क छ । 

पहिलो गीत नै हिट 

नवीनका प्रेरणाका स्रोत हुन् रामप्रसाद खनाल । विक्रम संवत् २०५६ ताका खनालले नेपाल टेलिभिजनमा लोकदोहोरी कार्यक्रम चलाउँथे । खनालसँग नवीनको राम्रै चिनजान थियो । खनालले उनलाई निकै माया गर्थे । केही गर्न परे यसो गर नवीन भन्थे ।

त्यसै शिलशिलामा नवीनलाई कार्यक्रमको सेटदेखि ड्रेस र अन्य कुराको जिम्मेवारी दिइयो । नवीन सम्झन्छन्, ‘त्यसताका मैलै क्यामेरा, पहिरनदेखि साउन्ड सिस्टमसम्मका कुराहरू मिलाउनुपर्थ्यो ।’

कार्यक्रमको चाँजोपाँचो मिलाउने भएपछि उनको कलाकारसँग पनि चिनजान बढ्न थाल्यो । कलाकारले पनि उनलाई रामप्रसाद दाईको भाइ भनेर छुट्टै स्थानमा राखेर हेर्ने गरेको उनी सुनाउँछन् । 

२०५७ सालतिर रामप्रसाद खनालले भाइ भनेर निकै माया गर्ने भएकाले उनकै सिफारिसमा नवीनलाई म्युजिक नेपालमा गीत गाउन दिइयो । पहिलो रेकर्डिङबारे नवीन भन्छन्, ‘एउटा क्यासेटमा ३ वटा गीत हुन्थ्यो । एउटामा मैले विमलराज क्षेत्रीलाई साथ लिएर गाएँ । त्यो थियो – नरोउ धर्केर फर्किआउँछु लाहुरै गए नि बस पर्खेर’ । अर्को बुद्धिसागर बस्यालले गाउनुभयो भने अर्को चाहिँ ‘तिम्रै भरमा’ भन्ने मैले एक्लै गाएँ ।’

उनका अनुसार त्यतिबेला म्युजिक नेपालमा गीत गाउन बोर्डबाट सेन्सर पास हुनुपर्थ्यो । सेन्सरमा पनि रामप्रसाद खनाल भएका कारण आफूलाई गीत गाउन केही सहज भएको उनको भनाइ छ । 

पहिलो एल्बममै गीतका लागि १५ हजार एड्भान्स पाएको उनी बताउँछन् । भन्छन्, ‘त्यो जमानामा गीत गाउनुअगावै एड्भान्स पाउने सायद म पहिलो हुँला ।’ र बिडम्बना त्यो १५ हजार जसरी आयो त्यसैगरी गयो ।
‘हामी हाम्रो गीतको शूटिङ भइरहेको छ भनेर बस्यौं तर मदन दिमबिमको गीत ‘सुरिलो रुख सल्लै हो’ को भिडियो बनाइएको रहेछ । गीत शूटिङ अर्कैको भएको रहेछ । म जिल्लै ।’

पहिलो गीतबाट उनलाई दर्शक/स्रोताले चिन्न थाले । दोस्रो गीत ‘श्रीनगर बतासे डाँडैमा’ उनले राजु परियारसँग मिलेर गाए । 

त्यसपछि उनी दोहोरी साँझमा गीत गाउन दुबई गए । त्यहाँ पनि ‘श्रीनगर बतासे डाँडैमा’ गीत गाउन अत्यधिक माग आएपछि उनलाई लाग्यो – गीत बबाल चलेछ । अनि सोचे – अब नेपाल फर्किन्छु । त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेन ।

‘अरूको गीत गाउँदिनँ’

उनले हालसम्म लगभग ४ सय गीत गाएका छन् । उनले पहिलो गीत र दोस्रो गीतमा त्यसताका चलेका गायकसँग सहकार्य गरे । अरूको गीत किन नगाउने त ? उनी भन्छन्, ‘पहिलो गीत अर्कासँग गाउन बाध्य भएँ । शुरूका गीतमा मैले विमलराज क्षेत्री र राजु परियारसँग मिलेर गाएँ । ती गीत चले । अरूको गाउँदा नचल्न पनि सक्छ । नवीनको स्वरको कारण चलेन भन्लान् । के भन्लान् ? ब्लेम लाउलान् भनेर मैले कसैको गीत गाइनँ ।’ 

‘लोकदोहोरी विकास बोर्ड गठन हुनुपर्छ’

लोकगीतको विकास गर्न सरकारले लोकदोहोरी विकास बोर्ड गठन गर्नुपर्ने नवीन बताउँछन् । उनी भन्छन्, ‘देश धान्ने भनेको संस्कृतिले हो । संस्कृति नै रहेन भने देश नै कहाँ रहला र ? पश्चिमा संस्कृतिले गाँजिसक्यो । लोकगीत सुन्ने प्रवृत्तिको विकास हुनु जरुरी छ । यसका लागि सरकारले एउटा लोकगीतसँग सम्बन्धित विकास बोर्ड गठन गर्नुपर्छ । त्यसो भएमा बोर्डबाट पास भएका गीत मात्र बजारमा आउन पाउँछन् । यसले अश्लीलता हटाउँछ ।’ लोकगीतमा अश्लीलता हटाउन सबैले आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने उनको बुझाइ छ ।  

करीब ४ सय गीत गाएका नवीनका ‘श्रीनगर बतासे डाँडैमा’, ‘ए हजुर सुन्नु भाछ र’, ‘यस्तै हुन्छ भन्ने भा’, ‘मायालु तिम्रै म हुँ नि’, ‘जान्न म त त्यो घर’, ‘सुदूरपश्चिम घर मेरो’, ‘म परें पाल्पालको’, ‘बोल्नुपर्छ ओइ’, ‘बुलाकी झुम्काना’, ‘मुसुमुसु हाँस्यौ’, ‘बागलुङ दमरखोला’, ‘सत्य खान्छु कसम’, ‘भोजपुरी गीत’, ‘दुःखका दिन गए’ लगायतका गीत चर्चित छन् ।

भदौ ७, २०७६ मा प्रकाशित

प्रदिप अधिकारी

अधिकारी लोकान्तरका लागि मनोरञ्जन र खेलकुदमा कलम चलाउँछन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस