प्रजातान्त्रिक योद्धा नेपालीको योगदान : रात्रीकालीन साक्षरता कक्षा हुँदै जेलनेल

भदौ २१, २०७६

जनकपुरधाम – नेपालको लोकतान्त्रिक आन्दोलनमा ठूलो योगदान पुर्‍याएका प्रजातान्त्रिक योद्धा गणेश तिवारी नेपालीको गत भदौ १३ गते निधन भयो ।

पञ्चायती शासन व्यवस्थाविरुद्ध, राजा ज्ञानेन्द्रको शाही शासनकालको निरंकुशताविरुद्ध अग्रपंक्तिमा रहेर आन्दोलनको नेतृत्व गरेका महोत्तरीको जलेश्वर नगरपालिका—५ चौरियाका नेपालीको ७७ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट उनको मृत्यु भएको हो ।


ADVERTISEMENT

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य रहेका नेपाली पहिलो संविधान सभाको निर्वाचनमा तराई मधेश लोकतान्त्रिक पार्टीबाट प्रत्यक्ष निर्वाचन जितेर युवा तथा खेलकुद मन्त्री समेत बनेका थिए ।

नेपालीले २०२४ सालतिर भारतमा शिक्षा प्राप्त गरे । केही समय उनले भारतमै काम समेत गरेर गाउँ फर्किए । त्यसपछि उनले आफ्नो गाउँ चौरियामा रात्रीकालीन पाठशाला सञ्चालन गरेर गाउँलेलाई शिक्षित पार्ने उद्देश्यले साक्षरताको कक्षा सञ्चालन गर्न थाले । निरक्षर रहेका प्रौढदेखि आइमाई लगायतलाई उनले अक्षरको ज्ञान सिकाएर हस्ताक्षर समेत गर्न सिकाएका थिए ।

नेपालीका छोरा बजरंग नेपाली भन्छन्, ‘अझै पनि गाउँका कतिपय बुजुर्ग व्यक्तिहरू भन्ने गर्छन् कि हस्ताक्षर कसरी गर्ने भन्ने कुरा नेपालीजीले नै सिकाउनुभयो ।’ तर दुर्भाग्य ! उनले सञ्चालन गरेको रात्रीकालीन पाठशाला बन्द गराएर तत्कालीन पञ्चायती शासकले उनलाई २०२८ सालमा गिरफ्तार गरे । शान्ति सुरक्षामा खलल पुर्‍याएको मुद्दा अन्तर्गत पक्राउ गरेर उनलाई सिन्धुली कारागार लगियो । ६ महिनापछि मात्र उनलाई रिहा गरिएको थिए ।

जेलबाट निस्केपछि उनको सम्पर्क तत्कालीन तरुण पत्रिकाका सम्पादक रहेका शैलेजा आचार्यसँग भयो । एकातर्फ उनले तरुण पत्रिकाका लागि संवाददाता भएर काम गर्न थाले भने अर्कोतर्फ भारतको बनारसमा रहेका बीपी कोइराला र गोरखपुरमा रहेका गणेशमान सिंहसँग पनि भेट गर्ने अवसर जुट्न थाल्यो ।

सोही क्रममा २०२९ सालमा तत्कालीन शिक्षा नीतिविरुद्ध धनुषाको यदुकुहामा विद्यार्थीले आन्दोलन गरेका थिए । आन्दोलनमा प्रहरीको गोली लागेर कामेश्वर र कुशेश्वर गरी २ जना विद्यार्थीको मृत्यु भएको थियो । त्यो आन्दोलनमा समेत उनी सहभागी थिए । फेरि २०३० सालमा भारतको मधुबनीमा नेपाली कांग्रेसका नेता सरोज कोइरालाको समेत हत्या गरिएको थियो ।

दमन र हत्याका २ वटा घटनाका कारण नेपालीमा पञ्चायती शासकविरुद्ध झन्झन् आक्रोश बढ्दै गएको थियो । तरुण पत्रिकाको संवाददाताको आवरणमा उनले महोत्तरी जिल्लामा विद्रोही युवा दस्ता तयार गर्न थाले । उनको भेद प्रशासनले थाहा पाएपछि उनीविरुद्ध राजद्रोहको मुद्दा चलाएर ‘शूट वारेन्ट’ नै जारी गरेको थियो । त्यसकारण नेपाली भारतको बिहार प्रदेशको सीतामढी क्याम्पमा प्रवासित जीवन बिताउन थालेका थिए । क्याम्पको नेतृत्व नेपाली कांग्रेसका बासुशरण कोइरालाले गरेका थिए । त्यहीँबाट उनले राजनीतिक गतिविधिमा समेत प्रत्यक्ष संलग्न भई काम गर्न थालेका थिए ।

प्रहरी प्रशासन र सेना समेत नेपालीको घरमा पुगेर उनकी पत्नी, २ छोरा बजरंग र ओमप्रकाशलाई समेत हैरान गर्न थालेका थिए । प्रहरीले नियमित रुपमा घर परिवारका सदस्यलाई हैरान गर्न थालेपछि नेपालीको निर्देशन अनुसार सबै जना भारतको सीतामढी क्याम्प पुगेका थिए ।

२०३० सालमा पञ्चायती व्यवस्था विरुद्धको नेपाली कांग्रेसको सशस्त्र आन्दोलनको रणनीति अनुसार नेपालीले महोत्तरी जिल्लाको भिठामोड भन्सारमा बम प्रहार गरेका थिए ।

भारत प्रवासमा रहेका बेला भारतमा इन्दिरा गान्धीको सरकार थियो । नेपाली कांग्रेसको सशस्त्र आन्दोलनप्रति गान्धीको नकारात्मक दृष्टिकोण भएकाले भारतमा प्रवासी जीवन बिताइरहेका नेपालीका नाबालक छोरा बजरंग नेपालीलाई हतियारसहित पक्राउ गरेको थियो । उनी पक्राउ परेपछि नेपालीसँगै बलराम शर्मा, भारतीय नागरिक रामचन्द्र ठाकुर, महेन्द्र पाण्डेलाई समातेर भारतको बिहार राज्यको सीतामढीको डुमरा तथा मुजफ्फरपुरको सेन्ट्रल जेलमा चलान गरिएको थियो । ११ महिनापछि जनही ५०/५० हजार भारतीय रुपैयाँ धरौटी राखेर उनीहरू रिहा गरिएको थियो ।

नेपालका तत्कालीन युवराज विरेन्द्रको राज्याभिषेकका क्रममा भारत सरकारले नेपाली कांग्रेसका सम्पर्क कार्यालयहरू नेपाल– भारतको सीमाबाट ५० माइलभित्रै बस्नुपर्ने भन्ने निर्देशन जारी गरेको थियो । सोही क्रममा नेपालीसँगै बासुदेवशरण कोइराला, महन्थ ठाकुर, सूर्यनारायण पाण्डे लगायतका नेतालाई भारतमै पक्राउ गरेर ३ महिनासम्म मुजफ्फरपुर कारगारमा राखिएको थियो ।    

२०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी कोइरालाले नेपाल प्रवेश गरेपनि भारतमा नेपाली लगायत दर्जनौं व्यक्तिविरुद्ध मुद्दा दर्ता रहेकाले उनीहरूले कोइरालासँगै नेपाल प्रवेश गर्ने मौका पाएनन् । लुकीछिपी नेपाल आउने र भारत फर्किने क्रम चलिरहन्थ्यो । 

नेपाल आएका बेला उनलाई २०३६ असार ४ गते नेपाल प्रहरीले गिरफ्तार गरेर फेरि जलेश्वर, मलंगवा हुँदै काठमाडौंको नख्खु जेलसम्म पुर्‍याएको थियो । ८ महिनापछि उनलाई रिहा गरिएको थियो । रिहा भएपछि उनी र उनका साथी रामजीवन संघलाई स्वागत गर्न हजारौं सर्वसाधारण जलेश्वर पुगेका थिए ।

२०३७ सालमा जनमत संग्रह हुँदा कांग्रेसको तर्फबाट नेपालीलाई बुथ इन्चार्ज बनाइएको थियो । निर्वाचनपश्चात् मतगणना स्थलबाट नेपालीलाई शान्ति सुरक्षा अन्तर्गत फेरि पक्राउ गरेर २०३७ वैशाख ३१ गतेदेखि कात्तिक १३ गतेसम्म कारागारमा राखिएको थियो । त्यसपछि फेरि पनि उनलाई २०४६ सालसम्म पटक–पटक गिरफ्तार गरेर विभिन्न मुद्दामा जेलमा राखिएको थियो ।

२०४६ सालमा उनी महोत्तरी कांग्रेसको सभापति पदमा निर्वाचित भएका थिए । महोत्तरीमा त्यतिबेला १ सय ५५ जना मात्र क्रियाशील सदस्य थिए । राष्ट्रिय जनआन्दोलनको नेतृत्व गरेका कारण उनीसँगै उनकी पत्नी दानाबती देवीलाई समेत गिरफ्तार गरिएको थियो । 

पञ्चायती व्यवस्थाको पोल खोल्नका लागि उनले आफ्नै प्रकाशन तथा हरिहर बिरहीको सम्पादनमा ‘लल्कार’ र बलराम शर्मा प्रकाशक तथा नेपाली आफैं सम्पादक रहेर ‘हुँकार’ बुलेटिन समेत प्रकाशन गर्न थालेका थिए । आफ्नी पत्नीको सबै गहना बेचेर उनले पत्रिका प्रकाशन गरेर पञ्चायती व्यवस्थाविरुद्ध समाचार प्रकाशन गर्ने गरेका थिए ।

२०४६ सालको आन्दोलनपछि भएको आमनिर्वाचनमा कांग्रेसले नेपालीलाई टिकट नै दिएन । सभापति हुँदा उनले सिफारिस गरेका नेतालाई पनि टिकट दिइएन र उनले पनि टिकट पाउन सकेनन् । त्यसकारण आक्रोशित हुँदै उनले विद्रोह गरे । उनी लगायत विभिन्न नेताले कांग्रेस परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका थिए ।

२०६२/०६३ सालको जनआन्दोलनपछि उनी महन्थ ठाकुरको अगुवाइमा गठन भएको तराई मधेश लोकतान्त्रिक पार्टीमा आवद्ध भएका थिए ।

भदौ २१, २०७६ मा प्रकाशित

अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि प्रदेश नम्बर दुई प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस