सपनाको आत्महत्या र निष्ठाको अपहरण

भदौ २१, २०७६

आमाले तिमी ठूलो मानिस बन्नु बाबु, धेरै पढ्नुपर्छ भन्दा के भए ठूलो मान्छे बन्न सकिने होला ? कति पढे धेरै होला ? थाहा नभइ नै मनमा सपनाहरू दैडिए ।

रोशीबाट तिमाल महाभारत हुँदै झन् माथितिर दौडिएको कुहिरोजस्तै सपनाहरू उकालो लाग्न थाले । ठूलो दाजुले कखरा पढाउँदा पनि अब त पक्कै ठूलो हुने भयौं भन्ने अबोध दम्भले मन टन्न हुन्थ्यो । 


ADVERTISEMENT

सपनाका बयेलीहरू निरन्तर बढ्दै गए । मनमनै धेरै पढें, ठूलो पनि भएँ, ज्ञानी पनि भएँ । नपढीकन पढें, नबुझीकन ज्ञानी बनें, ठूलो नभैकन ठूलो पनि बनें । स्वेरकल्पनामा रमाउनुको मज्जै अर्को । कुनै कुराको अर्थ नबुझीकन त्यसको आस्वाद लिँदा आहा कति मजा !

सपनाहरू स्थिर हुँदैनन् । सपनाले कोल्टे फेर्न थाल्यो । ‘नानीको कथा’बाट विज्ञान, गणित, कार्यालय सञ्चालनका पुस्तक झोलाभरि बोकेर धेरै पढ्ने सपनाको यात्रा शुरू भो । यात्राहरू जति पछिल्ला त्यति लामा र असजिला हुँदा रहेछन् । 

फिजिक्स पढेर प्राध्यापक–डाक्टर बन्ने सपना ! पद्योदय हाइस्कूलमा श्याम सरले फिजिक्स पढाएको कति राम्रो ... । विषयमा चुर्लुम्म डुबेर पढाउने । कति आएको होला ? कसरी जानेको होला ? कति सरल होला । होइन, भगवानकै बरदान हो श्याम सर ! पक्कै निकै ठूलो वैज्ञानिक भएको हुनुपर्छ । 

प्रवेशिका उत्तीर्णसँगै सपनाको अर्को क्षितिज उघ्रियो –अब त खरिदार बन्नुपर्छ । ठूलो दाजुले खरिदारबाटै जागिर शुरू गर्नु भाथ्यो । सरकारी सिन्दूर पर्नुको मजा नै अर्को । 
वृत्ति र पढाइ साथै लैजानुपर्ने बाध्यता तर १८ वर्ष नपुग्दै लोकसेवा जाँच दिन नपाइने । उमेरले प्रतीक्षा सूचीमा राख्यो ।
त्यो दिन पनि आइपुग्यो, खरिदार पास !

आफ्नै खुट्टामा उभिएर कलेज पढ्नुको अर्कै मज्जा । 

वृत्तिले पढाइलाई र पढाइले वृत्तिलाई बिगार्ने पो हो कि ? होइन, यज्ञले पनि त बिहान अमृत कलेज, दिउँसो खरिदार र बेलुका आरआरमा मानविकी पढेकै छ । आँटे के पुग्दैन ।

साथीको दायरा पनि फराकियो । शहरका साथी हामीलाई पाखे भनेर हेला गर्थे । मोटरसाइकल र कारमा पढ्न आउने साथीको सान नै अर्को । लाग्थ्यो कारवाला, मोटरसाइकलवालाले मलाई १–२ चोटी लिफ्ट दिए पनि हुने नि ? 

होइन लिफ्ट नदिएर के भो परीक्षामा जितेपछि सिक्न आउलान् नि ! उनीहरूलाई त सधैं व्याक लाग्ने गरेको छ । 

सपना देख्नेहरू ख्याउटे, मरिन्च्यासे भएपनि सपनाहरू ख्याउटे हुँदैनन् । सपना देख्न अतिरिक्त धन र योग्यता पनि चाहिँदैन । मनभरि सपना, आँखाभरि स्वेरदृश्य र शरीरले चाहिँ मिहेनतमा एउटा अन्तहीन यात्राको निरन्तरता । ख्याउटे शरीर, परालजस्ता खुट्टा, दबेको पेट, चाउरिएका निधार, दबेका आँखा, सलक्क कान छोप्ने कपाल, किशोरावस्था पार गर्दा–नगर्दै कुप्रिएको ... यो नै मेरो प्रतिबिम्ब !

कविता, निबन्ध र लेखहरूमा म नै पोखिन्थें । मनकै भावना पोखिन्थे । भावहरू छचल्किन्थे । अभावमै भाव आउने न हो । अक्षरहरूमा दुःख पोखिएर साहित्य बन्ने न हो । 

हाकिमले कति राम्रो काम गर्छ यो खरिदारले भनेर धाप मार्दा मन कति फुरुङ्ग हुन्थ्यो । त्यो फुरुङ्ग्याइले अर्को १ महिना मच्चिएर काम गर्ने ताकत दिन्थ्यो । मनमनै सोच्थे – के मेरा साथीहरूले कामै नगरीकन जागिर खाइरहेछन् ? किन हाकिमले उनीहरूलाई माया नगरेको होला ? काम नगरी किन चौर र मानेको चिया पसलमा झुम्मिएका हुन् साथीहरू ?

नायव सुब्बा पनि पास । स्वर्णीम सपनाको अर्को पटाक्षेप खुल्यो । भीभीआईपी लाउन्जको पोस्टिङ । राजा, रानीको राजकीय भ्रमण र अतिविशिष्ट व्यक्तिको स्वागतका लागि व्यवस्थापन गर्ने काम आफैंमा चुनौतीपूर्ण तर विमास्थलको सिरानमा मगमग फूल बगैचा, बीचमा अति सुरक्षाका साथ राजा, रानी र पाहुना बस्ने गोरखा हल, काष्ठमण्डप र भादगाउ कक्ष । भित्ताभरि अमर चित्रकारका परम्परागत तेलचित्र अनि लैनसिंह वाङ्देलका एव्ष्ट्रयाक्ट आर्ट । लाग्थ्यो त्यहाँ प्रवेश पाउनु पनि भाग्य, आफू त त्यहीको कार्यालय प्रमुख सुब्बा साव । अघिल्तिर सिंगापुर, थाइ, एयर इण्डियाका जहाजहरू सलल्ल्ल्ल अवतरण गर्ने । देख्दा पनि मनलाई कहाँ पुर्‍याउँथ्यो कहाँ । यी हवाइ जहाज चढ्न पाए । भाग्य कटिएलाका भन्ने डरले नजिकै पुग्दा पनि छोइनँ । १ दिन कन्कर्ड आउँदा कौशीबाट आनन्दले हेरिबसेको थिएँ, पछिल्तिर फर्किंदा त राजा विरेन्द्र र राजकुमार निराजन पो दुर्बिन समेत लिएर कन्कर्डतिर आँखा तेस्र्याइरहेका । सधैं राजाभन्दा २ मिटर पर मात्र उभिन पर्ने दरबारको नियम, आज झण्डै छोएको । डरले खुट्टा थरर्र कामे, खुशीले मन भरङ्ग भयो । 

सार्क शिखर सम्मेलनको तयारी रेकी गर्न पनि राजा थाहै नपाइ भीभीआईपी कक्ष आउन थाले । ड्युटी पनि ८ घण्टाबाट चढ्दै १०, १२, १४ घण्टासम्म पुग्न थाल्यो । आफूले गरेको काम ठूला बडाले देख्ने, स्यावासी दिँदा पनि मन कति फुरुङ्ग हुन्थ्यो । सार्क शिखर सम्मेलनको प्रवेशद्वार विमानस्थलको प्रमुख कर्मचारी । एकदिन कुन्नी के कुरामा विभागीय मन्त्रीलाई राजा अंग्रेजीमा हकार्दै रहेछन् । त्यो सुन्नुको दोषले मन्त्रीले झण्डै हात छाडे थे । तँतँ र नानाभातीका गालीपछि नायव सुब्बाको जागिर राजीनामा दिनुको विकल्प रहेन । स्वर्णीम सपनामा निकै ठूलो आँधीको सामना गर्नुपर्‍यो । सपनाको बयेलीमा अजंगको पहाड तेर्सियो ।

स्नातक पास भै अधिकृतको परीक्षा समेत दिइसकेकाले प्रतीक्षाको समय लामो भएन । अधिकृत भएपछि भने सपनाहरू खात लाग्ने, भत्किने अविरल यात्राको प्रारम्भ भो । धेरै सपनाहरू आधाआधी नपुग्दै मरे, कतिलाई मार्न पनि बाध्य भए । 

पहिलो पदस्थापन हिमाली जिल्ला डोल्पा । प्राकृतिक रुपमा भर्जिन भएपनि डोल्पा गरीबी, भोक र विपन्नताको पनि उदाहरण थियो । उपयोग नभएका थुप्रै सम्भावनाको पौल ।

राजधानी नै बसेर इकोनोमेटिक्समा मास्टर डिग्री लिने सपना अब सम्भव नहुने पक्का भो । हिमाली जिल्लाको दुःखद र कष्टप्रद जीवन शैलीको उठबसपछि सपना मात्र होइन, सोचवृत्ति पनि बदल्यो । डोल्पाली जीवनका दुःख आफ्नै दुःख लाग्न थाल्यो । काममा समर्पित हुँदै जाँदा दुःखी जीवनमा द्रबीभूत हुँदै गएँ । जीवनले अब अर्कै मोड लियो । 

होइन महाकाली अञ्चलभन्दा ठूलो जिल्ला, निकै थोरै जनघनत्व, झण्डै शून्य अन्न उब्जनी । पाखा पखेरु कदमचाल, पाँचऔले, पाखनवेत, यार्सागुम्बा जस्ता जडिबुटीले भरपूर । स्याउ, सिमी, आलु, चिनो, कागिनो, तिते फापर । निधारमा शे–फोक्सुण्डो ताल, एकातिर शे गुम्बा, धो, तिन्जेको प्रकृति, अर्कोतर्फ त्रिपुरासुन्दरी, शहरतारा । हिमनदीका मनोरम छहरा, शुभ्र अनि स्नीग्ध हिम शृंखला । भाषिक विविधता, जैविक विविधता, प्राकृतिक विविधता, सांस्कृतिक विविधता । लाग्छ पूरै जिल्ला प्रकृतिको संग्राहलय । 

पढ्नु, ठूलो पदमा पुग्नुले के अर्थ राख्छ यदि राष्ट्रसेवकले आफ्नो क्षमता र इमान्दारिताले दीनदुःखीको सेवा गरेन भने ? ‘अथाह सम्भावना तर भर्जिन’ कर्णालीलाई त्यहीँको सम्पन्नताका लागि उपयोग कसरी गर्ने ? यही सोच र कर्ममा संघर्षका यात्रा शुरू हुन्छ । संघर्षमा साथ पाइन्न । मन बोल्ने ठाउँमा पेट बोल्छ, कर्म गर्नपर्नेहरू मुख चलाउँछन्, पसिना चुहाउनेहरूको बोली छैन । 

जिल्लामा जनसंख्या छ, कार्यालय छन्, प्रहरी प्रशासन, नेता राजनीति, अनुदानको चामल र नून सबै छन् तर निर्माण, सोच, वृत्ति, कर्म र आचरण पुगेन । के केही मन र हातका कर्मले मात्र सम्भावनालाई उपयोगितामा बदल्न सक्छ ? नसकोस् तर हार खानु हुन्न । 

के मैले पेटभरि खाएर डोल्पाको सेवा गर्नु पाप होइन ? जहाँ धेरै मजस्तै पेट भएका मानिसहरू आधा पेटमा तिन्जे र दुनैको यात्रा गर्छन् । के म जस्तैहरू छेप्का, धोतिर जाडोमा कठाङ्ग्रिँदा मैले स्वीटर र ज्याकेटमा न्यानिन हुन्छ ? अपराध नैतिक र आत्मिक पनि हुन्छ, भौतिक मात्र होइन । के प्रतिवर्ष समय खेर फाल्दा, अवसरहरु उपयोग नगर्दा समयले हामीलाई दोषी भन्दैन ? क्याराभान हेर्नु र थिन्लेको दुःख पिउनुले मज्जा आउँदैन । सबै डोल्पालीको कथा थिन्ले जस्तै छ । सबै साल्दाङ, धो, शे, तिन्जे, छार्का वासी थिन्ले हुन् । प्रकृतिका पात्र उपेक्षित हुन्छन्, दुःखी हुन्छन् । टिपिएको एकाध दुःख र उपेक्षा अरुको लागि मनोरञ्जन !

दुःखमा असात्मसाथ गरेर कर्म गर्दै गर्दा १ दिन कर्मले अन्यत्रै डोर्‍यायो । बाई बाई डोल्पा !

दनैदेखि जुफालसम्म सबै नै अभिनन्दन र आँशुमा छन् । अवीर र मालामा छन् । १ जना कर्मचारी सर्नुले के पीडा हुन्छ र आँशु आएको होला ? 

मेरा पाइलाका पदचाप, केही पसिना र कर्मले सिञ्चेको स्थान फेरि सम्झनु अहिलेलाई बिदा !

जागिरे जीवनलाई फगत जागिर सम्झनेहरू वृत्तिप्रति अन्याय गर्छन्, जनता र राष्ट्रप्रति अन्याय गर्छन् तर पाखा पखेरुको जागिर, जीवनशैली र त्यहाँको दुःख पीडाको साक्षात्कारले मलाई भने सपना देख्न, संघर्ष गर्न र सेवा गर्न सिकायो । योजना बनाउँदा होस् वा बजेट बनाउँदा, नीति बनाउँदा होस् वा निर्णय गर्दा नेपालको भूगोल, जीवनशैली, आर्थिक सामाजिक अवस्थाले थिच्न थाल्यो । कर्म र अनुभवले मनभरि कर्णाली मात्र होइन, इलाम र बाजुरा तुलना गर्न सिकायो, सिन्धुपाल्चोक र कालिकोट तुलना गर्न सिकायो, शे र बौध गुम्वा, तिमाल र लुम्ले अनि धेरै यस्तै तुलना गर्न सकियो ।

हो, कर्मभित्रको संघर्षले समर्पण र समर्पणले संवेदनशीलता जन्माउने रैछ । विषयलाई अन्तर्यसम्म पुर्‍याउँदो रैछ । सुविधा र सम्पन्नतामा जागिर खानेहरू पुरस्कार र प्रोत्साहनको बाहबाहीमा भएपनि कर्म गर्ने तर किनारा पर्ने कर्मनिष्ठका मनभित्र एउटा स्वबोध र आत्मसम्मान जाग्दो रैछ – हो मैले केही गरे, केही गर्न नसके पनि बिगार चाहिँ गरिनँ । यो बोध नै जीवनबोध हो र राष्ट्रसेवक कर्मचारीले यहीँ बोधमा कर्मशील हुनुपर्छ । सत्यनिष्ठा र कर्म उसको आचरण बन्नुपर्छ । व्यक्तिले सबैलाई ढाँटे पनि अन्ततः आफूलाई ढाट्न सक्दैन । 

सत्कर्म, समर्पण र सेवामा लाग्नेका निष्ठा अपहरण भएपनि कर्ममा नै रमाउँछन्, सत्य गर्छन्, सत्य नै बोल्छन् । 

वार्षिक विकास कार्यक्रमलाई वस्तुनिष्ठ बनाउन संघर्ष गर्दा पनि राजीनामा दिनुपर्‍यो । राजीनामा संघर्ष थिएन, असन्तुष्टि (र पलायन पनि ?) । प्रणाली सुधारका लागि सन्देश दिने निर्णय तर गल्ती गरिरहनेहरू गल्तीलाई स्वीकार्दैनन्, बरु गल्तीलाई ढाकछोप गर्ने अरु गल्तीहरू दोहोर्‍याउँछन् । आफूलाई भने आफूले नेतृत्व दिएको गरीबी र वातावरण कार्यक्रमको सफलता, जलवायू वित्त बजेटको अरु मुलुकले गरेको अनुशरण, हरित अर्थतन्त्रको खाकाको अवलम्बनमा मन साबुनका फिँजझै हुरुरुरुर्र हौसिएर जान्छ । कति खुशी लाग्छ आफूले शुरू गरेका आयोजना विश्व विकास सम्मेलनमा असल अभ्यासका रुपमा प्रस्तुत हुँदा र चिन्ता लाग्छ आफ्ना समयमा शुरू भएका सुधारका कार्यले निरन्तरता पाइनै रहन्छन् ? 

खुबै खटियो गणतन्त्रको कार्यान्वयनको पहिलो काममा, जहाँ जनप्रतिनिधि संस्था निर्माण र जीवन दिनुपर्थ्यो । अरु साथीहरूले पनि अग्रपंक्तिमा रहेर नै सहयोग गरे । ऐतिहासिक भूमिका निभाउन पाउँदाको खुशी नै अर्को । साँझ, बिहान, दिनरात पनि खटियो । यो खटाई मान, सम्मान, पुरस्कार र प्रोत्साहनका लागि होइन, केवल आत्मसन्तुष्टि र कर्तव्यका लागि । मितव्ययी बन्ने आग्रहमा उच्च इमान्दारिता प्रस्तुत गर्नुपर्ने कर्तव्य भएकाहरूबाट नै कमजोरी हुन्छ भने त्यस्ता निर्णयको भद्र अवज्ञा गर्नुको विकल्प के रह्यो र ? नीति र नैतिकतामा बाँच्नेहरू यसैको शक्तिमा बोल्छन् । निष्ठालाई अपहरण गरिएपनि निष्ठामा बाँच्ने साहस निजामती सेवाको मूल्य र आर्जित स्वायत्तताले दिन्छ । 

नियतिको खेल पनि गजबको रैछ । मनले जहाँ सरुवा नहोस् भन्यो, त्यही मात्र हुने ! जीवनमा १०–११ सरुवामा नभैदिएहुन्थ्यो भने त्यहीँ मात्र भएको छ । प्रणाली नबस्दा यस्तो भएको हो कि ? वा वेप्रणालीले नै प्रणालीको रुप लिँदा यसो भएको ? तर अर्को मनले भन्छ, होइन कोहीँ त मजस्तो पनि त भैदिनुपर्‍यो, होइन भने उनीहरूको के महत्त्व । मनमनै सोच्छु –‘दुःखीको घरमा मात्र तेरो बास हुने भए, हे ईश्वर दया राखी मलाई अझ दुःख दे’ । 

सरुवा, वृत्ति व्यवस्थापन, अवसर वितरण, पुरस्कार, प्रोत्साहन सबै उत्कृष्टताका लागि हो । गुणतन्त्रका आधारमा हुने हो । गलत व्यक्ति प्रोत्साहित वा पुरस्कृत हुँदा प्रणाली पेनलाइज्ड भएको महसूस गर्छ । गलत व्यक्तिलाई जिम्मेवारी दिँदा जनताले नै दुःख पाउने हुन् । सुधारका अभियानले निरन्तरता नपाउने हो । निर्णय गर्ने र निर्णित हुने दुवै दंग हुनुको अर्थ रहँदैन । मुख्य कुरा प्रणाली निर्माणमा योगदान नपुग्दा दुःख पाउने राष्ट्र र जनताले हो । 

वृत्ति खुट्किला चढ्दै जाँदा थुप्रै सपनाका हत्या भयो तर निष्ठा र समर्पण डगेन, पटक–पटक निष्ठा हार्‍यो र असत्यले जित्यो । निष्ठा किनारामा पर्‍यो र हल्लाले जित्यो । तै पनि कर्म र निष्ठाबाहेक राष्ट्र सेवकको न अरु पहिचान हुँदो रैछ न नाम नै । त्यसैले मनभरि उर्लिएका सपना साबुनका फिँजझै स्याप्प हुँदा केही लाग्दैन तर अधुरा कामहरू पूरा नहोलान् कि भन्ने चिन्ताले सताउँछ तर पनि विकल्प छैन कर्म गर्नुको । गीतामा भगवान् कृष्णले अर्जुनलाई भन्नुभएको छ –

‘कर्मण्येबाधिकारास्ते मा फलेसु कदाचन 
मा कर्मफलहेतुर्भुमा ते सङ्सोक्स्वकर्मणी’ ।

भदौ २१, २०७६ मा प्रकाशित

गोपीनाथ मैनाली

मैनाली नेपाल सरकारका सचिव हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस